२ पुष २०८२, बुधबार
,
Latest
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण नेपाल अफगानिस्तानसँग पराजित किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ: राष्ट्रपति



अ+ अ-

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

माघी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ । उहाँले माघी पर्वजस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिए हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वूर्ण भूमिका रहने बताउनुभयो ।

“यस पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन् । थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदछन् भने मगर समुदायमा यस दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ ।  तराईवासीले ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउँदछन् । पवित्र नदी एवं त्रिवेणीहरूमा स्नानपश्चात् पूजाअर्चना गरी घीउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता खाद्य परिकार सेवन गर्ने परम्परा छ”, राष्ट्रपतिद्वारा जारी शुभकामनामा उल्लेख छ ।

सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउने उहाँको भनाइ छ । “हाम्रा धेरै पर्वहरू यसैगरी प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका छन् । नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहारहरू पनि प्रकृतिमैत्री र वातावरण संरक्षणउन्मुख हुनुपर्दछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्दछ”, उहाँले भन्नुभयो । रासस