१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एआइजी श्यामलाल ज्ञवालीको गल्ती कि राजनीतिक पूर्वाग्रह ?



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी श्यामलाल ज्ञवालीमाथि नै प्रहरीले छानबिन थालेको छ ।

एआइजी ज्ञवालीविरुद्ध गृह मन्त्रालयमा उजुरीपछि प्रहरी प्रधान कार्यालयले अर्का एआईजी टेकप्रसाद राईको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेर छानबिन थालेको हो ।

ज्ञवालीलाई तत्कालीन गृहमन्त्री रवि लामिछानेले सीआईबीको प्रमुख बनाएर लगेका थिए । त्यसबेला सीआईबी प्रमुख रहेकी किरण बज्राचार्यलाई उनले हटाएका थिए । लामिछानेले राजनीतिक प्रतिसोध साँधेको आरोप खेप्नु परेको थियो ।

नयाँ सरकार गठन भएपछि अहिले रविले सीआईबी प्रमुख बनाएका ज्ञवालीमाथि छानबिन थालिएको हो । उनलाई कारबाही नै गर्ने तयारी गरिएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एआइजी ज्ञवालीविरूद्ध विभिन्न उजुरी परेकाले छानबिन गर्न लागेको हो । कतिपय मुद्दा पहिल्यै छानबिन भइसकेको विषयमा पनि उजुरी परेको स्रोतले जनाएको छ ।

६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय, उमेर विवाद, नक्कली सर्टिफिकेट, आफ्ना छोराछोरीलाई विदेशमा राखेको लगायत विषयहरू छन् ।

ज्ञवालीको नेतृत्वमा सुन प्रकरणको दोस्रो चरणको अनुसन्धान सकेर प्रहरीले मुद्दा बुझाइसकेको छ । तर उनले यो अनुसन्धानमा पनि राजनीतिक आस्था देखाएको आरोप लागेको छ ।

ज्ञवाली उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकासमा जाँदैछन् । त्यसअघि नै छानबिन गरेर उनलाई कारबाही गर्ने तयारी छ ।

तर सरकार फेरिएपिच्छे प्रहरी संगठनभित्र हस्तक्षेप गरेर राजनीतिक पूर्वाग्रह साँधेको आरोप पनि अहिले सरकार र प्रहरी नेतृत्वले खेप्नु परेको छ ।