२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बिराटनगरबाट ‘मानवताको लागि संगीत’को भब्य सुरुवात

बिराटनगरबाट ‘मानवताको लागि संगीत’को भब्य सुरुवात
अ अ+ अ-

बिराटनगर । दुइ दसकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानको क्रममा कार्यक्रम गरेको बिराटनगरबाटै लोकरक ब्याण्ड नेपथ्यले ‘मानवताको लागि संगीत’ अभियानको भब्य सुरुवात गरेको छ ।

अभियानको पहिलो ध्वनी शुक्रबार बेलुकी यहाँस्थित हाटखोला मैदानमा फैलिँदा हजारौं दर्शकहरुको उत्साह मिश्रित आवाजले रंगेली जोड्ने सडक वरपरका सिंगो भेग गुञ्जायमान भएको थियो ।

अघिल्ला कन्सर्टहरुभन्दा बेग्लै यसपाला नेपथ्यले पहिलो गीतै ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत ग¥यो । गाउनुअघिको धुनमा परिमार्जनसहित केहि नयाँपन दिएर सुरुगरिएको उक्त गीतदेखि नै सुरुभएको दर्शकहरुमा तीब्र तापक्रम कन्सर्टको अन्तिमसम्मै जारी देखिन्थ्यो । दर्शकहरुमा सुरुदेखि जागेको तापक्रमलाई निरन्तरता दिनकै निम्ति दोश्रो गीतमा ‘छेक्यो छेक्यो’, तेश्रो ‘लामपाते सुरती’ र त्यसपछि पनि ‘चरि म¥यो’ र ‘जोमसोमे बजारमा’ जस्ता गीतहरुको निरन्तरतासाथ अघि बढाइएको थियो ।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले बारंबार मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । ब्याण्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितहरुको तस्बिर सहितका दृश्यहरुबाट प्रस्तुत गरिएको थियो ।

‘अर्को जुनी छ कि छैन थाहा छैन,’ उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने यसै जुनीमा र आजैबाट दान गर्न सुरु गरौं ।’ गायक गुरुङले चुनावपछि फेरि समाजमा एकताको आव्हान गर्दै त्यसले नै स्थिरता र विकास दिने तर्क पनि राखेका थिए ।

बिराटनगरकै सरकारी स्कुल श्री गोग्राहा उच्चमाविकी पूर्व प्रधानाध्यापिका मिना जोशी यस स्थानमा फेरि नेपथ्यलाई पाएर अत्यन्तै खुशी देखिन्थिइन् । ‘आजभन्दा २० वर्षअघि मेरो स्कुलको अवस्था अत्यन्तै जर्जर बन्नपुगेको थियो,’ जोशीले भनिन्, ‘त्योबेला नेपथ्यले बिराटनगरमा गरेको कन्सर्टकै आम्दानीबाट भरथेग पाएको त्यो स्कुल अहिले उच्च तहमा उत्कृष्ठ अध्ययन अध्यापन गराउनसक्ने अवस्थामा पुगिसकेको छ ।’

यतिबेला बिराटनगरको विभिन्न क्षेत्रमा सेवारत उच्च ओहदाका व्यक्तित्वहरु त्यसै विद्यालयका उत्पादन भएको देख्दा आफुलाई गौरव लाग्नेगरेको जोशीले बताइन् । ‘नेपथ्यको संगीतले यसरी शिक्षा क्षेत्रलाई दिएको योगदानको यत्रो उदाहरण हामी आफैँ भएका छौं,’ जोशीले थपिन्, ‘अब आएर यो ब्याण्डले मानवताको क्षेत्रमा पनि सहकार्य गर्नलागेको देख्दा असाध्यै खुशी भएकी छु ।’

सडकमा आश्रित मानिसहरुलाई ओत र खाना दिएर पुण्य कमाइरहेको मानवसेवा आश्रम र संगीतका माध्यमबाट समाजको हितमा समर्पित नेपथ्य दुवै परोपकारी चरित्रका संस्था भएकाले यसको समिश्रणबाट सिँगो नेपाली समाज लाभान्वित हुने विश्वास पनि जोशीले ब्यक्त गरिन् ।

कन्सर्टमा पहिलो लहरमै बसेर नृत्यरत एक परिपक्व अनुहार पनि देखिन्थ्यो । उनी थिए स्थानीय समाजका अर्का परिचित व्यक्तित्व डा। हेमसागर रिमाल । रिमाल यहाँस्थित बिराट मेडिकल कलेजका प्रिन्सिपल हुन् । तर, नेपथ्यसँगको उनको साइनो अलिक पुरानै रहेछ ।

करिब डेढ दसकअघि उनी अष्ट्रेलियाको मेलबर्नमा राम्रै अभ्यास गरिरहेका डाक्टर थिए । त्यतिबेलै एकदिन त्यहाँ नेपथ्य ब्याण्डको कन्सर्ट आयोजना भयो । कन्सर्टमा डा. रिमाल पनि पुगेका थिए ।

‘त्यतिबेलै गायक अमृत गुरुङले मञ्चबाट देश बनाउनका लागि सबै नेपालीहरु स्वदेश फर्केर आउनुपर्ने आव्हान गर्नुभयो,’ डा। रिमालले थपे, ‘मेरा आफ्नै केहि पारिवारिक कारणले पनि नेपाल फर्कने परिस्थिती बनिरहेको बेला अमृतजीले बोलिदिएको त्यो वचनले आगोमा घिउ थपिदिएजस्तै भइदियो ।’ यसरी आफुजस्ता विदेशमै व्यावसायिक जीवनमा ब्यस्त मानिसलाई स्वदेश फर्काउने भावना फैलाउन सक्नु नेपथ्यको चानचुने गुण होइन भन्छन् डा। रिमाल ।

‘आयोजक मानवसेवा आश्रमको टोली अस्ति कलेजमा आएर नेपथ्यको नाम लिनेबित्तिकै पुराना दिनको सम्झनाले मेरो रौं ठाडो भएजस्तो महशुस भयो,’ डा। रिमालले थपे, ‘त्यसपछि आयोजकहरुलाई विद्यार्थीहरुका माझमा लगेर म आफैँले नेपथ्यको बारेमा सुनाएँ जुन प्रकारको काम मैले पहिलोपटक गरेको थिएँ ।’ नेपथ्य आफुहरुको पुस्तालाई संगीतले बाँध्ने मात्र नभएर समुन्नत समाजको निम्ति पनि लागेको ब्याण्ड भएका हुनाले बेग्लैखाले सन्तुष्टि मिलिरहेको पनि डा। रिमालले प्रतिक्रिया दिए ।

कन्सर्टको अन्त्यतिर ‘गाउँ गाउँबाट उठ’ गाउन सुरुगरेपछि हाटखोला मैदानका धुलोले आकाश छेक्लाजस्तै गरि जताततै मानिस नाच्न सुरुगरेका थिए । त्यसलाई ‘रेशम’ र ‘तालको पानी’बाट अघि बढाउँदै अन्त्यमा सँधैजस्तै नेपथ्यले ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरेको थियो । त्यतिबेला मुलुकप्रतिको भावनाले ओतप्रोत दर्शकहरु जताततै राष्ट्रिय झण्डा बोकेर नृत्य गरिरहेको देखिन्थ्यो ।

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।
संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्ट बिराटनगरमा सफलताका साथ सम्पन्न भएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताएका छन् । यसका निम्ति उनले सबै सहयोगीलाई धन्यवाद ब्यक्त गरे ।
‘बिराटनगरको कन्सर्टमा भब्य उपस्थितीले मनोरञ्जन र परोपकार दुवैमा सरिक हुनचाहने यस सहरका सहृदयीहरुको पहिचान पनि स्थापित गरेको छ,’ अधिकारीले थपे, ‘यसैगरि मुलुकका अन्य भागमा निरन्तर चल्ने कन्सर्टहरुलाई पनि त्यहाँका मानवताप्रेमी श्रोता दर्शकहरुले सफल बनाउने विश्वास लिएको छु ।’

बिराटनगरको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक, दुइवटा बस र केहि साना सवारीमार्फत् वीरगन्जतर्फ प्रस्थान गरेको छ । मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित आदर्शनगर रंगशालामा नेपथ्य मंसिर १९ गते सोमबार प्रस्तुत हुँदैछ ।

तस्बिरहरु: दिपित राज