२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

चिसो बढेपछि मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर

चिसो बढेपछि मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर
अ अ+ अ-

टीकापुर । टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छ । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उहाँ एकाबिहानै अस्पताल पुग्नुभयो । टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए । “बच्चालाई एक दिन अस्पताल भर्ना गरेर राखेँ, निकै कमजोर भएको छ”, सन्ध्याले भन्नुभयो, “चिसो बढ्यो, घाम लागेन, बाक्ला लुगा छैनन्, बच्चालाई चिसो गढेछ ।”

एकसरो लुगा लगाएर बच्चा बोकेर अस्पतालबाट फर्किरहेकी सन्ध्या आफैँ पनि जाडोले काँपिरहनुभएको थियो । “गरिब छु, श्रीमान् पनि वैशाखदेखि घरमै बसेका छन् । रोजगार नभएर आम्दानी छैन”, सन्ध्याले भन्नुभयो, “सानो बच्चा छ । काम पनि केही पाउँदैन । पेट पाल्नै मुस्किल छ, लुगाकपडा लाउने त सपनामात्र भएको छ ।” टीकापुरकै विशालनगर शिविरका रुपेश परियार ज्यालादारीको काम गर्नुहुन्छ । शीतलहर शुरु भएपछि उहाँको परिवारलाई समेत जाडो छेक्न समस्या भएको छ । “म दिनभरि काम गर्छु, घरमा तीन बच्चा र श्रीमती छन् । दिनभरि कमाएर लगेपछि उनीहरुले खान पाउँछन्”, रुपेशले भन्नुभयो, “यसपटक एउटा सिरक किनौँला भनेको किन्न सकिएन । चिसो भएर रातभरि सुत्न सकिन्न, दिनभरि काम गर्नुपर्छ । मलाई त रिङ्गटा लाग्न थालेको छ ।” 

रुपेशको परिवार घरमा ओढ्ने, ओछ्याउने टन्न कपडा नभएर भुइँमा पराल बिछ्याएर सुत्ने गरेको छ । “आगो बालेर तापौँ भने पनि दाउरा पाइँदैन”, रुपेशकी श्रीमती मनसराले भन्नुभयो, “सबैजना सँगै सुत्छौँ अलि तातो हुन्छ, एक सातायता जाडो निकै बढेको छ ।” मुक्त कमैया बस्तीका शिवनगरमा पनि चिसोसँगै शीतलहर शुरु भएपछि धेरैको दैनिकी कष्टकर भएको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिकलाई बढी कठिन भएको छ । शिवनगरका रामेश्वर चौधरी चिसो बढेपछि एक सातादेखि काममा जान सक्नुभएको छैन । डकर्मी काम गर्ने रामेश्वरको घर उहाँले काम नगरे चल्दैन ।

“चिसोमा काम गर्न कठिन हुन्छ, केही दिन काममा नजाँदा घरमा भएको सबै अन्न सकियो, ओहो हामी गरिबलाई जाडोमा पनि समस्या, गर्मीमा पनि समस्या । बिरामी भए पनि आफ्नो र परिवारको पेट पाल्न काम गर्नैपर्ने”, रामेश्वरले भन्नुभयो, “चिसो बढेपछि शिविरका अधिकांशमा रुघाखोकी, ज्वरोजस्ता समस्या शुरु भएका छन् । एकातिर कोरोना भाइरस सङ्क्रमणको डर पनि बढेको छ ।” बस्तीका बडघर रामफल चौधरी शिविरमा बस्तीमा बस्ने सबै गरिब भएकाले समस्या भएको बताउनुभयो । “हरेक वर्षको जाडो छेक्न कठिन हुन्छ, सरकारले विपन्नको जीविकोपार्जनका लागि केही उद्योग, कलकारखाना खोलिदिएको भए सबैले रोजगार पाउँथे”, बडघर चौधरी भन्नुहुन्छ, “आयआर्जन भए पो आवश्यकता पूरा हुन्छन् । खेतीपाती गरौँ भने जमिन छैन, अनि मौसमले पनि सधैँ पीडा दिन्छ ।”

विजयनगर बस्तीकी गीतारानी चौधरी शनिबार बिहानै एकसरो म्याक्सी लगाएकी, सलभित्र काखमा बच्चा च्यापरे दौडदै हुनुहुन्थ्यो । उहाँ घर निर्माण हुने स्थानमा इँटा, बालुवा बोक्ने काम गर्नुहुनेरहेछ । “काम गर्नुपर्छ, बच्चा हेर्ने मानिस छैन, बोकेरै काममा जान्छु”, गीतारानीले भन्नुभयो, “घरमा अन्न भएको भए चिसोमा आराम गर्ने थिए । शरीरमा लुगा छैन, दिनभरि काम गर्दा त जाडो भएको महसुस हुन्न तर राति चिसोले मुटु काप्छ ।”

यसरी शिविर तथा बस्तीमा बसेका धेरै नागरिक हरेक रात मुटु कपाएरै कटाउँछन् । उनीहरु सरकारले सहजरूपमा रोजगारीका अवसर सिर्जना गरिदिनुपर्ने माग गर्छन् । कोरोना भाइरस सङ्क्रमणपछि शिविरका धेरै नागरिकको ज्यालादारी गर्ने काम पनि छुटेको छ । भारतमा काम गर्नेहरु पनि घर फर्केका छन् । टीकापुर नगरपालिकाले गत वर्ष यी बस्तीमा दाउरा वितरण गरेको थियो । यस वर्ष पनि पुस महिना शुरु भएसँगै चिसो निकै बढेको छ । कैलालीको तापक्रम छ डिग्री सेल्सियससम्म झरेको छ । “यसपटक पनि चिसो बढेको छ । हामीले बस्तीमा बस्ने नागरिकलाई जाडो छेक्न कठिन भएकोबारे छलफल गरेका छौँ”, टीकापुर–१ का वडाध्यक्ष गङ्गाराम आचार्य भन्नुहुन्छ, “नगरपालिकामा छलफल गरेर उहाँहरुलाई राहत दिने काम गर्छौँ ।”