२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबान समूहले कन्दहार जिल्ला नियन्त्रणमा लियो



अ+ अ-

कन्दहार, अफगानिस्तान । अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले रातभरको सङ्घर्ष पश्चात् कन्दहार जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ । 

अमेरिकी सेनाले यही जुलाई महिनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरेसँगै तालिबान समूहले अफगानी सरकारी सेनाविरुद्ध आक्रामक कारबाहीलाई तिब्र बनाएको छ । कन्दहारलाई तालिबानी समूहले आफ्नो प्रमुख गढको रुपमा लिने गर्दछन् । 

गत मे महिनादेखि नै अफगानिस्तानका ग्रामीण क्षेत्रहरुलाई तालिबान समूहले आफ्नो नियन्त्रणमा ल्याउने अभियान सफलतापूर्वक सञ्चालन गरिरहेका छन् । काबुल नजिकैको बघराम हवाई मैदान अमेरिकी र नेटो सैनिकले खाली गरेको दुई दिनभित्रै कन्दहार प्रान्तको दक्षिणी पन्जवाई जिल्लालाई तालिबानीहरुले नियन्त्रणमा लिएका छन् ।

बघराम हवाई मैदानबाट अमेरिकी सेनाले तालिबान र अल–कायदा विरुद्ध दुई दशक हवाई आक्रमण गर्ने गरेको थियो । विगत केही वर्षदेखि तालिबान र अफगान सैनिकबीच पन्जवाई जिल्लालाई नियन्त्रणमा लिन पटक पटक संघर्ष हुँदै आएको छ । कन्दहार प्रान्तलाई तालिबान समूहले आफ्नो जन्मभूमिका रुपमा लिने गरेको छ । पञ्जवाई जिल्लाका गभर्नर हास्ती मोहम्मदले तालिबान समूह र अफगान सेनाबीच रातभर गोली हानाहान भएको र बिहान अफगान सेनाले जिल्ला छाडेको जानकारी दिनुभयो । 

उहाँले तालिबान समूहले जिल्ला प्रहरी मुख्यालय र गभर्नरको कार्यालयलाई कब्जामा लिएको बताउनुभयो । कन्दहारका प्रान्तीय परिषदका प्रमुख सईद जान खाक्रीवालले पनि पञ्जवाई जिल्ला तालिवानको नियन्त्रणमा गएको पुष्टि गर्दै सरकारी फौजले जानाजान जिल्ला छाडेको आरोप लगाउनुभयो । 

हालैका साताहरुमा अफगानिस्तानका धेरै प्रान्तमा सङ्घर्ष भइरहेका छन् र देशका ४०० मध्ये १०० भन्दा बढी जिल्ला आफ्नो नियन्त्रणमा लिइसकेको तालिवानले दाबी गरेको छ । बघराम हवाई मैदान खाली गरेसँगै तालिबान समूहले नयाँ क्षेत्रहरु आफ्नो नियन्त्रणमा लिन थप संघर्ष गर्ने अनुमान गरिएको छ । 

सरकारी फौजले बघराम हवाई मैदानलाई आतंकवाद विरुद्ध लड्न प्रयोगमा ल्याइने बताएको छ । आफूहरुले विमानस्थलको राडार प्रणालीलाई पुनः सञ्चालनमा ल्याइसकेको सेनाले जनाएको छ । (रासस–एएफपी)