१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै



अ+ अ-

ढोरपाटन । पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ । हरेक वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल बढ्नुका साथै खेती गर्न सहज हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बसाइँसराइले गाउँ रित्तिँदै गएपछि पहिले कोदो, मकै, गहुँलगायत अन्नबाली फल्ने बारीमा अहिले सुन्तलाखेती गर्न थालिएको छ । कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने भएकाले कृषक सुन्तलाखेतीप्रति आकर्षित भएका केन्द्रका सूचना अधिकारी कुमार पुनले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका अनुसार विसं २०७६ मा पाँच सय ८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा हालसम्म आउँदा उक्त क्षेक्रफल बढेर छ सय १८ हेक्टर पुगेको छ । चार वर्षको अवधिमा ३३ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती बिस्तार भएको छ ।

बागलुङमा सुन्तला उत्पादन राम्रो हुने र बजार पनि सहजरुपमा पाउने भएकाले खेती बिस्तार हुँदै गएको पुनको भनाइ छ । जिल्लामा काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुने उहाँले जानकारी दिनुभयो ।

भौगोलिक बनावट र हावापानीअनुसार १० वटै पालिकामा धेरै वा थोरै सुन्तला उत्पादन हुने गरेको सूचना अधिकारी पुनले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष ४५ मेट्रिकटन सुन्तला उत्पादन कम भएको उहाँले जानकारी दिनुभयो ।

सूचना अधिकारी पुनका अनुसार अघिल्लो वर्ष जिल्लामा तीन हजार नौ ८५ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष तीन हजार नौ ४० मेट्रिकटन मात्रै उत्पादन भएको छ । गत वर्ष रु २० करोड बढीको सुन्तला बिक्री भएकामा यस वर्ष रु १८ करोडको मात्रै उत्पादन भएको छ ।

बागलुङमा सुन्तला व्यवस्थापनमा किसानले ध्यान नदिँदा उत्पादनमा ह्रास आएको पुनले बताउनुभयो । कृषि ज्ञान केन्द्रले सुन्तलाखेती गर्ने किसानलाई आवश्यक अनुदानसँगै बगैँचा व्यवस्थापन र प्राविधिक सहयोग गर्दै आएको उहाँको भनाइ छ । मल, जल र बगैँचा व्यवस्थापनम कृषकले ध्यान दिए बागलुङमा धेरै मात्रामा सुन्तला उत्पादन गर्न सकिने सूचना अधिकारी पुनले बताउनुभयो ।

“बागलुङमा सुन्तला उत्पादन राम्रो हुन्छ । यहाँका धेरै किसानले मेहनत पनि गर्नुभएको छ, तर यस वर्ष बगैँचा व्यवस्थापन सही तरिकाले नहुँदा उत्पादन घटेको छ । खेती बिस्तार भने तीव्ररुपमा भइरहेको छ”, उहाँले भन्नुभयो, “केन्द्रबाट कृषकलाई प्राविधिक सहयोगसहित अनुदान र तालिम प्रदान गर्दै आएका छौँ । पहिले खाद्यबाली खेती हुने बारीमा अहिले सुन्तला लगाउन थालेका छन् ।”

बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले यस वर्ष रु छ लाखको सुन्तला बिक्री गरेको बताउनुभयो । बारीमा दुई सय बोट सुन्तला रहेको भन्दै आधाभन्दा बढीले उत्पादन दिन थालेको उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष दुई प्रतिशतले मात्र उत्पादन बढेको उहाँको भनाइ छ ।

सिगानामा यो वर्ष करिब रु साढे दुई करोड भित्रिएको भन्दै खड्काले गाउँमा मात्रै ४० हजार सुन्तलाका बोट रहेका बताउनुभयो । “अन्य खेतीलाई जस्तो धेरै झन्झट गर्न नपर्ने, बेलाबेला गोडमेल र सिँचाइ गरे हुन्छ । उत्पादन राम्रो भयो भने आम्दानी पनि राम्रो हुन्छ, सुन्तलाखेती गरेपछि पछुताउनु भने पर्दैन”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ विभिन्न रोग र सङ्क्रमणले दुःख दिने भएकाले कृषि केन्द्रसँग समन्वय गरी काम गर्नुपर्छ । पहिले गाउँका थोरै किसानले सुन्तलाखेती गर्नेमा अहिले प्रत्येक परिवार यसमा आबद्ध हुँदै गएका छन् ।” रासस