• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   द्रविडले कोहलीलाई साथ दिँदै भने – उनको ब्याटबाट ठूलो इनिङ्स आउन बाँकी छ ★   विश्वकप फाइनलमा भारतको जितको कामना गर्दै गंगा आरति ★   ‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’ ★   मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन ★   मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्: सांसद झा ★   विराट कोहलीका लागि यो विश्वकप अहिलेसम्मकै ‘झुर’ ★   ‘कल्की २८९८ एडी’ले पहिलो दिनमै कमायो १९० करोड ★   मनसुनजन्य विपद् प्रतिकार्य: यस्तो छ सरकारको तयारी ★   तीन करोड भन्दा कमका योजनाहरुमा थप बजेट विनियोजन गरियोस्: सांसद दाहाल ★   करोडौँ खर्चिए पनि गण्डकीका चार विमानस्थल प्रयोगविहीन

अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर



भेरीगङ्गा । पार्वती गौतम शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ । उहाँको एउटा खुट्टाले काम गर्दैन । ४३ वर्षीया गौतमले जीवनमा धेरै सङ्घर्ष र दु:ख गर्नुभयो । पार्वती अहिले सफल उद्यमी हुनुहुन्छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ मा व्यवसाय सञ्चालन गरिरहनुभएका उहाँ धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ ।

आमा मनमाया र बुबा देवनारायणको कोखबाट विसं २०३८ साल भदौ १ गते काभ्रेपलाञ्चोकमा जन्मिनुभएका उहाँ जन्मजात  अपाङ्गता हुनुहुन्थ्यो । उहाँको बाल्यकाल गाउँमै बित्यो । सानैदेखि दु:खमा हुर्किनुभएका पार्वतीले कक्षा पाँचसम्म मात्रै अध्ययन गर्न पाउनुभयो । शारीरिक अपाङ्गता भएकै कारण उहाँले पढ्न पाउनुभएन । विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्ने अवस्था थियो । त्यतिबेला अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री उपलब्ध थिएन । “सानोमा धेरै दु:ख पाइयो”, उहाँ भन्नुहुन्छ, “मेरो पढाइप्रति कसैले चासो दिन्थेनन्, सबैले अपाङ्गता भएको व्यक्ति पढ्न सक्दैन भन्थे तर मैले जसोतसो कक्षा पाँचसम्म पढेँ ।”

गौतमको परिवार बसाइँ सरेर विसं २०५२ सालमा काठमाडौँ गयो । पार्वतीका बुबाको सरकारी जागिर थियो तर एकजनाको जागिरले घरखर्च चलाउन कठिन हुन्थ्यो । आमाको सहयोगमा उहाँले सिलाइको काम सिक्नुभयो । विवाह नगर्ने र आफ्नो सिलाइसम्बन्धी  सीपले जिविका चलाउने सोच बनाउनुभएको थियो । सिलाइको कामबाट आम्दानी गर्दासमेत समाजले उहाँको कामलाई प्रशंसाभन्दा गलत नजरले हेर्ने गर्दथे । “पढ्छुभन्दा घरपरिवारले नमान्ने, केही काम गरेर खान्छुभन्दा समाजले नपत्याउने, मैले यो समाजका लागि केही गर्न सक्छु भन्ने सोच हुँदाहुँदै अपाङ्गताप्रति हेर्ने गलत दृष्टिकोणका कारण धेरै सङ्घर्ष र पीडादायी जीवन बाँच्नुपर्‍यो,” उहाँले विगत सुनाउनुभयो ।

जब सुर्खेतका योगेन्द्र पुरीसँग उहाँले विवाह गर्नुभयो । त्यसपछि एकाएक उहाँको जीवनले नयाँ मोड लियो । अनाथलयमा हुर्किनुभएका पुरीसँग विवाह गरेपछि एक्लै सङ्घर्ष गरिरहनुभएका पार्वतीले श्रीमान्को सहयोग पाउनुभयो । पार्वती र उहाँका श्रीमान सुर्खेत आउनुभयो । दुवै अपाङ्गता भएका व्यक्ति भएपनि उहाँहरुमा केही गर्न सक्छौँ भन्ने विश्वास कायम थियो । उहाँहरुसँग न त कुनै सम्पत्ति थियो, न त बस्ने ठाउँ । उहाँहरुले जीवनदेखि हार खानु भएन । पार्वतीले जब अपाङ्गता परिचयपत्र पाउनुभयो अनि केही सङ्घसंस्थाहरुको सहयोगमा उद्यमशीलतासम्बन्धी सीप सिक्नुभयो ।

उहाँले सिलाइदेखि मम बनाउने र पुष्टकारी चकलेट बनाउने जस्ता सीप सिक्नुभयो । त्यसपछि व्यवसाय सञ्चालन गर्ने योजना बनाउनुभयो । योजनाअनुसार व्यवसाय गर्न पैसा थिएन । “सिकेको सीपअनुसार व्यवसाय गर्छु भनेर योजना बनाएँ तर मसँग व्यवसाय सुरु गर्ने पैसा थिएन, मैले सुर्खेतस्थित परिलक्षित संस्थाबाट सहयोग पाएँ,” उहाँले भन्नुभयो ।

अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको परिलक्षित संस्थाले उहाँलाई आर्थिक सहयोग गरेपछि सिलाइसम्बन्धी व्यवसाय सुरु गर्नुभयो । व्यवसायबाट आम्दानी हुन थाल्यो । पैसाको दुखमा अभाव भोग्नुभएका उहाँहरुको जीवनमा नयाँ खुसी र उमङ्ग आउन थाल्यो । त्यही व्यवसायको कमाइले उहाँहरुले वीरेन्द्रनगरमा घर बनाउनुभयो । अहिले उहाँ मासिक रु ५० हजारभन्दा धेरै कमाउनुहुन्छ । छोराछोरी पढाउने र घर चलाउनलाई कुनै समस्या छैन ।

उहाँले भन्नुभयो, “जीवनमा सङ्घर्ष गर्नुपर्दो रहेछ, सफलता प्राप्त गर्न चुनौतीलाई सामना गर्नुपर्दो रहेछ ।” उहाँ अहिले सिलाइको कामसँगै मम र आलु चिप्स उत्पादन गरिरहनुभएको छ । पार्वतीले पुष्टकारी उद्योग सञ्चालन गर्ने योजना बनाइरहनुभएको छ । त्यसका लागि उद्योग दर्ता गरिसक्नुभएको छ ।

“सुर्खेतमा अहिलेसम्म काहीँ पनि पुष्टकारी उत्पादन भएको छैन्,” उहाँले भन्नुभयो, “मैले यसको उत्पादनका लागि उद्योग दर्ता गरिसकेको छु, सुर्खेतबाट उत्पादन गरेर कर्णालीभर पुष्टकारी पठाउने योजना बनाएको छु ।” रासस