• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

त्रिमूर्तिमा १३९ औँ लेखनाथ जयन्ती सम्पन्न



काठमाडौँ । त्रिमूर्ति निकेतनले कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औँ जन्मजयन्ती मनाएको छ । निकेतनका अध्यक्ष इन्दिरा प्रसाईंले कविशिरोमणिको १३९ औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो ।

सोही अवसरमा उहाँले नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभयो ।

त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका अध्यक्ष प्रसाईं, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा. केशव सुवेदी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईंले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जली हो भन्नुभयो ।

कार्यक्रममा गीता निरौला भण्डारी, यादव भट्टराई, ललिता दोषी, भगवती बस्नेतले कविता वाचन गर्नुभएको थियो ।

लेखनाथ पौडयालको सङ्क्षिप्त परिचय

लेखनाथ पौडयालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घौअर्चलेमा भएको थियो । २००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पद्वी र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरिएको थियो ।

लेखनाथ पौडयाल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा २००९ सालमा दार्जीलिङ जाँदा त्यहाँका त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा पौड्याल, सम र देवकोटालाई त्रिमूर्तिको पद्वीले सम्मान गरिएको थियो ।

२०११ सालमा पौडयालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौँमा पौड्यालको रथयात्रा गरिएको थियो । गोपाल पाण्डे असीमको अग्रसरतामा देवकोटा र समसमेत भएर पौडयाललाई रथारोहण गराइएको थियो ।

पौड्यालका डेढ दर्जन जति कृति प्रकाशनमा आएका छन् । ती कृतिहरू नेपाली आधुनिक भाषासाहित्यका अनुपम नमुना मानिन्छन् ।

साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरिएको थियो ।

२०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्यालको देहावसान भएको थियो ।