• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा



काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरुले आज पनि मन्त्रालयमा धर्ना दिएका छन् ।

बिहीवार पनि अधिकृत स्तरका कर्मचारीहरुले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक बिरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ ।

कृषि मन्त्रालयमा समायोजन भएका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि अधिकृत माधव पौडेलले बताउनु भयो । उहाँले ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको बताउनु भयो । उहाँले आन्दोलन असार १४ गतेदेखि शुरु गरेको भएपनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको बताउनु भयो । लोकसेवा नियमित रुपमा नखुलेको र आफूहरुको वृत्ति विकास पनि रोकिएकाले आन्दोलन गर्नुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो कर्मचारीको वृत्ति विकासको हिसावले उपसचिवहरु खासगरी राजपत्राङ्कित द्वितीय श्रेणीका प्राविधिक उपसचिवहरु खालि भइसकेपछि राजीनामा वा अवकाश भइसकेपछि राजपत्राङ्कित तृतीय श्रेणीकाले स्वत: बढुवा हुने अवसर प्राप्त गर्नुपर्ने थियो, त्यो अवसर हामीले पाएनौँ । लोकसेवा नियमित रुपमा खुलेन र यसका लागि हाम्रो वृत्ति विकासलाई निरन्तरताका लागि दबाबका लागि आन्दोलनमा छाँै । हामीले २०७५ सालको समायोजनपछि लगत्तैदेखि विभिन्न रुपमा आन्दोलनमा छौँ । त्यसपछि हामी अदालत पनि गयौँ । अदालतबाट परमादेश पनि आयो । बढुवा प्रणाली निरन्तर गर्नुपर्छ भनेर संख्या तोकेर तत्काल खोल भनेर । तर कार्यान्वयन भएको अवस्था छैन । परमादेश कार्यान्वयन नभएपछि मानहानीको मुद्दामा गएका छौँ । त्यो मुद्दाको फैसलाको सयम केही लाग्ला । तर दबाब सँगै लगेका हौँ ।’

उहाँले अदालतको परमादेश कार्यान्ववयन नभएपछि आफूहरु मानहानीको मुद्दामा अदालत गएको पनि बताउनु भयो ।