• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

एकीकरणकै कारण मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ: पूर्वराष्ट्रपति भण्डारी



काठमाडौँ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेको बताउनुभएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को अवसरमा शुभकामना सन्देश दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले शाहले सुरु गर्नुभएको नेपाल एकीकरणकै कारण हाम्रो मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये परेको उल्लेख गर्नुभएको छ ।

“हामी नेपाली कहिल्यै कसैको अधीनमा नपरेको राष्ट्रका नागरिक हुनुमा गौरवान्वित हुन सकेका छौं । एकीकरणले तयार गरेको आधारभूमिमा उभिएर नै वर्तमान लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न हामी सफल भएका छौँ”, शुभकामना सन्देशमा भनिएको छ ।

उहाँले एकीकृत र अखण्ड नेपाल निर्माण तथा स्वाधीनता रक्षाका लागि जीवन उत्सर्ग गर्ने वीर पूर्खाप्रति सम्मान प्रकट गर्नुभएको छ । पृथ्वीनारायण शाहले सुरु गर्नुभएको भौगोलिक एकीकरणको अभियानलाई अझ विस्तृत र व्यापक बनाई नेपाली जनताको भावनात्मक एकीकरणमार्फत मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण गर्दै सुदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि समेत त्यसबाट तयार भएको उहाँको भनाइ छ ।

पूर्वराष्ट्रपति भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मुलुकलाई स्वाधीन, आत्मनिर्भर र सुदृढ राष्ट्रिय अर्थतन्त्र भएको राष्ट्र निर्माण गर्ने अभिभारा हाम्रो भएको उल्लेख गर्नुभएको छ । “यस युगीन दायित्वलाई व्यवहारमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई निरन्तर बलियो बनाई  जनताको सुख र समृद्धि हासिल गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु”, जारी शुभकामना सन्देशमा भनिएको छ ।रासस