२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपेली मुलुकहरुमा खोप अभियान शुरु



अ+ अ-

पेरिस । युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा आइतबारदेखि एकसाथ कोभिड–१९ विरुद्धको खोप अभियान शुरु गरेको छ । 

युरोपका केही मुलुकमा कोरोनाभाइरसको नयाँ स्वरुप देखिएकै अवस्थामा अति जोखिममा रहेका मानिसलाई पहिलो प्राथमिकता दिई खोप लगाउने तयारी गरिएको छ । 

फाइजर–बायोएनटेकले विकास गरेको खोप कोभिड–१९ बाट सर्वाधिक प्रभाव परेका इटाली, स्पेन र फ्रान्समा शनिबार पहिलो डोजका लागि खोप आइपुगेको छ । पहिलो चरणमा यो खोप वृद्धवृद्धा र उनीहरुको हेरचाहमा खटिने व्यक्तिहरुलाई दिइने जनाइएको छ ।

कोरोनाभाइरसको खोपका कारण सन् २०२१ मा नयाँ आशाको किरण देखिएको छ ।  गत वर्ष चीनमा पहिलो पटक देखिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर हालसम्म १७ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । 

यसैबीच, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम घेब्रेससले कोभिड–१९ महामारीबाट नयाँ पाठ सिक्नुपर्नेमा जोड दिनु भएको छ । महामारी पूर्वतयारी सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै टेड्रोसले मानिस र पशुपक्षीबीचको नाजूक सम्बन्धका बारेमा मानव समुदायले बढी सचेतता अपनाउनुपर्ने तथा जलवायु परिवर्तनका खतराका कारण मानवका लागि पृथ्वी बस्नयोग्य बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । 

जर्मनीमा १०१ वर्षीया वृद्धालाई शनिबार कोभिड–१९ विरुद्धको खोप दिइएको छ । जर्मनीका स्वास्थ्य मन्त्रीले त्यस अवसरमा खोपलाई आशाको दिनको रुपमा हेरिएको बताउनुभयो ।

हंगेरी र स्लोभाकियामा पनि खोप दिन थालिएको छ । 

हाल रुस, चीन, बेलायत, क्यानाडा, संयुक्तराज्य अमेरिका, स्वीट्जरल्यान्ड, सर्बिया, सिंगापुर र साउदी अरेबियामा पनि खोप अभिायन शुरु भइसकेका छन् । 

इटालीका विदेश मन्त्री लुइगी डि मायोले आमजनतालाई कोभिड–१९ को खोप लिन आह्वान गर्नु भएको छ । तर जनमत सर्वेक्षणमा करिब ५७ प्रतिशत जनताले मात्र खोप लिन चाहेको देखाइएको छ । वैज्ञानिकहरुले ७५ देखि ८० प्रतिशतले खोप लगाए मात्र “हर्ड इम्युनिटी” विकास हुने अनुमान गरेका छन् ।

कोरोनाभाइरस फैलिएको भन्दै इजरायलले आइतबारदेखि लागू हुनेगरी दुई साताको लकडाउन गरेको छ भने फ्रान्सका स्वास्थ्य मन्त्रीले पनि क्रिसमस पछि कोरोना फैलिने आशंकामा लकडाउन गर्ने योजना बनाइएको जानकारी दिनु भएको छ । 

बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ स्वरुप र युरोपदेखि जापानसम्म यो भाइरस पुगेको भन्दै तनाबको वातावरण सिर्जना भएको छ । 

कोरोनाभाइरसको नयाँ संस्करण म्याड्रिडमा शनिबार चार जनामा भेटिएको छ, तर उनीहरु गम्भीर बिरामी नभएको स्पेनी स्वास्थ्य अधिकारी एन्टोनियो जापाटेरोले बताउनुभयो ।