• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

युरोपेली मुलुकहरुमा खोप अभियान शुरु



पेरिस । युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा आइतबारदेखि एकसाथ कोभिड–१९ विरुद्धको खोप अभियान शुरु गरेको छ । 

युरोपका केही मुलुकमा कोरोनाभाइरसको नयाँ स्वरुप देखिएकै अवस्थामा अति जोखिममा रहेका मानिसलाई पहिलो प्राथमिकता दिई खोप लगाउने तयारी गरिएको छ । 

फाइजर–बायोएनटेकले विकास गरेको खोप कोभिड–१९ बाट सर्वाधिक प्रभाव परेका इटाली, स्पेन र फ्रान्समा शनिबार पहिलो डोजका लागि खोप आइपुगेको छ । पहिलो चरणमा यो खोप वृद्धवृद्धा र उनीहरुको हेरचाहमा खटिने व्यक्तिहरुलाई दिइने जनाइएको छ ।

कोरोनाभाइरसको खोपका कारण सन् २०२१ मा नयाँ आशाको किरण देखिएको छ ।  गत वर्ष चीनमा पहिलो पटक देखिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर हालसम्म १७ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । 

यसैबीच, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम घेब्रेससले कोभिड–१९ महामारीबाट नयाँ पाठ सिक्नुपर्नेमा जोड दिनु भएको छ । महामारी पूर्वतयारी सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै टेड्रोसले मानिस र पशुपक्षीबीचको नाजूक सम्बन्धका बारेमा मानव समुदायले बढी सचेतता अपनाउनुपर्ने तथा जलवायु परिवर्तनका खतराका कारण मानवका लागि पृथ्वी बस्नयोग्य बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । 

जर्मनीमा १०१ वर्षीया वृद्धालाई शनिबार कोभिड–१९ विरुद्धको खोप दिइएको छ । जर्मनीका स्वास्थ्य मन्त्रीले त्यस अवसरमा खोपलाई आशाको दिनको रुपमा हेरिएको बताउनुभयो ।

हंगेरी र स्लोभाकियामा पनि खोप दिन थालिएको छ । 

हाल रुस, चीन, बेलायत, क्यानाडा, संयुक्तराज्य अमेरिका, स्वीट्जरल्यान्ड, सर्बिया, सिंगापुर र साउदी अरेबियामा पनि खोप अभिायन शुरु भइसकेका छन् । 

इटालीका विदेश मन्त्री लुइगी डि मायोले आमजनतालाई कोभिड–१९ को खोप लिन आह्वान गर्नु भएको छ । तर जनमत सर्वेक्षणमा करिब ५७ प्रतिशत जनताले मात्र खोप लिन चाहेको देखाइएको छ । वैज्ञानिकहरुले ७५ देखि ८० प्रतिशतले खोप लगाए मात्र “हर्ड इम्युनिटी” विकास हुने अनुमान गरेका छन् ।

कोरोनाभाइरस फैलिएको भन्दै इजरायलले आइतबारदेखि लागू हुनेगरी दुई साताको लकडाउन गरेको छ भने फ्रान्सका स्वास्थ्य मन्त्रीले पनि क्रिसमस पछि कोरोना फैलिने आशंकामा लकडाउन गर्ने योजना बनाइएको जानकारी दिनु भएको छ । 

बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ स्वरुप र युरोपदेखि जापानसम्म यो भाइरस पुगेको भन्दै तनाबको वातावरण सिर्जना भएको छ । 

कोरोनाभाइरसको नयाँ संस्करण म्याड्रिडमा शनिबार चार जनामा भेटिएको छ, तर उनीहरु गम्भीर बिरामी नभएको स्पेनी स्वास्थ्य अधिकारी एन्टोनियो जापाटेरोले बताउनुभयो ।