• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   अस्पतालबाट डिस्चार्ज भए शत्रुघ्न सिन्हा ★   हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ: सांसदहरु ★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक

प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद



काठमाडौँ । नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण सोच भएको बताउनुभएको छ ।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले महिना महिना दिनमा हुने उथलपुथलले राजनीति र व्यवस्थालाई फाइदा नपुग्ने बताउनुभएको हो । उहाँले एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाएर अर्को व्यक्ति प्रधानमन्त्री बन्ने कुराका लागि मात्रै दुई दल मिल्नु निकृष्ट र संकिर्ण सोच भएको बताउनु भयो । संविधान संशोधन गर्न र सत्तालाई स्थिर ढंगले चलाउने उद्देश्यसहित दुई दल मिल्नु राम्रो हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘महिना महिना दिनमा हुने उथलपुथलले राजनीतिलाई, राजनीतिज्ञहरुलाई व्यवस्थालाई केही कुरालाई पनि फाइदा हुँदैन । म चाहीँ रोमाञ्चित हुन्न । दुई वटा दल मिल्ने कुरा फेरि कसैलाई प्रधानमन्त्रीबाट हटाएर अर्कोलाई स्थापित गर्ने । मन्त्रीहरु परिवर्तन गर्ने कुरामा मात्रै आधारित भयो भने त्यो झन निकृष्ट र संर्किण सोँचबाट निर्देशित प्रयत्न हो भन्ने लाग्छ मलाई । संविधान बदल्नु छ, कानूनहरु बदल्नु छ, सत्तालाई स्थिर ढंगले चलाउनु छ, बाँकी रहेको ३ वर्षलाई स्थिर शासन दिने ध्येयले ठुलो उद्देश्यले एक ठाउँमा उभिने कुरा गरेभने, देशको अर्थतन्त्र कमजोर छ, राजनीति अस्थिरता छ । त्यसकारण देशको अर्थतन्त्रलाई पनि सुदृढ बनाउँछौ । देशको राजनीतिलाई स्थिर बाटो दिन्छौँ भन्ने कोणबाट समझदारी हुनसक्यो भने त्यसलाई नराम्रो मान्न मिल्दैन । तर केवल सत्ताको अदलबदलमा मात्रै आधारित भयो भने त्यो संर्किण सोँचले राजनीतिलाई पनि ठिक बाटोमा लादैन ।’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले संविधान संशोधन लगायतको विषयमा सझादारी बन्यो भने काँग्रेस एमालेको सहकार्य हुनसक्ने बताउनु भयो । उहाँले केवल सत्तामा मात्रै आधारित नभइ मुद्दामा आधारित भएर अगाडी बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी मुद्दामा आधारित हुनुपर्छ । सरकार परिवर्तन हुनुमात्रै महत्वपूर्ण होइन । यो सरकार दिगो हुनुपर्छ र दीर्घकालिन रुपमा काम गर्ने वातावरण हुनुपर्छ । अब सत्ताको लागि सत्ता होइन कि त्यसको दिगोपन, के–के मुद्दामा सहमती हुने ? निर्वाचन प्रणालीले स्थायित्वमा समस्या आयो भन्ने कुरा छ । यि सबै कुरामा समझदारी बन्यो भने अगाडी बढ्नसक्छ । कुराकानी हुनु अस्वभाविक होइन । तर हामी सत्तामा जानका लागि मात्रै केन्द्रित भएर गर्दैनौँ ।’

नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले एमाले वर्तमान सरकारलाई मजबुत बनाएर लैजाने पक्षमा रहेको बताउनु भयो । उहाँले एमाले सरकार अदल बदलको पक्षमा नरहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘एमाले यो सरकारलाई मजबुद बनाएर लैजाने पक्षमा छ । सरकार अदल बदल गरेर त्यसको नेतृत्व परिवर्तन गर्ने खेलमा एमाले छैन । सरकारलाई मजबुत बनाएर लैजानुपर्छ ।’

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले नेताहरुबिचको भेटवार्ताले सत्ता समिकरणमा फेरबदल नआउने बताउनु भयो । उहाँले आज नै वर्तमान सत्ता समिकरणलाई नै मजबुत बनाएर लैजाने विषयमा प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भद्र सहमती भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीको पहलमा सरकारलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने, समिकरणलाई बचाउने, सहकार्यलाई निरन्तरता दिने र ०८४ सम्म नै समिकरण अगाडी बढाउनुपर्छ । सरकार सञ्चालनमा चाहीँ यही समिकरणलाई मजबुद बनाएर जाऔँ भनेर बालुवाटारमा भद्र सहमती पनि भएको छ दुई नेताहरुका बीचमा । त्यसकारण तरंगित भइराख्नुपर्ने आवश्यकता देखिदैन । सत्ता समिकरणमा फेरबदल आउने परिस्थिति देखिँदैन ।’

उहाँले प्रधानमन्त्री दाहाल वर्तमान सत्ता समिकरणलाई नै ०८४ सालसम्म लानका लागि प्रयत्नरत रहेको बताउनु भयो ।