२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले ३०० वडाको विवाद टुङगायो



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको ५३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लागेको छ । 

कांग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औं केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रूपमा रहेको क्रियाशिल सदस्यता ती जिल्लाको ९० निर्वाचन क्षेत्रको टुंगो लागेको हो । 

७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट ८ लाख ५० हजार क्रियाशील सदस्यताको नामावली दर्ता भइसकेको पार्टीले जनाएको छ । पार्टीद्वारा गठित क्रियाशील सदस्यता छानबिन समितिले विवाद टुंगो लगाउन तीब्रगतिमा काम गरिरहेको छ ।

समितिका प्रवक्ता एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले क्रियाशील सदस्यता विवाद रहेका देशभरका ५०० वडामध्ये ३०० वडाको विवाद टुंगो लागेको  जानकारी दिए । पार्टीको क्रियाशील सदस्यता छानबिन समितिले द्रूतगतिमा काम गरिरहेकाले असार मसान्तभित्र सबै क्रियाशील सदस्यता विवाद टुंगो लगाइने समितिका प्रवक्ता पौडेलले बताए ।

कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पौडेल, आनन्द ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।

कांग्रेसको १४ औं महाधिवेशनका लागि अगामी साउन १२ गते वडा समितिको अधिवेशन, साउन १६ गते गाउँ नगर समितिको अधिवेशन, साउन २० गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, साउन २३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, साउन २६ गते एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशनको मिति तय गरिएको छ ।

आगामी भदौ १ र २ गते प्रदेश समितिको अधिवेशन र भदौ १६ देखि १९ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।