२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग



अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले दोस्रो पटक महाभियोग प्रस्ताव पारित गरेको छ । अमेरिकी इतिहासमा दुई पटकसम्म महाभियोग लाग्ने पहिलो राष्ट्रपति डोनाल्ड ट्रम्प बन्नुभएको बताइएको छ । 

उहाँ विरुद्धको महाभियोगको प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्बाट पारित पनि भएको बताइएको छ । अघिल्लो हप्ताको बुधवार अमेरिकी संसद् भवनमा राष्ट्रपति ट्रम्पका समर्थकहरुले आक्रमण गरेपछि उहाँका विरुद्ध अमेरिकाका डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त महाभियोगको सार्वजनिक मत परिणामअनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको बताइएको छ । महाभियोग पारित हुन २१७ मत आवश्यक थियो । यहाँको हाउस अफ रेप्रिजेन्टेटिभ्समा डेमोक्र्याट पार्टीका २२२ जना सदस्य रहेका छन् ।

तर त्यो भन्दा पनि बढी राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका पनि १० जना सांसदले महाभियोगको पक्षमा नै मतदान गरेको अमेरिकी सभामुख न्यान्सी पेलोसीले जानकारी दिनुभएको छ । महाभियोगको प्रस्तावको विपक्षमा भने १९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए । अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले सन् २०१९ मा पनि उहाँ विरुद्ध महाभियोग पारित गरेको थियो । 
तर पनि त्यस समयमा भने उहाँको दल रिपब्लिकनका एकजना पनि सांसदले महाभियोगको पक्षमा मत दिएका थिएनन् ।

अमेरिकी संसदको तल्लो सदनले पारित गरेको सो महाभियोग प्रस्ताव अब यहाँको माथिल्लो सदन अर्थात् सिनेटबाट पनि पारित हुनुपर्नेछ । उक्त प्रस्ताव पारित हुनका लागि सिनेटको मतको दुई तिहाइ आवश्यक हुन्छ ।

यस प्रयोजनका लागि सिनेटमा कम्तीमा पनि १७ जना रिपब्लिकन सिनेटरहरू ट्रम्पको विपक्षमा अर्थात् महाभियोगको पक्षमा उभिनु पर्नेछ । तर यो सम्भावना भने निकै कम देखिन्छ । रासस