७ पुष २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काटिनुअघि ती सैनिकले के भने ?



अ+ अ-

नाम :  समर बिक्रम सिं थापा, रणकेशर बिष्ट, रण जं थापा, शम्शेर जं थापा, फौदसिंह गुरुंग, पहलमान कार्की, नरबहादुर बिष्ट, रणदल कार्की, सुर्जेप्रताप बिष्ट, संसार बिक्रं थापा, इन्द्र सिं टण्डन, श्री बिक्रं थापा, वक्रवार शाही, भोजराज बिष्ट, अम्बर बिक्रं सिं थापा,  रणध्वज अधिकारी, बांका खत्री, जंग बिक्रम पांडे,  संग्रामसुर बिष्ट, अमृत सिं अधिकारी,  वीरमान सिंह बस्नेत, लोकबहादुर थापा लगायत अन्य

पदःकप्तान, लेफ्टिनेण्ट, मेजर, सुबेदार, ईन्सानयेन, मेजर कप्तान, कर्णेल, अजिटन आदि

योगदान : सैनिक सेवा

प्राणदण्ड दिइएको-काटिएको मिति: बि.सं.१९३८ साल

अभियोग :राजा, श्री ३ तथा प्रधानमन्त्री र प्रधानसेनापतिको हत्या प्रयास गरेको

घटना विवरण

बि.सं. १९३३ फागुन १३ गते प्रधानमन्त्री तथा पछि श्री ३ महाराज घोषित जंगबहादुर कुंवर राणाको मृत्यु भयो । उनको मृत्युपछि प्रधानसेनापति पदमा रहेका जंगबहादुरका भाई रणोद्धपसिंह कुंवर राणा प्रधानमन्त्री तथा श्री ३ महाराज तथा सर्वाेच्च प्रधानसेनापति र जंगबहादुरका भाई जगतशम्शेर प्रधानसेनापति र कान्छा भाई धीरशम्शेर कुंवर राणा प.क.ज.अर्थात जङ्गीलाठ भए ।

जंगबहादुर कुंवर राणाले श्री ५ सुरेन्द्रबाट बि.सं.१९१३ साल साउन २४ गते श्री ३ को लालमोहर र खिताव पाउंदा सो पद जंगबहादुरका छोरा र नातीहरुले मात्र पाउने वाक्य उल्लेख थियो ।जंगबहादुरका छोराहरु जगतजंग, जितजंग र पद्यम जंगहरु बाबुको मृत्युपछि आफै राज्यका सर्वेसर्वा हुने र काका तथा तिनका सन्तानलाई सत्ताबाट पाखा लगाउने सोचमा थिए । राजा सुरेन्द्रका छोरा तथा उत्तराधिकारी युवराज त्रैलोक्यले जंगबहादुरकी छोरीसंग विवाह गरेका र राजा सुरेन्द्रकी छोरीसंग जंगबहादुरका छोराहरुले विवाह गरेकाले उनीहरुबीच निकटता थियो । यो कुरा जंगबहादुरका भाई र भतिजहरु जान्दथे । जंगबहादुर जिवित छउन्जेल उनका सामु सबै चुप थिए तर रोलक्रमको अनियमितताबारे भाई भतिजाहरुमा भित्रभित्र सबैमा असन्तोष थियो ।

यसैबीच शिकारमा जादां अचानक जंगबहादुरको मृत्यु भयो । जंगबहादुरका केही श्रीमती र हजुरिया तथा तत्कालीन प.क.ज.जगतशम्शेर(जंगबहादुरका भाई) का छोरा अम्बरजंगले जंगबहादुर मरेको खबर सुटुक्क आफ्नो बाबुलाई मात्र पुग्नेगरी सैनिक हुद्धा यमबहादुर कार्कीको हात पठायो । का.मु.प्रधानमन्त्री रणोद्धीपसिंह, जगतशम्शेर र धीरशम्शेरले योजना बनाई राजाका छोरा र जंगबहादुरका छोरालाई पत्थरघट्टा जंगलमा जंगबहादुर शिकिस्त बिरामी भए भनी सबैलाई तराईतर्फ लगे र यता जगतशम्शेर र रणोद्धीपसिंह मिलेर राजा सुरेन्द्रसंग जंगबहादुरले पाएका सबै लालमोहर तथा कागजात हातपारी रणोद्धीपसिंह कुंवर राणालाई श्री ३ महाराज, प्रधानमन्त्री तथा सर्वाेच्च प्रधानसेनापति घोषणा गरे । उनका भाई जगतशम्शेर प्रधानसेनापति बनाईए । तबमात्र जंगबहादुरको मृत्यु भै सकेको सत्य सार्वजनीक गरियो । युवराजहरु र जंगबहादुरका छोराहरु जिल्ल परे ।

जंगबहादुरको मृत्युको केही समयपछि बि.सं.१९३४ सालमा युवराज त्रैलोक्यको मृत्यु भयो । बि.सं.१९३६ मा प्रधानसेनापति जगतशम्शेरको मृत्युपछि कान्छा धीरशम्शेर प्रधानसेनापति भए । जंगबहादुरका छोरा जगतजंग प.क.ज.तथा जंगीलाठ भए । बि.सं.१९३८ साल बैशाख ११ मा राजा सुरेन्द्रको मृत्यु भै सकेको थियो । उनका उत्तराधिकारी त्रैलोक्य पहिल्यै मृत्युभएकाले त्रैलोक्यका नावालक छोरा पृथ्वीवीर बिक्रम शाह राजा थिए ।

बि.सं.१९३८ साल पुष ४ गते त्यतिबेलाका शक्तिशाली श्री ३ तथा प्रधानमन्त्री रणोद्धीपसिंह कुंवर राणा तराईमा शिकारमा गएका थिए । काठमाडौंका सर्वेसर्वा उनका कान्छाभाई तथा प्रधानसेनापति धीरशम्शेर कुंवर राणा का.मु.प्रधानमन्त्री थिए । पुष २२÷२३ मा स्व.जनरल गगनसिं भण्डारीका नाति लप्टन उत्तरध्वज भण्डारीले धीरशम्शेर सामु एउटा गोप्य योजनाको जानकारी गराए ।

सो योजना अनुसार राजा, श्री ३ र प्रधानसेनापतिको हत्या गर्ने । राजा स्व.त्रैलोक्यका माईला भाई नरेन्द्र हुने । जंगबहादुरका छोरा जगतजंग श्री ३, प्रधानमन्त्री तथा सर्वाेच्चप्रधानसेनापति हुने । जगतजंगका भाई पद्मजंग द.क.ज. हुने तय रहेछ । सो घटना सार्वजनिक हुंदा जगतजंग आखां उपचारका लागि भारतमा थिए ।

घटना कसरी सार्वजनीक भयो ?

लप्टन उत्तरध्वज भडारी धीरशम्शेरको निवासको सुरक्षा गारद (सैनिक टोली) का कमाण्डर थिए । उनकी दिदी धीरशम्शेरका दाजु बद्रीनरसिंह कुंवर राणाकी श्रीमती थिईन । उत्तरध्वज भडारीले बाटो छाडिदिएमा जो व्यक्तिले जुनसुकै समय धीरशम्शेरसमक्ष गई प्रहार गर्न सक्दथ्यो । तसर्थ राजकुमार नरेन्द्रबिक्रम शाहले यिनलाई आफ्नो पक्षमा पार्न फकाएका रहेछन् । यिनि उमेरमा कच्चा थिए । नरेन्द्रबिक्रम शाहले आफ्नो योजना पुरा भएपछि जनरल दिने र हाल कर्णेल दिएं भनी सो को प्रतिक चाँद तोडाको बदलामा बहुमुल्य मोतिको हार दिएका रहेछन् । अपरिपक्व कच्चा उमेरको उत्ताउलो हुदां“ उक्त मोतिको हार फुपुलाई देखाएछन् । बहुमुल्य हार कसरी मिल्यो ? भनी खोतल्दै जादां“ उत्तरध्वजले सो कुरा गोप्य राख्न नसकि यिनले षडयन्त्रको सबै यथार्थ बद्रीनरसिंह कुंवर राणाकी श्रीमती तथा आफ्नी फुपुलाई सुनाएछन् ।

बद्रीनरसिंहकी श्रीमतीले आफ्नो भदा उत्तरध्वज भडारीलाई साथैलिई प्रधानसेनापति धीरशम्शेर समक्ष गएर सबै तथ्य बताईन् ।

नरेन्द्रबिक्रम शाहको योजना पुष २९ गते राति उनैको महलमा गई धीरशम्शेरको हत्या गर्ने, नावालक राजा पृथ्वीवीरबिक्रम शाहको हत्या गरी आफु राजा हुने । जगतजंग लाई श्री ३ तथा प्रधानमन्त्री बनाउने, पद्मजंगलाई जंगीलाठ बनाउने थियो ।

सो जानकारी पाउनसाथ काठमाडौंमा रहेका र घटनामा सहभागी भएका भनिएकाहरुलाई पक्राउ गरी धीरशम्शेरले कैद गरे । शिकारमा रहेका रणोद्धीपसिंहलाई लिन पठाए । रणोद्धीपसिंह कुंवर राणा काठमाडौं आएपछि सो घटनामा सहभागि भएकालाई दोषी ठहर गरी बिभिन्न घाटहरुमा काटेर मृत्युदण्ड दिईयो ।

बि.सं. १९३८ माघ १२ गते सोमबार भादगाउं षस्यां षुसुंमा काटिएका

कप्तान समर बिक्रम सिं थापा
लेफ्टिनेण्ट रणकेशर बिष्ट
रण जं थापा
सोही दिन धोवी खोलामा काटिएका
मेजर शम्शेर जं थापा
कप्तान फौदसिंह गुरुंग
सुबेदार पहलमान कार्की
सोही दिन शंखमुलमा काटिएका
कप्तान नरबहादुर बिष्ट
ईन्सानयेन रणदल कार्की
लेफटेन सुर्जेप्रताप बिष्ट
मेजर कप्तान संसार बिक्रं थापा
कर्णेल ईन्द्र सिं टण्डन

सोही दिन टेकुमा काटिएका

कर्णेल श्री बिक्रं थापा
कप्तान वक्रवार शाही
कप्तान भोजराज बिष्ट
कर्णेल अम्बर बिक्रं सिं थापा
सोही दिन भच्चाषुसी (भाताखुशी) मा काटिएका
कप्तान रणध्वज अधिकारी
अजिटन बांका खत्री
सुबेदार जंग बिक्रम पांडे
मेजर संग्रामसुर बिष्ट

बि.सं. १९३८ साल फागुन २ गते आईतबार शंखमुलमा काटिएका

कर्णेल अमृत सिं अधिकारी
कर्णेल वीरमान सिंह बस्नेत
सुबेदार लोकबहादुर थापा

माथि उल्लेखित बाहेक बाबुराम आचार्यले ‘अब यस्तो कहिल्यै नहोस्’ पुस्तकमा लप्टन सेते बिष्ट, सुबेदार योगवीक्रम पांडे, कप्तान बख्तवार शाही, लप्टन छत्रध्वज शाही आदि थप व्यक्तिलाई बिभिन्न स्थानमा लगेर काटीएको उल्लेख गरेका छन् ।

यस पर्वलाई नेपालको इतिहासमा ३८ सालको पर्वले चिनिन्छ । सो पर्वमा दोषी ठहरीई काटीने सैनिकको उपरोक्त विवरण इतिहासकार पुरुषोत्तम शम्शेर जबराद्धारा लिखित श्री ३ हरुको तथ्य वृतान्त नामक पुस्तकबाट उदृत गरिएको हो । इतिहासकार बालचन्द्र शर्माले नेपालको ऐतिहासिक रुपरेखामा सो पर्वमा कुल ४१ जना काटीएको उल्लेख गरेका छन् ।

सो पर्वमा पूर्वप्रधानमन्त्री माथवरसिंह थापाको परिवारप्रतिको द्धेषको बदला स्व.जनरल गगनसिंह भंडारीका नाति उत्तरध्वज भण्डारीले राम्ररी लिए । उनले बताएका बेरोहाका आधारमा माथवरसिंह थापाका छोराहरु कर्णेल श्रीबिक्रमसिंह थापा, कर्णेल अमरबिक्रम थापा र कर्णेल संसारबिक्रम थापाले ज्यान सजांय पाए । यथार्थमा सो योजनामा उनीहरुको दोष थियो वा थिएन ? यसतर्फ राम्ररी छानवीन भएन ।

स्व.जंगबहादुरका छोरा जगतजंग र स्व.त्रैलोक्यका भाई नरेन्द्रबिक्रम शाहको योजना रहेको भनिएको सो पर्वमा योजना बनाउने र राजा तथा श्री ३ महाराज बन्ने तयारी गर्नेहरुलाई दण्ड नदिइ, निरीह, आयुधजिवी देशभक्त, निर्दाेष सैनिकलाई ज्यान सजांय दिएर गौरव गर्ने तत्कालीन कुंवर राणाको न्याय प्रणाली संसारकै नौलौ र हास्यास्पद थियो ।

काटिनुअघि ती सैनिकले के बोले ?

अठ्तीस् साल पर्वमा काटीने सैनीकहरुले आफुलाई काट्नु अघि के भन्दा रहेछन् ? भनी राणाहरुले कोही मानिस खटाएका रहेछन् । उनीहरुले नम्र भएर आफुलाई दिएको मृत्युदण्डको सजांयका बारेमा जिज्ञासा राख्दा जे जे शव्द ओकले, तिनको टीपोट गरिएको रहेछ । जुन टीपोट जंगी अड्डामा रहेको पुराना ऐतिहासिक प्रमाणहरुको संग्रह, फाईल नं.१८ मा संग्रहीत छ । जसलाई समय समयमा बिभिन्न ईतिहासकारहरुले आफ्ना पुस्तकहरुमा समावेश गरेको पाईन्छ । उक्त टीपोटको केही अंश यहां ः प्रकाश वस्तिले सम्पादन गर्नुभएको कानुन सम्बन्धि केही ऐतिहासिक अभिलेखहरु पुस्तकबाट लिईएको छ । सो पुस्तक.कानुन व्यवसायी क्लब, काठमाडौंले प्रकाशन गरेको हो ।

कप्तान समरबिक्रम सिं थापा  ……

बाटामा जादां यो काम गर्न आंटदैमा परौंला भनी जान्याकै हो । आज मरिन लाग्यौं अ‍ैझयारु पांडे भनी भन्या काटीने बेलामा मेरा ताना बाना संसार बिक्रं महां रामे भन्याका केटासंग छ मागी जंगी अड्डामा बुझाई दिनु दोलाई चिन्हो भनी लगी दिनु भन्थ्या १ चोटमा छिनिदे भनी पोढ्यालाई मो रु.१।। दीया ३ चोटमा शीर छुटियो ।

(रपोट बोल्न्या पुगौ ( अं.करवीर राना)

लप्टन रनकेशर बिष्ट …….

सोही व्यहोरा । काटीने बेलामा हुकुमले मर्नुपर्यो भनी भन्या बाटामा धोवि षेला संम पुग्दा पल्टनलाई सापटी झिक्दा मेजर बिरामी हुनाले मेरो नाउको तमसुक गरी रुपैया झिक्याको छु जाहान नमरुन भनी भन्या कर्णेल अमृतले आफु मर्न लाग्या पछी के भंदा भनी जवाफ दींदा चुप लाग्या २ चोटमा शीर टुटीयो (रपोट बोल्न्या ऐ.) ।

कप्तान फौदसिंह गुरुङ …….

मैले गराया बिरायाको होईन केटाले समाचार ल्यायाको हो जाहेर नगर्दा उसैका हुलले मर्नु पर्यो हक मर्ने पर्दथ्यो पर्यो हे पहल्मान रामनाम भज भन्यो मलाई छुन अरुलाई नलिनु काजकृया गराई दिनु बाहिर राष्याकी कांछी स्वास्नीलाई घरै गै बस्नु भनी चिन्हो वषु लगी दिनु भनी यकै चोटमा छीनी दीयेस भनी पोढेलाई रु.५ दीयो १ चोटमा शीर छीनीयो ( रपोट बोल्न्या पुगो छ अं. सींध वीर थापा) ।

सुबेदार पहलमान कार्की ……

बाटामा जादां मैले बिरायाको होईन भन्या नसीब यस्तै रहेछ होमनाथले होम्यो असल षुकुरीले छीन्यां गरी हानी दे भनी पोढयालाई मो रु १ ।। दीयो १ चोटमा सीर छुट्यो (ऐ) ।

मेजर कप्तान शम्शेर जं थापा …….

बाटामा केही बोल्यानन् ओठ चलाई मात्र रह्या यकै चोटमा छीनी दीनु भनी १।। मो रु पोढयालाई दीया यकै चोटमा सीर छुट्यो (ऐ.) ।

कप्तान नरबहादुर बिष्ट ……..

बाटामा माला जप्दै गया रानीपोखरी नेरा पुग्दा उत्तरतर्फका कमाडींग जनरलका सवारी बगीमा भयो र मेरा जहान परीवार हजुरका पीछामा छन् भनी वितिं गर्या मर्जी केही नभै बगी बढाई बक्सीयो त्रीपुरेश्वरमा पुग्दा कर्णेल ईन्द्रसिंलाई फर्काउन पर्ष पर्ष भन्दै रिसल्ला आयो र याहां किन पर्षु चाडो जाउ भनने घाटमा पुग्या पछी पनि जोगीका हातबाट विभुत मागी ल्याउन भनी मागन पठायो टोपी झिकी हात गोडा मुख धोई विभुत घसी माला जपे वाहां पछी बुढा बुढाले थुतुनो र छुचुनो बचाउनु भन्या आज हेर आफ्नै थुतुनोले गर्दा हामी मर्न आंट्यौ अब हामीले भन्याको माने थुतुनो छुचुनो बाचय भनी सबैलाई सुनाया पोढ्याले समाउन्या बेलामा पर्ख भनी पानी षाया ४÷५ रुपैया सबैले बांडी लिनु भनी पोढयालाई दीया आफैंले घोडा टेकी बसी मेरा अगाडी पानी आउन्या गरी षाडल खनीदेउ भनी षाडल खन्न लाया फेरी तेर हातबाट मर्नु पर्यो छीन्यां गरी हान प्रभु दुःष नदीयास् भनी लागन्या षुकुरी खुुकुरी देउ भनी माग्या राम नाम जप्दै रहया यक चोट हान्दा २ अंगुल काट्यो र आफैंले हेरी हान भनी भन्या दोश्रा चोट हान्दा चीत षाया तेश्रा चोटमा सीर छुटीयो (ऐ. राज ७ ज्या.जमान्सी.थापा)

 लप्टन सर्जेप्रताप बिष्ट ……

बाटामा रुंदै गया काटने बेलामा पनि दुःष नदीकन काट भनी रुंदै भन्यो यक चोट हान्दा करायो आठ चोटमा सीर छुटीयो ( ऐ.ऐ.) ।

मेजर कप्तान संसार बिक्रं थापा …….

बाटाभरी रुंदै गया घाटमा पुग्यापछी मुष धाकी घोपटया काटन्या बेलामा यस्तो दुःष नदीयास प्रभु यकै चोटमा छीनीदेउ भनी असल षुकुरी देउ भन्थ्यो यक चोट हान्दा उं भंन्या सोर गर्या आठ चोटमा स्रि छुटीयो (ऐ.) ।

कर्णेल श्री बिक्रं सिं थापा ……

बाटाम केही बोल्यानन घाटमा पुग्यापछी मुष धोया बाहुनसंग मागी बिभुत धस्या तुल्सी पत्र मुषमा हाल्या हे भाई हो मैले करनीमा बिगार्याको होईन कहनी मात्र चुक्दा ज्यान गयो भनी यकै चोटमा छींदास भनी पोढयालाई भन्या केही बेर जप गर्या वाहांपछी सोझीयो यकै चोटमा सीर छुटीयो ( रपोट बोलन्या राज ३ ज्मा रणवीर षतृ) ।

कप्तान वक्रवार शाही …….

बाटामा हे भाई येक पटक मर्नु पर्दथ्यो मर्न आंटीयो राम नाम भज अरु कुरा नगर घाटमा पुग्या पछी ऐ.बेहरा सदर ३ चोटमा सीर छुटीयो ( ऐ.) ।

कप्तान भोजराज बिष्ट …….

बाटामा हे भाई जन्म्यापछी मर्नु पर्दथ्यो मर्न लाग्यौं पिकरी छैन भंदै गया सात धारा नेर पुग्यापछी उसका घरका मानिससंग भेट भयछ र जग्गा जमीनको याद गरेस भनी अराया घाटमा पुग्यापछी हात खुट्टा धोया वाहुनसंग मागी विभुत लाया तुल्सी पत्र मुषमा हाल्या ४ चोटमा सीर छुटीयो ( ऐ.) ।

कर्णेल अम्बर बिक्रं सिं थापा ……..

बाटामा अरु कुरा गरेन सीव सीव भन्दै गया घाटमा पुग्यापछी लायाको लुगा फुकाली तलाई भो भनी पोढयालाई दीया विभुत लाया तुल्सी पत्र मुषमा हाली जय गर्यो आफुले लायाको अगुठी फुकाली काटन्या पोढयालाई दीया जंत्र लायाको झिकी बाहुनलाई दीया २ चोटमा सीर छुटीयो ( ऐ.) ।

कप्तान रणध्वज अधिकारी ……..

बाटामा संग्रमसुरसंग फर्कि यस्तै भो हामीले मर्नु पर्यो भनी तर्वारले नकाटनु षुकुरीले काट भनी मैले लायाको लुगा छ लैजा भनी पोढयालाई दीया म केही दिन सक्तिन भने छिन्ने गरी काट भनेथ्यो यक चोटमा सीर छुट्टीया ( रपोट बोलन्या मही १० अं.कृस्नधोज थापा) ।

अजिटन बाकां षतृ ……..

बाटामा केही बोलेनन पोढेलाई मोरु ।। दीई छीन्या गरी काट भनी भन्या यक चोटमा सीर छुटीयो (ऐ.) ।

सुबेदार जंग बिक्रं पांडे ……..

……. सीपाही हुं लडाई गर्नु पर्दथ्यो काम सीध्याउन सकेको भया भयन गन्र्या थियौं काम सीध्याउन नसक्दा मर्न पर्यो जुन ठाउंमा जन्म्यौं उसै ठाउंमा मर्यौं यसमा फिकरी छैन शोभाभगवती चढाई दिनु भनी मोहरु १ दीयो आठ चोटमा सीर छुटीयो ( ऐ.) ।

मेजर संग्रामसुर बिष्ट  ……
…. केही बोलेनन् २ चोटमा सीर छुटीयो (ऐ.) ।

सुबेदार लोकबहादुर थापा ……..
बाटामा जादा मेरो सुमेर्नीको माला वह्यानमा रह्यो मेरो लट्टी पट्टी सके आमालाई दीनु नसक्या भाई धनमान धोज वाही छ उसैलाई दीनु टुकुचा पारी पुग्यापछि मोहरु २ को साट्दै गीता पाठ गर्दै गया घाटमा पुग्या पछी मुष धोई मोहरु ४ दान गरी वाहुनलाई दीया नयां धोती किन्न पठाई फेर्या केही बेर जप गर्या छीन्या गरी काट भनी पोढयालाई कम्पनी रु ५ दीया ………..  हाम्रो उस जन्मको कमाईले २५ वर्षमा मर्नु पर्यो आषाढमा बिह्या गर्याको पाप लाग्यो यतिज्याल तिम्रो हाम्रो भेट थिएन आज भेट भयो तिमि हामी संसगै जाउला कि भनी अमृत वीरमान्सीं लाई भन्या वाहां पछी वैतर्नी दान भनी कम्पनी रु २ ।। गोदान भनी २ ।। दान गरी बाहुनलाई दीया जल मागी आगामा सेचन गर्या भन्या पछी कसैलाई छुन नदीनु भन्या अन्त लगी पनी नजलाउनु भनी केटालाई अराया मलाई काटदा सबैले राम नाम बोली दिनु भनी भन्या आफुले पनि राम नाम भन्दै बस्या १ चोटमा सीर छुटीयो ( रपोट बोलन्या राज ४ अं.रण बं. थापा) ।
देशको रक्षा र देशवासिहरुको सुरक्षा गर्ने कशम खाएर राष्ट्रसेवक सैनिक बनेका सैनिकहरुले कस्ता आरोपको सामना गरेर कति निर्दयताका साथ जीवन गुमाउनु पर्यो ? माथिको घटनाक्रमले छर्लङ्ग पारेको छ । आफुलाई मार्ने षडयन्त्र गरेको आरोप लगाउनु र सैनिक व्यक्तिहरुको गर्धन छिनाल्नु बोका काटेभन्दा साधारण रहेको राणाकालीन शक्ति उन्मादबाट जान्न सकिन्छ ।

लेखक मोहन थापाको पुस्तकः ती सैनिक (मृत्युदण्ड दिइएका, हत्या गरिएका र आत्महत्या गर्न वाध्य पारिएका नेपालका सैनिक) पृ. १९०–१९९ बाट साभार ।