२ श्रावण २०८३, शनिबार
,
Latest
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दैः युनेस्को कुसुण्डा समुदायको सशक्तीकरणका लागि एकीकृत कार्ययोजना बनाउन सिफारिस जयन्दु बालसुधार गृहमा वृक्षरोपण प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल नेपालमा वैशाखदेखि हालसम्म विपद्बाट १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित एनएफपिजेद्वारा ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ कार्यशाला सम्पन्न न्यायको माग गर्दै निहारिका राजपुत र बिनु यादवद्वारा सिंहदरबार अगाडि घण्टी बजाएर विरोध बाढीपहिरोले छ राजमार्ग अवरुद्ध ‘राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व गुमायो’-गगन थापा नागढुङ्गा सुरुङमार्गमा दौड
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० वर्षअघि आजकै दिन यसरी जलेको थियो सिंहदरबार



फाईल फोटो
अ+ अ-

काठमाडौं । १९औं शताब्दीको विशिष्ट वास्तु  नमूनाका  रुपमा रहेको सिंहदरबारमा विसं २०३० मा आजकै दिन अर्थात असार २५ गते आगलागी भएको थियो ।

चन्द्र शम्शेरले सन् १९०४ सालमा व्यक्तिगत २५ लाख रूपैँया खर्चेर निर्माण गराएका यो भव्य दरबारमा १७ सय कोठा तथा विभिन्न चोकहरू थिए र यसलाई बनाउन एक वर्ष लागेको थियो ।

आगलागी हुनुभन्दा अगाडिसम्म एसियाकै सबैभन्दा ठूलो प्रशासनिक भवन मानिएको सिंहदरबारमा आगलागी हुँदा दरबारको पूर्वी भाग ध्वस्त भएको थियो । आगलागीबाट बचाउन ठूलो प्रयास भए पनि सफल नभएपछि अगाडिको भागमात्र भए पनि बचाउनका लागि तोप हानेर पछाडिको भाग भाग भत्काइएपछि बाँकी सिंहदरबार जलेर खरानी भयो।

हालको पश्चिमी मोहडा निर्माण गरिएकै बखतको संरचना हो भने सिंहदरबारभित्रको १ नम्बर चोक भित्रका भागहरू पछि निर्माण गरिएका हुन् । १ नम्बर चोकमा तत्कालीन युवराजाधिराज दीपेन्द्रको व्रतबन्ध गरिएको थियो ।

दरबारको पुर्ननिर्माण गर्न धेरै वर्ष लागेको थियो । अहिलेसम्म पनि सिंहदरबारमा के कारणले आगलागी भएको थियोभ न्ने खुल्न सकेको छैन । रातको १० बजेतिर एकाएक ‘विद्युत् सर्ट’ भएर आगलागी भएको बताउने गरिन्छ ।

बिहान हुँदा नहुँदै तत्कालीन राजा वीरेन्द्र रानी ऐश्वर्यका साथ त्यहाँ पुगेका थिए । नेपाली सेनाले सिंहदरबारको अग्रभाग ध्वस्त हुनबाट जोगाएको थियो । आगलागीपछि थुप्रै सरकारी कार्यालयहरू अन्त सारिएको थियो ।

त्यसरी आगलागी हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठूलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भएको बताइन्छ ।

विसं १९५८ असार १० गते सत्तामा आएका चन्द्र शमशेरले आफ्ना निमित्त एक दरबारको आवश्यकता महसुस गर्दै प्रतिरोपनी ९० रूपैयाँका दरले ३५० रोपनी जमिन सिंहदरबारका लागि खरिद गरेका थिए ।

सुरूमा चन्द्र शमशेरले आफू बस्न लायकको ठिक्कको दरबार बनाउन चाहेको भए पनि बनाउँदा बनाउँदै भव्य दरबार निर्माण गराए । सिंहदरबार बनाउँदा त्यसमा प्रयोग भएका सम्पूर्ण काठ काठमाडौँ नजिकको ‘छरिया’ जंगलबाट कटानी गरी ल्याइएको थियो ।

सिंहदरबारमा आगलागी भएपछि तत्कालीन प्रधानमन्त्री किर्तिनिधि विष्टले राजीनामा दिएका थिए । सिंहदरबारमा आगलागी हुँदा प्रधानमन्त्री पद त्याग गर्ने उनको निर्णयलाई नैतिकताको उदाहरणको रुपमा लिइन्छ ।

फोटो- सामाजिक संञ्जाल