• २१ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 6 2024
  •   Unicode
Logo
Latest
★   महिलाको जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु प्रमुख कार्यभारः अध्यक्ष दाहाल ★   चाडपर्वले विविधताभित्रको एकतालाई बलियो बनाउँदै आएको छः सभामुख घिमिरे ★   तीज पर्व सशक्तीकरणको प्रतीकः अध्यक्ष दाहाल ★   पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध, यात्रुलाई सास्ती ★   पहिरोले विभिन्न स्थानका सडक अवरुद्ध ★   सडकको पहुँचसँगै गाउँघरको निगुरो सहरका भान्सामा ★   आशा जगाउँदैछ कृषि औजार कारखाना ★   पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र ★   बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना ★   बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता

गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै



काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।

‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

व्यास जयन्ती

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोज्नुभएको छ–

‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।

अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवं अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घसंस्थाले पनि गुरुपूर्णिमा पर्व मनाउने जनाइएको छ ।