१९ श्रावण २०८३, मंगलवार
,
Latest
आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको छ : अर्थमन्त्री वाग्ले सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट नेपाल एयरलाइन्सः यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले गरेनन् सरकारलाई सहयोग, मन्त्री रावलले खोजिन् विपक्षीको सहयोग गृहमन्त्रीको भ्रमण र सम्झौताबारे सरकारको स्पष्टीकरणः कुनै ठोस सम्झौता भएको छैन रामबहादुरलाई वाइल्ड कार्ड तीन दिने खेलकुद प्रदर्शनी शुरु शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु माकलबारी–देशे सडक विस्तारमा नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पलालको सपना पूरा गर्न कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य: मन्त्री मोदी



अ+ अ-

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।

पुष्पलाल स्मारक समितिले मोरङमा आयोजना गरेको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

“पुष्पलालले जुन कुरालाई केन्द्र बिन्दुमा राखेर कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको हो त्यो कुरा प्राप्त गर्ने दिशामा अगाडि बढ्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य छ” मन्त्री मोदीले भने ।

उनले पुष्पलालले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको समेत बताए । मन्त्री मोदीले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि अगाडि बढ्नुपर्ने समेत बताए ।

“एउटै बलियो कम्युनिष्ट पार्टी मार्फत आमूल परिवर्तनको सपना बोकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नेे पुष्पलालको सपना साकार गर्नका लागि सबै कम्युनष्टिबीचको एकता अनिवार्य र अपरिहार्य छ” उनले भने, “पुष्पलाल श्रेष्ठको योगदानले नै अहिले कम्युनिष्ट पार्टीहरु यो स्थानमा आइपुगेका हौँ, यो गाम्भीर्यतालाई बुझेर नेपालका कम्युनिष्ट पार्टी अगाडि बढ्नुपर्छ ।”

अर्को प्रसंगमा मन्त्री मोदीले प्रशासकीय र व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने दिशामा आफू लागिरहेको समेत बताए । मन्त्री मोदीले सरुवा प्रणालीलाई पूर्व अनुमानयोग्य बनाउने आफ्नो तयारी रहेको समेत उल्लेख गरे ।

उनले विराटनगरका सडक, खानेपानी, भवन, पुल लगायतका संरचना निर्माणका लागि आफूले सकेको बजेट प्रबन्ध गरेको बताए । “सांसद हुँदादेखि नै यहाँको विकासका लागि मैले सक्दो बजेटको प्रबन्ध गरेको छु” उनले भने, “अहिले पनि सबै क्षेत्रमा उतिकै मात्रमा बजेटको प्रबन्ध भएको छ, अझै अपुग छ त्यसलाई हामी पूर्णता दिँदै जानेछौँ ।”

विराटनगरको पुष्पलाल चोकमा निर्माण भएको पुष्पलाल स्मृति स्मारक निर्माणमा बजेटको प्रबन्ध गर्नका लागि मन्त्री मोदीले खेलेको भूमिकाको समेत कार्यक्रममा प्रशंसा भएको थियो ।

२००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना गर्दा सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य पुष्पलालले लिएका थिए । उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव थिए । वि.सं १९८१ असारमा रामेछापमा जन्मिएका श्रेष्ठ वैचारिक रुपले सशक्त र प्रेरणादायी नेताका रुपमा परिचित छन् । २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो ।