१० श्रावण २०८३, आईतवार
,
Latest
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिव गुटेरेसद्वारा पुम्दीकोटको अवलोकन, फेवातालमा नौका विहार



अ+ अ-

गण्डकी: नेपालको औपचारिक भ्रमणका क्रममा आज पोखरा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोट पुुग्नुुभएको छ ।

आज दिउँसो ४ः३० बजे पुम्दीकोट पुुग्नुुभएका महासचिव गुटेरेसलाई महादेवको विशाल मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट  विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा महानगरपालिका-२२ का वडाध्यक्ष हिमलाल बराललगायतले स्वागत गर्नुभएको थियो ।

महासचिव गुटेरेसले यहाँस्थित महादेवको विशाल मूर्तिसँगै यहाँबाट देखिने हिमाली दृश्यावलोकन एवम् फेवातालसहित पोखराको रुचिपूर्वक अवलोकन गर्नुुभएको थियो । महासचिव गुुटेरेसले करिब आधा घण्टा पुम्दीकोटमा विताउनुुभएको समितिका सदस्य मातृका बरालले जानकारी दिनुुभयो ।

जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट अग्लो महादेवको विशाल मूर्ति पोखराको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा स्थापित बन्दै गएको छ । पुम्दीकोटमा बढ्दै गएको आकर्षणले आफूहरूलाई निकै उत्साहित बनाएको मूर्ति निर्माण अभियानका संयोजक एवं पुम्दीकोट विकास समितिका अध्यक्ष बरालले बताउनुुभयो ।

जनस्तरबाट निर्माण गरिएको  महादेव विशाल मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माण अघि बढिरहेको बताउँदै बरालले हालसम्मका संरचना निर्माणमा लगभग रु २६ करोड लगानी भइसकेको जानकारी दिनुुभयो । समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमान सहितको गुरुयोजना तयार गरी काम गरिरहेको छ ।

देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । पछिल्ला समयमा बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा पुम्दीकोट स्थापित हुने विश्वास लिइएको छ । पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको मूर्ति अवलोकनसँगै एकसाथ पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु छ करोड १८ लाखसहित दानस्वरुप २० रोपनी जग्गा प्राप्त भएको थियो भने विसं २०७८ मा दोस्रो पटक महायज्ञ लगाउँदा करिब रु तीन करोड सहयोग प्राप्त भएको थियो ।

समितिले वृहत् गुरुयोजनाअनुसार बाँकी कामअघि बढाउँदै गएको छ । मूर्ति स्थापनाका साथै प्रशासनिक भवन, गुरुमहाराज आश्रम निर्माण भइसकेका छन् भने नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिने गरी संरचना निर्माण भइरहेको छ । विशालमूर्ति रहेको स्थान (कैलाश) र सुमेरु पर्वतलाई जोड्ने विद्युतीय चियरकार निर्माण गर्ने कार्ययोजनासमेत छ ।

त्यस्तै शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, बगैँचाआदि निर्माण गर्ने लक्ष्य राखिएको छ । मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिङ्गआदि स्थापना भइसकेको छ भने परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको छ । शिवलिला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माण गर्ने समितिको सोच छ ।

संयुक्त राष्ट्रसंघका महासचिवको पुम्दीकोटको भ्रमणले यस स्थानका विश्वव्यापी प्रवद्र्धन हुने विश्वास लिइएको निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट पर्यटन विकास समितिका अध्यक्ष बरालले बताउनुुभयो ।

“महासचिव गुटेरेसले पुम्दीकोटको अवलोकनसँगै यहाँबाट देखिने हिमाली दृश्य, फेवातालसहित पोखराको अभिरुचिपूर्वक अवलोकन गर्नुुले यहाँको विश्वव्यापी प्रवद्र्धन भएको छ”, उहाँले भन्नुुभयो, “उहाँको आगमनले हामीलाई हर्षितसँगै थप उत्साहित बनाएको छ ।”

महासचिव गुटेरेसले फेवातालमा नौका विहार गर्नुुभएको छ । उहाँको भ्रमणले पोखराको पर्यटन विश्वव्यापीरुपमा प्रवर्द्धन भएको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताउनुभयो ।

महासचिव गुटेरेस फिस्टेल लजदेखि तालबाराही मन्दिरसम्म पुुगी दृश्यावलोकनसँगै  ताल र हिमालबारे जानकारी लिनुभएको थियो । रासस