१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको पेशी आइतबार, फैसला आए सोहि दिन पाकिस्तान जाने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न जाने भएका छन् ।

आइतबार जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दामा अन्तिम पेसी तोकिएको छ । आइतबार फैसला भए सन्दीप राति नै पाकिस्तान तर्फ जाने उनका वकिल सरोज घिमिरेले बताए ।

‘सन्दीप अहिले टिमसँग नजानुको मुख्य कारण पनि आइतबार पेसी नै भएर हो । आइतबार पेसी तोकिने सार्वजनिक गरेका थिएनौं । किनभने केहि अनुसन्धान बाँकी थियो । सन्दीप आइतबार बेलुका उडान गर्छन्,’ घिमिरेले भने ।

जिल्ला अदालतले गत ३२ साउनमा अन्तिम पेसी भनेपनि बिना सुनवाइ स्थगित भएको थियो । जिल्ला अदालतका न्यायाधीस राजुकुमार खतिवडाको इजलासले जाहेरीकर्ता गौशाला २६ कि आमाको दोहोरो जन्ममिति देखिएको भन्दै त्यसलाई स्पष्ट पार्ने कागजात मगाएको थियो ।

आइतबार पेसी तोकिएको भए पनि सुनवाइको रोलक्रम भने निर्धारण भइसकेको छैन । यदि प्राथमिकतामा परेको खण्डमा आइतबार नै सुनवाइ भएर एक–दुई दिनमा नै फैसला आउने बताईएको छ ।

आइतबार अन्तिम फैसला हुनपर्ने बताउदै वकिल घिमिरेले भने, ‘हामी अन्तिम फैसला पर्खिरहेका छौं । आइतबार अन्तिम फैसला सम्भावना होइन हुन पर्ने हो । अरु विविध कारणले नहुने भन्ने त्यही दिन थाहा हुने भयो । हामी पछिल्ला ३/४ पेसीदेखि अन्तिम भनेर नै बसेका छौं ।’

नेपाली क्रिकेट टोली एसिया कप खेल्न मंगलबार राती नै पाकिस्तान गईसकेको छ । तर सन्दीप भने मुद्दाका कारण नेपालमै छन् । यदि आइतबारको पेशी पनि कुनै कारण देखाएर स्थगित भयो भने सन्दीपको पाकिस्तान भ्रमण नहुन पनि सक्छ ।