२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ दरबार हाइस्कुल

सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ  दरबार हाइस्कुल
अ अ+ अ-

काठमाडौँ । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ । विसं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति भएकोे सो स्कूल भवनलाई आकर्षक ढङ्गले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ ।

क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल, प्रखर कूटनीतिज्ञ र प्रशासक सरदार यदुनाथ खनाल, सरदार भीमबहादुर पाँडे, पिनाकिप्रसाद आचार्यलगायत नेपालको पहिलो प्रतिभावान् शिक्षित पुस्ताको अध्ययनको थलो थियो दरबार हाइस्कूल । यसबाट निस्केका प्रतिभाहरुले नै उतिबेला नेपालको आर्थिक, राजनीतिक र सामाजिक खाका कोर्नमा अग्रणी भूमिका निर्वाह गरेका हुन् । त्यतिबेला नेपालमा यसको विकल्प थिएन  तर राणाशासनको अन्तिमतिर जुद्धोदय र पद्मोदय जस्ता विद्यालय खुल्न थाले । सात सालको परिवर्तनपछि नेपालभर नै शिक्षालयहरु विस्तार भए पनि लामो अवधिसम्म दरबार हाइस्कूलको आकर्षण कायमै थियो । विद्यालय व्यवस्थापनमा राज्यको ध्यान जान छाडेपछि यसको अवस्था कमजोर बन्दै गयो । व्यवस्थापन फितलो भयो, भवन जीर्ण भयो र यसप्रतिको आकर्षण घट्दै गयो । पाँच वर्षअघिको गोरखा भूकम्पले यसलाई खण्डहरमा परिणत गरिदियो । अहिले प्रतापमल्लकालीन रानीपोखरी र जङ्गबहादुरकालीन दरबार हाइस्कूल दुवैको मुहार फेरिएको छ । अहिले ती सम्पदा झकिझकाउ देखिन्छन् । 

नेपाल सरकारले काठमाडौँ उपत्यकाका महत्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको सो ऐतिहासिक स्कूलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् । नयाँ भवनमा प्रयोशालासमेतको सुविधा रहेको  र अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको छ । अहिले भानु माविका कक्षा ६, ७ र ८ मा विद्यार्थी सङ्ख्या निर्धारित सङ्ख्यामा पुगेको छ । काठमाडौँ महानगरपालिका वडा नं २७ का वडा सदस्य परिवेशमान बज्राचार्यका अनुसार अब नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि उक्त कक्षामा स्थान नै छैन । विद्यालयमा प्रतिकक्षा ३६ जना बस्न मिल्ने गरी पूर्वाधार तयार गरिएको छ ।

भवनको निर्माणसँगै भानु माविमा २८७ र संस्कृत माविमा ३०० गरी विद्यार्थी सङ्ख्या ५८७ पुगेको छ  । विद्यालय नवीनतम प्रविधिमैत्री भएका छन् । विद्यालय व्यवस्थापन समितिले शिक्षकलाई तालीम दिने कामसँगै विद्यालयको प्रचारप्रसारसमेत गरिरहेको छ । विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण अहिले विद्यार्थीले घरबाटै इन्टरनेटको सहयोगमा अनलाइन कक्षा लिइरहेका छन् । पहिले दुई विद्यालयमा गरी कूल ३०० विद्यार्थी थिए ।

“अहिले हरेक दिन नयाँ भर्नाका लागि अभिभावकसहित विद्यार्थीहरू आउने गरेका छन् । यसरी नै आकर्षण बढ्ने हो भने आगामी शैक्षिक सत्रसम्ममा सबै कक्षाहरू भरिने छन्”, सदस्य बज्राचार्यले भन्नुभयो । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिल जस्तै देखिन्छ । नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले छ जसमा ६०  कक्षाकोठा छन् ।

भवनको डिजाइन ‘चाइना एभिएशन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसी निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सम्पन्न गरिएको बताउनुुहुन्छ । पुनःनिर्मित विद्यालय भवनको शिलान्यास २०७५ साल साउन १८ गते गरिएको थियो । चीन सरकारको पूर्ण सहयोगमा निर्मित उक्त भवनको निर्माण चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले गरेको हो ।  

शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । लामो समयसम्म कामपा र पुरातत्व विभागबीच नक्शा पासका विषयमा केही मतान्तर भएकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम शुरु भएको थियोे ।

भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, दुई पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रुपले निर्माण गरिएका छन् । कुल रु ८५ करोड ५९ लाखको लागतमा निर्माण  गरिएको दरबार हाइस्कूलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ । 

गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवनको उद्घाटन गरेपछि दरबार हाइस्कूल पुनः सञ्चालनमा आए पनि कोरोना महामारीका कारण हालसम्म विद्यालय बन्द रहेको छ । 

भानु माविका प्रधानाध्यापक अखिलेशप्रसाद आजाद आगामी दिनमा आधुनिक र सुविधासम्पन्न भौतिक संरचनाका साथै प्रयोगशालासमेत रहेकाले आशानुरुप विद्यार्थी आउने बताउनुहुन्छ  । उहाँले आगामी शैक्षिक सत्रदेखि बालविकास कक्षा सञ्चालनका लागि समेत तयारी पूरा गरिएकोे जानकारी दिनुभयो ।  

नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कूल  भूकम्पका कारण भत्किएपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो । अहिले उक्त टहराबाट नयाँ भवनमा सामान सार्ने काम भइरहेको छ । 
तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलेकाले यसको नाम दरबार हाइस्कुल राखिएको थियो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ गते नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाई स्कूल’ स्थापना गरेका थिए । राजामहाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको सो हाइस्कूूलमा अङ्ग्रेजी पढाउन बेलायतबाटै शिक्षक ल्याइएको इतिहासमा उल्लेख छ ।

विसं १९३३ मा रणोद्दीपसिंह प्रधानमन्त्री भएपछि राणाका सेवामा खटिएका कर्मचारीका छोराछोरीले पनि त्यहाँ पढ्न पाउने व्यवस्था भएको थियो । विसं १९४२ मा रणोद्दीपको हत्यापछि वीरशम्शेरले विद्यालयलाई जमलस्थित सेतो दरबारको ढोका नजीक सारेका थिए । विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि दरबार हाइस्कूलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको हो ।