१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

संरक्षणको पर्खाइमा ‘पराशर पार्क’

संरक्षणको पर्खाइमा ‘पराशर पार्क’
अ अ+ अ-

तनहुँ । भाइरल पर्यटकीय क्षेत्र मानहुँकोटको फेदी र सेती तथा मादीको सङ्गमस्थलमा निर्माण गरिएको पराशर पार्कको संरक्षण हुन सकेको छैन । सदरमुकाम दमौली नजिकै व्यासऋषिको तपोभूमि व्यास गुफा छ । उक्त गुफाको ठीक अगाडि भागमा पराशर आश्रम अवस्थित छन् । दायाँ र बाँया सेती तथा मादी नदी बग्छन् ।

धार्मिक र पौराणिक दृष्टिकोणले यो क्षेत्र धार्मिक पर्यटकीय स्थलका रुपमा पनि उत्तिकै परिचित रहेको पाइन्छ । सो स्थानमा घुम्न स्वदेश र भारतका विभिन्न स्थानबाट पर्यटक आउने गर्दछन् । व्यास गुफा, पराशर आश्रम र पार्कलाई जोड्न मादी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ ।

धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न नेपाल सरकारको आर्थिक सहयोगमा व्यास नगरपालिका–५ बेनीपाटनस्थित सेती र मादी नदीको सङ्गमस्थलमा पराशर पार्क निर्माण गरिएको छ । चारवेद र १८ पुराणका रचयिता वेदव्यासको तपोभूमिलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पार्क निर्माण कार्य अघि बढाइएको थियो । आर्थिक वर्ष २०७७/७८ मा अन्तिम निर्माण कार्य सम्पन्न गरे पनि सञ्चालनमा ल्याउन नसक्दा विगत दुई वर्षदेखि पराशर पार्क अलपत्र र बेवारिसे बन्दै आएको छ ।

विसं २०७८ मा सेती र मादी नदीमा आएको बाढीले निर्माण गरिएका केही संरचना बगाएर पूर्ण क्षति बनाएको छ । बचेका केही संरचना पनि भत्किन थालिसकेका छन् । तनहुँ जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गत बचेका संरचना जोगाउन सेती र मादी किनारमा पर्खाल निर्माण गरेका कारण रहेका केही संरचनाको संरक्षणमा सहयोग पुगेको छ ।

पार्क निर्माणपश्चात् शौचलायका लागि पानी आवश्यक पर्ने भएपछि ट्याङ्की निर्माणका लागि विनियोजित रु ५० लाखको लागतमा ट्याङकी निर्माण गरिएको थियो । विसं २०७५ साउन १६ गतेदेखि निर्माण सुरु गरी विसं २०७६ माघ १६ गते नै पार्क निर्माण कार्य सम्पन्न गरे पनि उक्त समयदेखि पार्क अलपत्र र बेवारिसे बन्दै आएको छ ।

उक्त पार्कमा माछाको आकारमा पानी पोखरी, क्यारी वल, वनभोज स्थल, बास्केटबल कोर्ट, एमपी थ्रेटर, पार्किङस्थल निर्माण गरिएको छ । व्यास गुफा र पराशर क्षेत्रलाई जोड्दै धार्मिकस्थलका रुपमा प्रवद्र्धन गर्नमा थप सहयोग पुग्ने स्थानीय पाटन टोल विकास संस्थाका निवर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठ बताउनुहुन्छ ।

निर्माण गरिएका संरचना संरक्षण गर्न जति सक्दो चाँडो स्थानीय तह मातहत ल्याएर सञ्चालनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीले जति सक्दो चाँडो व्यास नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने देखिएको छ ।

सो संरचना तत्कालीन सहरी विकास तथा भवन निर्माण विभाग गोरखाले निर्माणको जिम्मा पाए पनि अहिले सङ्घीय आयोजना कार्यन्वयन एकाइ कास्की मातहत रहेको छ । आयोजनाको कूल लागत रु तीन करोड ५३ लाख ७१ हजार पाँच सय ७६ रहेकामा भ्याटबाहेक कबोल अङ्क रु दुई करोड ७९ लाख ९८ हजार चार सय तीन लागत रहेको थियो ।

उक्त पार्कको न्यू ड्रैगन/एएनजी जेभी काठमाडौँले निर्माणको जिम्मा पाएको सङ्घीय आयोजना कार्यन्वयन एकाइ कास्कीका आयोजना प्रमुख सुरोज पौडेलले जानकारी दिनुभयो । सङ्घीय आयोजना कार्यान्वयन एकाइले सङ्घीय सरकारबाट प्राप्त बजेटअनुरुप निर्माण कार्य सम्पन्न गरेको उहाँ बताउनुहुन्छ ।

“पार्क उपयोगमा ल्याउनका लागि स्थानीय तहलाई पार्क हस्तान्तरण गर्ने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “व्यास नगरपालिकाले सञ्चालनका साथै संरक्षण गर्न पनि उत्तिकै चासो देखाएको छ, प्राविधिक कारणले मात्रै ढिलाइ भएको हो, निर्माण गरिएका संरचना सुरक्षित हुने किसिमले सञ्चालनमा ल्याउन नगरपालिकालाई सुम्पिन लागेका छौँ, अब छिट्टै हस्तान्तरण गर्ने तयारी गरिरहेका छौँ ।”

पार्क सञ्चालनमा ल्याएसँगै यस क्षेत्रमा पर्यटकको आवागमनमा वृद्वि हुने अपेक्षा गरिएको छ । सङ्घीय सरकारको बजेटमा सङ्घीय आयोजना कार्यान्वयन एकाइले पार्क निर्माण गरे पनि स्थानीय तहलाई हस्तान्तरण गर्ने कार्यमा ढिलाइ हुँदा निर्माण गरिएका संरचना अलपत्र बन्दै गएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।

पार्कलाई सुन्दर र सफा देखाउन लगाइएको टायल उप्किने तथा भाँचिने भइसकेको छ । पार्कमा बिच्छ्याइएका टायल फुट्न थालेका र यसको मर्मतसम्भार गरेर नगरपालिकाले संरक्षण तथा सञ्चालनमा ल्याउने योजना रहेको उहाँले बताउनुभयो ।

प्रयोगमा नआउँदै र यसको उद्घाटन नहुँदै जीर्ण देखिन थालेको पाटन टोल विकास संस्थाका निवर्तमान अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पर्यटकीय गन्तव्य विकासका लागि पार्क निर्माण गरिनु राम्रो कार्य भए पनि सरकारको लगानीको संरक्षण नहुँदा यति ठुलो लगानी बालुवामा पानी हालेजस्तो बनेको छ । रासस