• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   भक्तपुरस्थित महेन्द्र शान्ति माविको भवन उद्घाटन ★   तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन ★   चितवन राष्ट्रिय निकुञ्जमा आठ छावा थपिँदै ★   मेटमणिलाई कारबाही गर्न झलनाथको माग,भारतीय नागरिक बोलिरहेको कि नेपाली ? ★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आज सुरु हुँदै ★   प्रधानमन्त्री ओली आउने भएपछि इन्द्रजात्रा छल्न बालेन भारतमा ! ★   मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा ★   मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु ★   आज इन्द्रजात्रा, कसरी मनाइन्छ यो पर्व ? ★   मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल

कांग्रेसलाई बिग्रन दिँदैनौँ: महामन्त्री थापा



नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सोमबार नेपाली कांग्रेस, चितवनले १११ औँ बिपी जयन्तीको अवसरमा भरतपुरमा आयोजना गरेको विशेष सम्मान कार्यक्रममा मन्तव्य राख्दै। तस्बिर : सनद अधिकारी/रासस

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बिग्रन नदिने बताउनुभएको छ ।

नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको ‘जननायक बिपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उहाँले कांग्रेस सबैको घर भएको र यसलाई बिग्रन नदिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “घरमा केही फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ । बिग्रन लागेको घर हामी समाल्छौँ ।”

महामन्त्री थापाले पछिल्ला समयमा कांग्रेसले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरेको र अब विचारको आधारमा अगाडि बढ्ने विश्वास दिलाउनुभयो । निर्वाचन जित्नु र सरकार बनाउनुलाई प्राथमिकतामा नराखी कांग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्‍याउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

“अबका निर्वाचनमा कांग्रेसलाई एक्लै लड्न सक्ने गरी सङ्गठनलाई सुदृढ बनाएर अघि बढ्नुपर्ने छ । गठबन्धनको राजनीति राम्रो नभएको बुझेर नै केन्द्रीय समितिले निर्णय लिएको छ । त्यसैले एकपटक सबैले आफूलाई सच्याउने सङ्कल्प लिएर अघि बढौँ”, महामन्त्री थापाको भनाइ थियो ।

उहाँले केन्द्रीय समितिको बैठकबाट कांग्रेस शुद्धिकरणको बाटोमा अघि बढेको समेत बताउनुभयो । अब विगतमा जस्तो पार्टी माथि बिग्रदा तल बिग्रियो भन्ने छुट कसैलाई नभएको उल्लेख गर्नुहुँदै महामन्त्री थापाले हरेक समस्या समाधानको केन्द्र बन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्गठनलाई एकताबद्ध बनाएर पार्टी आफ्ना विचार प्रष्ट राखेर जनतामाझ जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारमा रहेका साथीहरूले पार्टीसँगको परामर्शमा मन्त्रालयबाट काम गर्ने र बाहिर रहेका साथीले खबरदारी जारी राख्नुपर्ने छ । यसले राम्रो काम गर्नका लागि सधैँ उत्प्रेरित गर्छ, पार्टीको साख बढ्छ र यसो गरेमा मात्र बिपीको सच्चा कार्यकर्ता बन्न सकिन्छ ।” मन्त्री पौडेलले पार्टी महामन्त्री थापा स्वास्थ्यमन्त्री हुँदा अगाडि सारेका योजनालाई कार्यान्वयनमा लैजान आफूले भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू उमा रेग्मी, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्वपार्टी सभापतिद्वय विकास कोइराला, जीतनारायण श्रेष्ठले पार्टीलाई बलियो बनाउन सबैले आफ्नो ठाउँबाट इमान्दारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।

पार्टीका चितवन सभापति राजेश्वर खनालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विधामा एक सय ७४ जना नेताहरुलाई सम्मान गरिएको थियो । उहाँहरूलाई मरणोप्रान्त, विशिष्ट र विशेष सम्मान प्रदान गरिएको हो ।