२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्थाइ आवासका लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइसकेका छौँ: विश्वप्रकाश अर्याल



अ+ अ-

काठमाडौं । यस वर्षको बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थाई आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्ष मनसुनबाट प्रभावित भएकाहरुका लागि अस्थाई आवास बनाउनको लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘यो वर्षको मनसुनबाट क्षति भएको हकमा तत्कालै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर लगत संकलन गर्न र घर क्षतिको विवरण पठाउन माग गरेका छौँ । त्यो प्राप्त हुन वित्तिकै अस्थाइ आवासका लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइसकेका छौँ ।’

उहाँले गत वर्षको मनसुनबाट क्षति भएका २० जिल्लाका ३ हजार ३ सय ४९ वटा घरहरु पुनर्निमाणका लागि १९ करोड ९७ लाख ७३ हजार ७५० रुपैयाँ प्रथम किस्ता वापतको रकम सम्बन्धित जिल्ला विपद व्यवस्थापनको कोषमा पठाएको पनि उहाँले जानकारी दिनुभयो । यस वर्ष जेठ २८ गतेसम्म शुरु भएको मनसुनका कारण देशभरका ३२ जिल्लामा प्रत्यक्ष प्रभाव परेको उहाँले बताउनुभयो । मनसुनबाट आएको विपत्तिबाट ३३ जनाको मृत्यु भएको, ३० जना बेपत्ता भएको र ३२ जना घाइते भएको प्रवक्ता अर्याललले बताउनुभयो ।

बाढी पहिरोबाट ४८३ नीजि घरहरु पूर्ण रुपमा क्षति भएको, ११२ घरमा आशिंक क्षति भएको, ३६ सरकारी कार्यालयमा क्षति भएको तथा ६ वटा सामुदायिक विद्यालयको भवनमा क्षति पुगको उहाँले जानकारी दिनुभयो । त्यस्तै २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, २ वटा वित्तिय संस्थाको भवनमा क्षति भएको पनि उहाँले बताउनुभयो । उहाँले विपदबाट प्रभावितहरुका लागि खोज, उद्दार, राहत तथा पुर्नस्थापनाको काम गरिएको बताउनुभयो । 

मौसम पूर्वानुमान महाशाखा सँग समन्वय गरी विपद आउनसक्ने ठाउँमा प्राधिकरणले पूर्व सुचना प्रणालीलाई चुस्त दुरुस्त राखिएको उहाँले बताउनुभयो । ९ जिल्लाका ३६ पालिकाहरुमा प्रभावमा आधारित पूर्व सुचना प्रणाली जडान गरिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

हाल सुनसरी, मोरङ, पर्सा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, ललितपुर, तनहुँ, लमजुङ र बाजुराका सडकखण्डहरु अवरुद्ध भएका र सडक डिभिजन कार्यालय, स्थानीय तहहरुले अवरुद्ध सडक खुलाउने काम भइरहेको उहाँले बताउनुभयो ।