• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए



काठमाडौं । मन्त्रीहरुको राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका शीर्ष नेताहरु राजीनामा नदिई फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर उनीहरू राजीनामा नदिई फर्किएका हुन् ।

प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिन्जेलसम्म पर्खिन आग्रह गरेका रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए । ‘राजीनामा बुझाउन गएका थियौं । सम्मानीय प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधकिारको प्रयोग गर्छु, संसदलाई फेस गर्छु भन्नुभयो । हामीले पनि सम्मान गर्दै चाँडै गर्न भनेका छौं,’ उनले भने ।

प्रधानमन्त्रीको आग्रह ठिकै लागेर आफूहरुले राजीनामा नदिई फर्किएको र चाँडो संसदको प्रक्रियामा जान सुझाव दिएको उनले बताए ।

नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । दाहाल नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि राजिनामा दिने भनेका थिए ।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

आफूहरु नयाँ गठबन्धनमा नजाने भनिसकेकाले प्रधानमन्त्रीको आग्रहलाई सम्मान गरेको परियारले बताए ।