१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा वैचारिक निष्ठा, आदर्श एवं नैतिक आचरणमा क्षयीकरण आयो: पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिमा अहिले वैचारिक निष्ठा, आदर्श एवं नैतिक आचरणमा क्षयीकरण आएको बताउनुभएको छ ।

बिहीबार तुलसीलाल अमात्यको २७ औँ स्मृति दिवसको अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपालका राष्ट्रिय लोकतान्त्रिक आन्दोलन र समृद्धिको बाटो विषयक विचार गोष्ठी र कहिल्यै नझुक्ने योद्धा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले तुलसीलाल जस्ता नेताहरूबाट निष्ठा, आदर्श, त्याग र नैतिक आचरण सिक्नु पर्ने बताउनुभयो ।

भण्डारीले नेपालीले प्राप्त गरेको अहिलेको व्यवस्था कसैको निगाहबाट प्राप्त भएको नभई तुलसीलाल अमात्य लगायतका नेताहरूको त्याग र बलिदानको उपलब्धि भएको बताउनुभयो । ‘आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता, नागरिक अधिकार र समावेशिता कसैको निगाहबाट सहजरुपमा प्राप्त भएको होइन, यी उपलब्धिहरू तुलसीलाल अमात्य लगायत हजारौँ नेता कार्यकर्ताको अटुट संघर्ष, त्याग र बलिदानको लामो श्रृङ्खलाबद्ध आन्दोलन पछि प्राप्त भएको हुन् भन्ने यथार्थतालाई वर्तमान पुस्ताले कदापि बिर्सनु हुँदैन’, भण्डारीले भन्नुभयो ।

तुलसीलाल अमात्यले कम्युनिष्ट पार्टीलाई विसर्जन हुनबाट जोगाउनुभएको भण्डारीको भनाइ छ । केशरजङ रायमाझीले कम्युनिष्ट पार्टी समाप्त गर्न लाग्दा तुलसीलालले जोगाउनुभएको भण्डारीले बताउनुभयो ।

नेपालको प्रगतिशील किसान आन्दोलनमा तुलसीलालको महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । पुष्पलालले मधेसमा किसानहरूका कयौँ जाली तमसुक च्यातेर किसान मुक्तिको लागि काम गर्नुभएको भण्डारी स्मरण गराउनुभयो ।


कार्यक्रममा लोकतन्त्रका योद्धा तथा पत्रकार गोपाल थपलियाको जीवनमा आधारित ज्योतिलाल बनद्वारा लिखित पुस्तक ‘कहिल्यै नझुक्ने योद्धा’ को भण्डारीले लोकार्पण गर्नुभयो । पत्रकारिताको माध्यमबाट निरंकुशताको अन्त्य र लोकतन्त्रको स्थापनामा गोपाल थपलियाको महत्पूर्ण योगदान रहेको बताउँदै भण्डारीले सो पुस्तकले थपलियाका योगदानलाई उजागर गर्ने बताउनुभयो ।

सो पुस्तकबाट नयाँ पुस्ताका पुस्तका सञ्चारकर्मीलाई आफ्नो कार्य क्षेत्रमा ऊर्जाका साथ निरन्तर लाग्न प्रेरणा दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसले इतिहासलाई स्मरण गर्न सहयोग पुग्ने भण्डारीको भनाइ छ ।