• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार:  प्रधानमन्त्री



काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ ।

माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले वर्तमान सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर अघि बढेको छ भन्नुभयो ।

संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात् गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गरी समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सद्भाव, एक(अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाँले  सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल भौगोलिक रुपले सानो भए पनि जातीय, भाषिक, सांस्कृतिक विविधता निकै धनी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्तिका रुपमा रहेको उहाँको भनाइ छ ।

उहाँले माघे सङ्क्रान्ति पर्व खस(आर्य, मगर, राई, थारू, लिम्बू, नेवार, गुरुङ, मैथिली, कुमाललगायत जाति जनजातिको आ–आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्वका रुपमा रहेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले माघी पर्वले नेपालको सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई प्रमाणित गरेको बताउनुभयो ।

वैशाखे सङ्क्रान्तिबाट सुरु भएका सङ्क्रान्तिमध्ये सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने समयावधि हुने भएकाले माघे सङ्क्रान्तिलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । तिल, तरुल, घीउ, सख्खरलगायत परिकार खाने, विभिन्न सांस्कृतिक महोत्सव र झाँक्री, पूजाआजा, पारिवारिक भेटघाट तथा सामाजिक पुन:मिलन गर्ने पर्वका रुपमा माघीलाई लिइन्छ । रासस