• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह

बिराटनगरबाट ‘मानवताको लागि संगीत’को भब्य सुरुवात



बिराटनगर । दुइ दसकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानको क्रममा कार्यक्रम गरेको बिराटनगरबाटै लोकरक ब्याण्ड नेपथ्यले ‘मानवताको लागि संगीत’ अभियानको भब्य सुरुवात गरेको छ ।

अभियानको पहिलो ध्वनी शुक्रबार बेलुकी यहाँस्थित हाटखोला मैदानमा फैलिँदा हजारौं दर्शकहरुको उत्साह मिश्रित आवाजले रंगेली जोड्ने सडक वरपरका सिंगो भेग गुञ्जायमान भएको थियो ।

अघिल्ला कन्सर्टहरुभन्दा बेग्लै यसपाला नेपथ्यले पहिलो गीतै ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत ग¥यो । गाउनुअघिको धुनमा परिमार्जनसहित केहि नयाँपन दिएर सुरुगरिएको उक्त गीतदेखि नै सुरुभएको दर्शकहरुमा तीब्र तापक्रम कन्सर्टको अन्तिमसम्मै जारी देखिन्थ्यो । दर्शकहरुमा सुरुदेखि जागेको तापक्रमलाई निरन्तरता दिनकै निम्ति दोश्रो गीतमा ‘छेक्यो छेक्यो’, तेश्रो ‘लामपाते सुरती’ र त्यसपछि पनि ‘चरि म¥यो’ र ‘जोमसोमे बजारमा’ जस्ता गीतहरुको निरन्तरतासाथ अघि बढाइएको थियो ।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले बारंबार मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । ब्याण्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितहरुको तस्बिर सहितका दृश्यहरुबाट प्रस्तुत गरिएको थियो ।

‘अर्को जुनी छ कि छैन थाहा छैन,’ उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने यसै जुनीमा र आजैबाट दान गर्न सुरु गरौं ।’ गायक गुरुङले चुनावपछि फेरि समाजमा एकताको आव्हान गर्दै त्यसले नै स्थिरता र विकास दिने तर्क पनि राखेका थिए ।

बिराटनगरकै सरकारी स्कुल श्री गोग्राहा उच्चमाविकी पूर्व प्रधानाध्यापिका मिना जोशी यस स्थानमा फेरि नेपथ्यलाई पाएर अत्यन्तै खुशी देखिन्थिइन् । ‘आजभन्दा २० वर्षअघि मेरो स्कुलको अवस्था अत्यन्तै जर्जर बन्नपुगेको थियो,’ जोशीले भनिन्, ‘त्योबेला नेपथ्यले बिराटनगरमा गरेको कन्सर्टकै आम्दानीबाट भरथेग पाएको त्यो स्कुल अहिले उच्च तहमा उत्कृष्ठ अध्ययन अध्यापन गराउनसक्ने अवस्थामा पुगिसकेको छ ।’

यतिबेला बिराटनगरको विभिन्न क्षेत्रमा सेवारत उच्च ओहदाका व्यक्तित्वहरु त्यसै विद्यालयका उत्पादन भएको देख्दा आफुलाई गौरव लाग्नेगरेको जोशीले बताइन् । ‘नेपथ्यको संगीतले यसरी शिक्षा क्षेत्रलाई दिएको योगदानको यत्रो उदाहरण हामी आफैँ भएका छौं,’ जोशीले थपिन्, ‘अब आएर यो ब्याण्डले मानवताको क्षेत्रमा पनि सहकार्य गर्नलागेको देख्दा असाध्यै खुशी भएकी छु ।’

सडकमा आश्रित मानिसहरुलाई ओत र खाना दिएर पुण्य कमाइरहेको मानवसेवा आश्रम र संगीतका माध्यमबाट समाजको हितमा समर्पित नेपथ्य दुवै परोपकारी चरित्रका संस्था भएकाले यसको समिश्रणबाट सिँगो नेपाली समाज लाभान्वित हुने विश्वास पनि जोशीले ब्यक्त गरिन् ।

कन्सर्टमा पहिलो लहरमै बसेर नृत्यरत एक परिपक्व अनुहार पनि देखिन्थ्यो । उनी थिए स्थानीय समाजका अर्का परिचित व्यक्तित्व डा। हेमसागर रिमाल । रिमाल यहाँस्थित बिराट मेडिकल कलेजका प्रिन्सिपल हुन् । तर, नेपथ्यसँगको उनको साइनो अलिक पुरानै रहेछ ।

करिब डेढ दसकअघि उनी अष्ट्रेलियाको मेलबर्नमा राम्रै अभ्यास गरिरहेका डाक्टर थिए । त्यतिबेलै एकदिन त्यहाँ नेपथ्य ब्याण्डको कन्सर्ट आयोजना भयो । कन्सर्टमा डा. रिमाल पनि पुगेका थिए ।

‘त्यतिबेलै गायक अमृत गुरुङले मञ्चबाट देश बनाउनका लागि सबै नेपालीहरु स्वदेश फर्केर आउनुपर्ने आव्हान गर्नुभयो,’ डा। रिमालले थपे, ‘मेरा आफ्नै केहि पारिवारिक कारणले पनि नेपाल फर्कने परिस्थिती बनिरहेको बेला अमृतजीले बोलिदिएको त्यो वचनले आगोमा घिउ थपिदिएजस्तै भइदियो ।’ यसरी आफुजस्ता विदेशमै व्यावसायिक जीवनमा ब्यस्त मानिसलाई स्वदेश फर्काउने भावना फैलाउन सक्नु नेपथ्यको चानचुने गुण होइन भन्छन् डा। रिमाल ।

‘आयोजक मानवसेवा आश्रमको टोली अस्ति कलेजमा आएर नेपथ्यको नाम लिनेबित्तिकै पुराना दिनको सम्झनाले मेरो रौं ठाडो भएजस्तो महशुस भयो,’ डा। रिमालले थपे, ‘त्यसपछि आयोजकहरुलाई विद्यार्थीहरुका माझमा लगेर म आफैँले नेपथ्यको बारेमा सुनाएँ जुन प्रकारको काम मैले पहिलोपटक गरेको थिएँ ।’ नेपथ्य आफुहरुको पुस्तालाई संगीतले बाँध्ने मात्र नभएर समुन्नत समाजको निम्ति पनि लागेको ब्याण्ड भएका हुनाले बेग्लैखाले सन्तुष्टि मिलिरहेको पनि डा। रिमालले प्रतिक्रिया दिए ।

कन्सर्टको अन्त्यतिर ‘गाउँ गाउँबाट उठ’ गाउन सुरुगरेपछि हाटखोला मैदानका धुलोले आकाश छेक्लाजस्तै गरि जताततै मानिस नाच्न सुरुगरेका थिए । त्यसलाई ‘रेशम’ र ‘तालको पानी’बाट अघि बढाउँदै अन्त्यमा सँधैजस्तै नेपथ्यले ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरेको थियो । त्यतिबेला मुलुकप्रतिको भावनाले ओतप्रोत दर्शकहरु जताततै राष्ट्रिय झण्डा बोकेर नृत्य गरिरहेको देखिन्थ्यो ।

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।
संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्ट बिराटनगरमा सफलताका साथ सम्पन्न भएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताएका छन् । यसका निम्ति उनले सबै सहयोगीलाई धन्यवाद ब्यक्त गरे ।
‘बिराटनगरको कन्सर्टमा भब्य उपस्थितीले मनोरञ्जन र परोपकार दुवैमा सरिक हुनचाहने यस सहरका सहृदयीहरुको पहिचान पनि स्थापित गरेको छ,’ अधिकारीले थपे, ‘यसैगरि मुलुकका अन्य भागमा निरन्तर चल्ने कन्सर्टहरुलाई पनि त्यहाँका मानवताप्रेमी श्रोता दर्शकहरुले सफल बनाउने विश्वास लिएको छु ।’

बिराटनगरको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक, दुइवटा बस र केहि साना सवारीमार्फत् वीरगन्जतर्फ प्रस्थान गरेको छ । मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित आदर्शनगर रंगशालामा नेपथ्य मंसिर १९ गते सोमबार प्रस्तुत हुँदैछ ।

तस्बिरहरु: दिपित राज