१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेत आगलागीमा ४२ भारतीयको मृत्यु भएको पुष्टि



अ+ अ-

एजेन्सी । कुवेतको मङ्गाफ सहरमा रहेको ६ तले भवनमा बुधबार आगलागी हुँदा ४९ कामदारको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार मारिनेमा ४२ जना भारतीय रहेका छन् । एएनआईका अनुसार ती मध्ये १२ जना केरलाका र ५ जना तमिलनाडुका थिए । केरलाकी स्वास्थ्यमन्त्री वीणा जर्ज कुवेत प्रस्थान गरेकी छन् ।

अन्य मृत्यु हुनेमा पाकिस्तान, फिलिपिन्स, इजिप्ट र नेपालका रहेका छन् । दुर्घटनापछि भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह कुवेत पुगेका छन् ।

उनले भवनमा आगलागीका कारण केही शव नराम्ररी जलेकाले पहिचान हुन नसकेको बताए । भवनको सिँढीमा धेरै शव भेटिएका थिए । भारतको एयर फोर्स वन विमान शव ल्याउन तयार रहेको बताइएको छ ।

आगलागीका कारण मच्चिएको भागदौडका बीच धेरै मानिसहरु आत्तिएर भवनको झ्यालबाट हाम फाले । धेरै मानिस भवन भित्र फसेका थिए र धुवाँमा निसास्सिएर मरेका थिए ।

कुवेतमा भवनमा लागेको यो अहिलेसम्मकै सबैभन्दा भीषण आगलागी हो । मृत्यु हुनेको संख्यामा यो देशकै दोस्रो ठूलो आगलागी हो । यसअघि सन् २००९ को अगस्टमा आफ्नो पतिको दोस्रो विवाहबाट आक्रोशित एउटी महिलाले जाहरा सहरमा रहेको विवाह पालमा आगो लगाउँदा ५६ जना महिला र बालबालिकाको ज्यान गएको थियो ।