पर्सा । जिल्लाका स्थानीय तह, विभिन्न सामाजिक सङ्घसंस्था, उद्योगपति तथा समाजसेवीहरूले भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन् ।
प्राकृतिक विपद्का कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले आज ‘क्वेस्ट फार्मास्युटिकल्स प्रालि’ ले रु ११ लाख एक हजार सहयोग गरेको छ । संस्थापक तथा निर्देशक सञ्चालन पृथ्वीराज भण्डारी (निजु)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम गर्नुभएको हो ।
त्यसैगरी, थारू कल्याणकारिणी समिति, पर्साले पनि रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १५ हजार जम्मा गरेको छ । वीरगन्जस्थित सामाजिक संस्था सानो पाइलाले प्रभावित रसुवाको उत्तरगया गाउँपालिकामा पुगेर तीन दिनदेखि प्रभावित परिवारलाई राहत तथा खाद्यान्न सहयोग गर्दै आएको छ । पटेर्वा सुगौली गाउँपालिकाले बाढीपीडितलाई रु पाँच लाख आर्थिक सहयोग गरेको छ ।
त्यसैगरी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ पर्साले रु १५ लाख एक हजार १०१ आर्थिक सहयोग गरेको छ । पर्साको कालिकामाई गाउँपालिका-१, मुड्लीस्थित श्री जनता माध्यमिक विद्यालयले रु १८ हजार १०० बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ ।
वीरगञ्जस्थित चाचान समूह र मारवाडी सेवा ट्रष्ट वीरगञ्जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल रु ५२ लाख ११ हजार सहयोग गरेका छन् । ठोरी गाउँपालिकाले रु ११ लाख सहयोग गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले रसुवा, नुवाकोट र धादिङमा भएको बाढी-पहिरो प्रभावितका लागि राहत सङ्कलन केन्द्र स्थापना गरी राहत सङ्कलन गरिरहेको छ ।
जिप्रकाले खाद्यान्न, लत्ताकपडालगायत आवश्यक राहत सामग्री सङ्कलन गर्ने कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो । प्रहरीका अनुसार हालसम्म प्राप्त विवरणअनुसार भोटेकोशी बाढीमा परी पर्साका ३८ जना अझै सम्पर्कविहीन छन् । रासस









