काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संगठन कमिटी पदाधिकारीको १९ औं बैठक विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । सोमबार प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा ललितपुर च्यासलमा बसेको बैठकले प्रदेश तहका विभिन्न विभागहरुमा विधान बमोजिम आवश्यक संख्याको सदस्यहरु मनोनीत गरि विभागलाई पुर्णता दिइएको प्रचार विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश सल्लाहकार परिषद निर्माणको लागि ३ दिन भित्र प्रदेश अन्तर्गतका सबै जिल्लाहरुलाई सल्लाहकार परिषदमा समेट्नु पर्ने सदस्यहरुको नामावली माग गर्ने, प्रदेश लेखा समिति निर्माण गर्ने, बाग्मती प्रदेश जनसंगठनहरुको वैचारिक ,राजनीतिक तथा संगठनात्मक कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउन प्रदेश जनसंगठन समन्वय सम्यन्त्रको तत्काल बैठक बसि आवश्यक योजना तर्जुमा तथा परिचालनको खाका निर्माण गर्ने निर्णय पनि गरिएको छ ।
यस्तै, बैठकले गठबन्धन सरकारको प्रत्येक्ष संलग्नतामा महङ्गी, भ्रष्टाचार , कमिसनतन्त्र, र माफियाकरणको विरुद्ध सम्पुर्ण जिल्ला र पालिका तहसम्म दबाब ,खबरदारी सहितको आन्दोलन गर्ने, ‘बुद्धिजीवीहरुको आँखामा नेकपा एमाले’ विषयमा समाजमा विभिन्न क्षेत्रका बुद्धिजीवीको सहभागितामा नेकपा एमालेप्रति उहाँहरुको आलोचना, सुझाव र टिप्पणी के कस्तो रहेको छ सोको संकलनका लागी आगामी भाद्र १० गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
बर्तौलाका अनुसार नेपालको कम्युनिस्ट आन्दोलनमा तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्नुहुने अग्रणी ब्यक्तित्वहरुको खोजी तथा पहिचान गरि उहाँहरुको सम्मानका लागी जिल्ला स्तरमा ‘अग्रज सम्मान कार्यक्रम’ आयोजना गर्ने, प्रदेश कमिटीमा रिक्त रहेको स्थानमा तथा एकता प्रक्रियाबाट पार्टीमा प्रवेश गर्नुभएका १० जना नेतालाई प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिने निर्णय पनि गरिएको छ ।
उक्त जिम्मेवारी प्राप्त गर्नुहुने नेताहरु श्रीधर पोखरेल,सुमित्रा राजबम्सी,अच्युत श्रेष्ठ ,खेम भट्ट, गोपाल जि गुप्ता, मनरत्न शाक्य ,सीता ढकाल , भुवन केसी, देबेन्द्र खत्री ,सुरेश राना रहनुभएको छ । बैठकको प्रमुख अतिथि प्रदेश इन्चार्ज काशीनाथ अधिकारी रहनुभएको थियो भने प्रदेश सह–इन्चार्जद्वय कृष्ण गोपाल श्रेष्ठ, शेर बहादुर तामाङ र नेता आनन्द पोखरेलको उपस्थिती रहेको थियो ।









