११ असार २०८३, बिहीबार
,
Latest
उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यधिक चिसोका कारण ग्यास नबल्दा कर्मचारीलाई सकस



अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि क्षेत्रमा ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ग्यास बोकेर मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । तर चिसोका कारण खच्चडमार्फत लगिएको ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ ।

“खच्चडमार्फत ग्यास सिलिन्डर बोकेर ल्याइयो । बलेन, चिसोले होला”, सदरमुकाम चामेबाट दुई दिन पैदल हिँडेर पुगेका नार्पाभूमि गाउँपालिका–३ वडा कार्यालयका मतदान अधिकृत राजेन्द्रकुमार श्रेष्ठले भन्नुभयो, “आगो बाल्न दाउरा किन्दा भारीको रु दुई हजार प¥यो । समस्या टार्नै प-यो ।”

उक्त केन्द्रमा छ जना कर्मचारी र सेना, प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी २० जना खटिएका छन् । केही नजिकै अन्य दुई मतदान केन्द्र रहेको छ । त्यस क्षेत्रका सबैको अवस्था सकसपूर्ण छ । नार्पाभूमि–१ देखि ३ सम्म नारगाउँमा पुगेका कर्मचारी वडा कार्यालय, विद्यालय, गुम्बालगायत ठाउँमा बास बसेका छन् । चिसो बढेको र पानीसमेत जमेको हुँदा तताएर खान समस्या भएको मतदान केन्द्रमा खटिएका कर्मचारी बताउँछन् ।

सडक सञ्जालले नजोडिएको नार्पाभूमि–४ फू गाउँ (चार हजार ५० मिटर) स्थित फू आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले मतदानस्थल निकै उचाइमा रहेकाले चिसो पनि उच्च रहेको बताउनुभयो । “यहाँ निकै चिसो छ । आगो तापेर बस्नुपरेको छ । बाहिर निस्कन सकिरहेको छैन । यहाँको तापक्रम माइनसमा छ र कष्टकर बनेको छ,” रेग्मीले भन्नुभयो ।

मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले मौसमको प्रतिकूलताले नार र फू गाउँ पुगेका कर्मचारीको अवस्था निकै कष्टकर भएको बताउनुभयो । बुधबार सबेरै गएका कर्मचारी र सुरक्षाकर्मी बिहीबार अबेर मतदान केन्द्रमा पुगेका थिए । सबै क्षेत्रमा एकैसाथ निर्वाचन भएकाले पनि सकसपूर्ण अवस्थामा नै कर्मचारी खटिएको उहाँले बताउनुभयो ।

“यसपटकको निर्वाचनका लागि सबै सामग्री कर्मचारी, सुरक्षाकर्मीसँगै पठाइयो । दुई दिन लगाएर उहाँहरू पुग्नुभएको छ । ग्यास, चामल, दाल, नुनतेल सबै बोकेर जानुपर्दा समस्या भयो,” उहाँले भन्नुभयो । नार गाउँमा चिसोले ग्यास नबलेको र चार वटा दाउराकै रु एक हजार पाँच सय तिर्नुपरेको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले मतदान अधिकृतलाई दैनिक रु दुई हजार पाँच सय दिन्छ । कार्यालय सहयोगीले रु एक हजार दुई सय पाउँछन् । सुरक्षाकर्मीले खाजा भत्ता दिनको रु छ सय पाउँछन् । “एक गिलास तातोपानीको रु एक सय पर्छ । सुगममा रु छ सयले दुई छाक खान पुग्छ । विकटमा खटिनेलाई साह्रै समस्या छ,” उहाँले भन्नुभयो ।

मनाङमा दुई सय कर्मचारी खटिएका छन् । सिङ्गो नार्पाभूमि गाउँपालिकामा चार सय ६८ मतदाता रहेका छन् । वडा नं १ को कार्यालय नारगाउँमा ९६, वडा नं २ को नार आधारभूत विद्यालयमा एक सय तीन र साम्डुछिरिङ गुम्बा मतदान केन्द्रमा एक सय २० मतदाता छन् ।

फू गाउँअन्तर्गत वडा नं ४ को फू आधारभूत विद्यालयमा ७८ र वडा नं ५ को कार्यालयमा ७१ मतदाता छन् । मनाङ जिल्लामा पुरुष तीन हजार दुई सय ८१ र महिला तीन हजार चार सय ९८ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो । मनाङमा साँझ, बिहान र रातिको तापक्रम माइनसमा झरेको छ । सबैभन्दा उचाइमा रहेको नार (चार हजार दुई सय मिटर ) मा धाराको पानीसमेत जमेको मतदान अधिकृत बताउँछन् । रासस