१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ।

सोमबार दिउँसो काठमाडौंको टुंडिखेलमा मगर समुदायले आयोजना गरेको माघी पर्वको अवसरमा बोल्दै निरंकुशताका विरूद्ध सङ्घर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने बताउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘शासकवर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु । यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताको विरूद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण शहिदहरूप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको सम्मान हुनेछ ।’’

सम्बोधनको पूर्णपाठ

सबैभन्दा पहिले नेपालमा बसोबास गर्ने विविध जाति एवं जनजातिहरूले आ–आफ्नै ऐतिहासिक मान्यता र संस्कृतिअनुसार फरक–फरक रूपमा मनाउने माघे सङ्क्रान्ति र माघी पर्वको सुखद् अवसरमा यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रकृतिवादी समुदाय हुनुको नाताले मगर समुदायका आफ्ना गतिविधि, परम्परा र संस्कृति प्रकृतिमा आधारित रहने गर्दछन् । माघी पर्व, उधौली–उभौली जस्ता संस्कृतिहरू मगर समुदायले ऐतिहासिक परम्परा र जीवनवृत्तिमा आधारित छन् । यस अर्थमा यो पर्व सांस्कृतिक विशेषता र विविधतायुक्त मात्र नभएर वैज्ञानिक मान्यतामा समेत आधारित छ । प्रकृतिको सम्मानस्वरूप पूजापाठ गर्ने, आफ्नो पितृहरूलाई सम्झने–पूज्ने र चेलिबेटीहरूलाई आफ्नो घर बोलाएर मिष्ठान भोजन खुवाउने प्रचलन मगर समुदायमा रहिआएको छ ।

माघी पर्व शिकारी युगबाट कृषि युगमा प्रवेशको संक्रमणपूर्व प्रकृतिमा पाइने तरूल, भ्याकुर, कन्दमुल जस्ता परिकारहरू खुवाउने, आशिर्वाद दिने जस्ता कार्यहरू हुने भएकाले माघे सङ्क्रान्ति मगर जातिको राष्ट्रिय सांस्कृतिक पर्व हो । यसै यथार्थलाई सम्बोधन गर्न मेरो नेतृत्वको सरकारले माघी पर्वमा राष्ट्रिय विदा दिने निर्णय गरिएको पनि म यहाँ स्मरण गर्न चाहन्छु ।

भौगोलिक रूपले यति सानो मुलुकमा हामीले जातीय, भाषिक, सांस्कृतिक रूपमा जुन विविधता प्राप्त गरेका छौँ, यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्ति हो । माघे सङ्क्रान्ति पर्व खस–आर्य, मगर, राई, थारु, लिम्बु, नेवार, गुरूङ, मैथिली, कुमाल लगायतका जाति जनजातिहरूको आ–आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्व हो । यस अर्थमा पनि माघे सङ्क्रान्ति र माघी पर्वले हाम्रो सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई राम्रोसँग प्रमाणित गर्दछन् ।

नेपाली जनताको सात दशक लामो न्यायपूर्ण सङ्घर्षको बलमा जनताका प्रतिनिधिहरूको सामूहिक विवेकद्वारा निर्मित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गर्दै स्वाधीनतासहितको समृद्ध नेपालको परिकल्पना गरेको छ । तसर्थ, संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै विविधतामा एकता हासिल गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा मगर समुदायको अग्रणी भूमिका र योगदान रहँदै आएको छ । आज हामीले पहिचान र अधिकारसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणाली प्राप्त गरेका छौँ, त्यसको पृष्ठभूमिमा नेपालका प्रथम शहिद लखन थापा लगायतका क्रान्तिकारी योद्धाहरूको बलिदान महत्वपूर्ण छ ।

यही विद्रोहको जगमा उठेको राजनीतिक चेतनाले १९९७ सालको शहादतसँगै २००७ सालमा राणाशासनको अन्त्य गरायो । त्यस्तै संघर्षहरू २०२७, २०३६ र २०४६ साल हुँदै देश जनयुद्धमा होमियो र २०६२÷६३ को बृहत आन्दोलनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो । यो महान् जनताहरूको बलिदानको प्रतिफल थियो तर प्रेरणाको स्रोत भने उही बुङ्कोटको ऐतिहासिक विद्रोह नै थियो । विगतलाई हेर्दा पनि २००७ सालमा नेपाली कांग्रेसले र १० वर्षे जनयुद्धमा नेकपा माओवादीले अख्तियार गरेको युद्धनीतिहरूमा बुङ्कोट विद्रोहकै स्पष्ट प्रभाव छ । तसर्थ, नेपालको क्रान्तिकारी रूपान्तरणको प्रक्रियामा लखन थापाको बिरासतलाई हामीले उच्च सम्मानका साथ स्मरण गर्नैपर्छ ।

शासकवर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु । यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताको विरूद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण शहिदहरूप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको सम्मान हुनेछ । यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहल गर्ने विश्वास पनि म तपाईहरूलाई दिलाउन चाहन्छु ।

माघी पर्वका निम्ति सङ्घीय सरकारको तर्फबाट तपाईहरूले सहयोगको अपेक्षा गर्नुभएको छ, जुन स्वाभाविक पनि छ । पछिल्लोसमय देशको अर्थतन्त्रले चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपरेकाले तपाईहरूले उठाउनुभएका कतिपय विषयहरू सम्बोधन गर्न नसकिएको यथार्थ हो । तर, मेरो नेतृत्वको सरकारले अर्थतन्त्रमा सुधार ल्याउन गरेको लगातारको प्रयासले अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ । आगामी वर्ष अर्थतन्त्रमा गुणात्मक सुधार आउनेछ । त्यसले तपाईहरूले उठाउनुभएको माग सम्बोधन गर्नसमेत सहज हुने मैले विश्वास लिएको छु ।

अन्त्यमा, यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रण गरी आफ्ना विचारहरू राख्ने अवसर दिनुभएकोमा आयोजकहरूप्रति हार्दिक आभार प्रकट गर्दै माघी महोत्सव २०८० को सफलताको शुभकामनासहित विदा हुन्छु । धन्यवाद ।