२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासका लागि नागरिकसहितको साझेदारी आवश्यक छः मुख्यमन्त्री भट्ट



अ+ अ-

गोदावरी । सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि नागरिकसहितको साझेदारी आवश्यक रहेको बताउनुभएको छ । धनगढी उपमहानगरपालिकाले आज आयोजना गरेको मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्मान तथा धन्यावद ज्ञापन कार्यक्रममा उहाँले विकासका लागि सबैको साझेदारी आवश्यक रहेको बताउनुभयो ।

नागरिकलाई विकासमा जोड्नुपर्ने बताउँदै उहाँले नागरिकलाई विकासमा सहभागी गराउन सकिएन भने विभिन्न बाधा अवरोध देखापर्ने बताउनुभयो । विकासमा परिणाम देखाउन नागरिक सहभागिता आवश्यक रहेकाले नागरिक सहभागिताबिना विकास निर्माणका कामले गति लिन नसकिने अनुभवले देखाएको मुख्यमन्त्री भट्टले उल्लेख गर्नुभयो । उहाँले धनगढीको मुख्य सडक फराकिलो बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री भट्टले धनगढीको विकासका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्यको सुरुआत भएकामा खुसी व्यक्त गर्नुभयो ।

प्रदेश सरकार गठन हुँदा नै स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्न खोज्दा धेरैले स्वीकार गर्न नसकेको उहाँको भनाइ थियो । “प्रदेश सरकार गठन भएदेखि नै समन्वय र सहकार्यको सुरुआत गर्न खोजेको हो”, उहाँले भन्नुभयो, “एक अर्कोको अस्तित्व स्वीकार गर्न नसक्दा सोचेअनुसार भएन । अहिले धनगढी उपमहानगरबाट सुरुआत भएको छ । यो राम्रो पक्ष हो ।” स्थानीय सरकारसँग साझेदारबिना विकासका कार्यक्रम सम्भव नभएको उहाँको भनाइ थियो ।

“बजारमा धेरै विकासका कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकारको सहयोगबिना सम्भव छैन”, उहाँले भन्नुभयो, “धनगढीको मुख्य सडक क्षेत्राधिकार खाली गर्नमा अहिलको नेतृत्वलाई धन्यवाद दिनुपर्दछ ।” धनगढीको मुख्य सडक निर्माणका लागि सडकको क्षेत्राधिकार खाली गराउने कार्य तीव्ररूपमा भइरहेको छ । त्यो सडक निर्माणका लागि प्रदेश सरकारले बजेटसमेत छुट्याइसकेको छ ।

दुई हप्तामा नै बोलपत्र हुने सुदूरपश्चिम प्रदेश सरकारले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीले धनगढीको मुख्य सडक १५ दिनभित्र बोलपत्र आह्वान हुने बताउनुभएको छ । धनगढीको मुख्य सडक क्षेत्राधिकार गराउने कार्य तीव्ररूपमा भइरहेको छ ।