२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीको सहज जित, आर्सनलसँगको अंक दुरी घटायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई ३-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रोड्री, इल्काए गुन्डोवान र रियाद माहरेजले एक एक गोल गरे । एस्टन भिल्लाका वली वाट्कीन्सले एक गोल फर्काए ।

खेलको चौंथो मिनेटमा नै रोड्रीले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । कर्नरबाट आएको पासमा उनले हेडरमार्फत गोल गरे । यस्तै, ३९ औं मिनेटमा गुन्डोवानले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

उनलाई हालाण्डले पास उपलब्ध गराएका थिए । भिल्लाका डिफेन्डरले गल्ती गरेपछि हालाण्डले बल खोस्दै क्रस गर्दा उपलब्ध भएका गुन्डोवानले कुनै गल्ती गरेनन् । यस्तै पहिलो हाफको इन्जुरी समयमा माहरेजले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमै सिटीलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ६१ औं मिनेटमा वाट्कीन्सले गरेको गोल भिल्लाका लागि सान्त्वना गोल हुन पुग्यो ।

जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दुरी घटाएको छ । २२ खेलबाट ४८ अंकसहित सिटी तालिकाको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको आर्सनलको ५१ अंक रहेको छ । यस्तै, २२ खेलबाट २८ अंकसहित भिल्ला ११ औं स्थानमा छ ।