२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशैभरि जान्छ चितवनको तोरीको तेल



file photo
अ+ अ-

चितवन । तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ ।

पूर्व–पश्चिम राजमार्ग नजिकै बाइपास सडकमा जिल्ला सहकारी सङ्घले विसं २०५४ देखि नियमित तेल बिक्री गर्दै आएको छ । यतिमात्र होइन जिल्लाका विभिन्न ठाउँमा तोरी पेलेर तेल बिक्री गर्ने गरिन्छ । आफ्नै अगाडि पेलिरहेको तोरीको तेल देखेपछि जो कसैले पनि नियमित भान्छामा प्रयोग गर्ने भएकाले तेल लैजाने गर्दछन् । बजारमा आउने तेल मिसावट हुनसक्ने आशङ्काले यही पेलेको तेल प्रयोग गर्नेको सङ्ख्या बढी हुने गरेको छ ।

जिल्ला सहकारी सङ्घद्वारा सञ्चालित तोरीको तेल बिक्री केन्द्रबाट वार्षिक ४० हजार लिटर तेल बिक्री हुँदै आएको छ । सङ्घका व्यवस्थापक विनोद खतिवडाका अनुसार यहाँ मुख्यरुपमा जिल्लामा नै उत्पादित तोरीको तेल पेल्ने गरिएको छ । गएका वर्षहरुमा दाङसहित पश्चिमका जिल्ला र वीरगञ्जबाट समेत तोरी आउने गरेको थियो । यस वर्ष भने यहींको तोरीले धानेको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षमा एक हजार ५२ क्विन्टल तोरी ल्याएर तेल उत्पादन गरी बिक्री गरिएको उहाँको भनाइ छ । वार्षिक रु एक करोड ५० लाख हाराहारीको तोरीको तेल बिक्री हुने गरेको छ । सङ्घका अध्यक्ष भक्तिराम अधिकारीका अनुसार यहाँको तेल जिल्लासँगै धेरै काठमाडौँ जाने गर्दछ । यस्तै पोखरा, हेटौँडालगायत देशका विभिन्न ठाउँमा तेल पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नै आँखा अगाडि तोरी पेल्ने हुनाले शुद्ध तेलका लागि जो कोही यहाँ आउने गर्दछन् ।” रोजगारीको सिलसिलामा यहाँ रहेकाहरु, बाटो यो परेर अन्यत्र जानेहरु, राजधानीलगायत ठाउँमा भएकालाई उपहारका रुपमा समेत तेल लैजाने गरेको उहाँले बताउनुभयो ।

सङ्घले तेल प्रतिलिटर रु तीन सय ५० मा बिक्री गर्दै आएको छ । सहकारीहरुका लागि प्रतिलिटर रु १० छुट दिने गरिएको छ । भरतपुर महानगरपालिका–११ को बाइपास सडक नजिकै वशिष्ठ तेल उद्योग रहेको छ । यहाँ पेलिने तोरीको तेलमध्ये ७० प्रतिशत जिल्लाबाहिर जाने गरेको सञ्चालक कृष्णप्रसाद भट्टराईले बताउनुभयो । उहाँका अनुसार धेरै काठमाडौँ, पोखरा, गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, धादिङलगायत जिल्लामा जाने गर्दछ । उहाँले भन्नुभयो, “स्थानीय बजारमा ३० प्रतिशत तेल जान्छ भने बाँकी ७० प्रतिशत बाहिरी जिल्लामा जाने गरेको छ ।”

तोरीको तेल प्रत्यक्ष रुपमा पेलेर दिइने भएकाले विश्वास जित्न सकेको भट्टराईले बताउनुभयो । जिल्लाका अन्य ठाउँमा पनि निजी क्षेत्रबाट उद्योगका रुपमा तेल मिल सञ्चालनमा रहेका छन् । बाहिरबाट आउने तेलमा मिसावट हुनसक्ने भन्दै पछिल्ला दिनमा प्रत्यक्ष रुपमा पेलेर बिक्री गर्ने तोरीको तेलमा आकर्षण बढेको छ । चितवन तोरीका लागि प्रख्यात जिल्लाका रुपमा चिनिन्छ । पछिल्ला वर्षमा यहाँ तोरीको क्षेत्रफलसँगै उत्पादन बढ्दै गएको छ । रासस