• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु ★   विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी अलराउन्डरले भने– यो पाकिस्तान क्रिकेटको सबैभन्दा तल्लो स्तर हो

वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु



काठमाडौँ । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घट्नामा परी देशभर २६ जनाको मृत्यु भएको जनाइएको छ ।

लामो समय सुक्खा खडेरी हुँदा वैशाखमा मात्र देशभर आगलागीका ८६१ र डढेलोका ५७३ घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगलागीका घटनामा परी २० जनाको मृत्यु भएको थियो भने ७३ जना घाइते भएका थिए ।

त्यस्तै डढेलोका घटनामा परी छ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिनुभयो । आगलागीबाट एक हजार ३६४ र डढेलोबाट ४०७ घरपरिवार प्रभावित भएका थिए ।

त्यस्तै यस अवधिमा चट्याङबाट आठ जना, उचाईमा लेक लागेर दुई, बाढी र जनावरको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको थियो । वन तथा भू–संरक्षण विभागले दिएको जानकारीअनुसार वैशाख महिनामा मात्र यति धेरै डढेलोका घटना भएको सम्भवत: पहिलो पटक हो । नेपालमा खासगरी माघदेखि जेठसम्म बढी आगलागी र डढेलो लाग्ने गरेको छ ।

नेपालमा विशेष गरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस वर्ष हिउँदे वर्ष न्यून भएका कारण पनि वन डढेलो धेरै देखिएको विभागको भनाइ छ ।

डढेलोका कारणमध्ये स्थानीयले घाँसको मुना पलाउने आशमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित हुनुपर्ने वन क्षेत्रको जानकारको भनाइ छ । वनजङ्गलमा मानिस वनभोज जाने र आगो त्यतिकै छोड्दा हुने आगलागी, बिँडी, चुरोटका ठूटाबाट समेत वन डढेलो लाग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

कतिपय संरक्षित क्षेत्रमा स्थानीयले प्रवेश गर्न नपाएको र स्रोतको प्रयोग गर्न नपाएको आवेगमा समेत आगो लगाउने गरेको देखिएको छ । पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलो बीचको दुश्चक्रिय अन्तरसम्बन्धले समस्या जटिल बन्नुका साथै डढेलोका घटनासमेत वृद्धि भएको पाइएको जनाइएको छ । रासस