२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको एकताका लागि संयुक्त मस्यौदामा छलफल शुरू, कार्यदलका नेता वार्तामा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को एकताका लागि संयुक्त मस्यौदामा छलफल शुरू भएको छ । 

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमति अनुसार गठित कार्यदलको औपचारिक बैठक सिंहदरबारमा बसेको छ ।

फेरि ब्युँताइएको कार्यदलमा ओली पक्षका संयोजक सुवास नेम्वाङ छन् भने माधव नेपाल पक्षका संयोजक भीम रावल छन् ।

भीम रावलले आइतबार राति अध्यक्ष ओलीसँग भेटे गरेसँगै कार्यदल ब्युँतिएको हो । सर्वोच्च अदालतमा बहस सकिएकाले त्यसबारे अदालतको फैसला बमोजिम पार्टीले संस्थागत निर्णय गरेर अघि बढ्नेमा दुबै पक्ष सहमत देखिएका छन् ।

अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएमा माधव नेपाललाई सम्मानजनक स्थान दिएर केपी ओलीको सरकारलाई निरन्तरता दिने विषयमा छलफल भएको बताइएको छ ।

त्यसो भएमा एमालेका सबै संरचनाहरू २०७५ जेठ २ कै अवस्थाबाट अघि बढाउन दुबै पक्ष यसअघि नै तयार छन् । 

कार्यदलमा संस्थापन पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट संयोजक भीम रावलसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट रहेको एमाले स्रोतले बताएको छ ।