२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन शुरु



अ+ अ-

काठमाडौं । साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन शुरु भएको छ । २०९ औँ भानु जयन्तीका अवसरमा साझा प्रकाशनले मंगलवार पुलचोकस्थित कार्यालय परिसरमा विशेष कार्यक्रम गरी ‘गरिमा’ साहित्यिक मासिक पत्रिका प्रकाशन शुरु भएको जानकारी गराएको हो ।

नेपाली साहित्य जगतमा नै उच्च प्रतिष्ठा कमाएको ‘गरिमा’ को प्रकाशन २०७५ मंसिरदेखि रोकिएको थियो । नेपाली साहित्यको प्रतिनिधि पत्रिकाका रूपमा २०३९ पुसबाट प्रकाशन प्रारम्भ भएको ‘गरिमा’ साहित्यिक मासिक साझा प्रकाशनको आर्थिक सङ्कटसँगै २०७५ कात्तिकमा पूर्णाङ्क ३९६ निस्किएर बन्द भएको थियो । आर्थिक संकटका कारण ‘गरिमा’ २०७५ मंसिरदेखि प्रकाशन हुन सकेको थिएन । ‘गरिमा’ को वर्ष ३९, अङ्क १, पूर्णाङ्क ३९७ लाई २०७९ साउन अङ्क मानिएको छ ।

भाषा–साहित्य, कला–संस्कृति र शिक्षाको विकास, बिस्तार एवं विविधिकरणमा शताब्दीभन्दा बढी ऐतिहासिक यात्रा पार गरेको साझा प्रकाशन विगत लामो समयदेखि राजनीतिक खिचातानीका कारण उत्पन्न परिस्थितिले सिर्जना गरेको चरम आर्थिक संकट व्यहोर्दै आएको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ‘गरिमा’ को साउन अंक पुनर्विमोचन गर्नुभयो । विक्रम संवत् १९७० मा स्थापित गोर्खा भाषा प्रकाशिनी समिति १९९० मा नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित हुँदा यो दक्षिण एशियाकै पहिलो साहित्यिक–सांस्कृतिक संस्था बनेको थियो । तत्कालीन परिवेशमा साहित्य सेवा र पाठ्यपुस्तक निर्माण, प्रकाशन गर्ने नेपाली भाषा प्रकाशिनी समितिले २०२१ सालमा साझा प्रकाशनको नाममा उत्तराधिकारसहित निरन्तरता पाएको थियो । १ सय १० वर्षको इतिहास बोकेको साझा प्रकाश आफूले गर्दै आएका कामबाट वञ्चित भएपछि अहिले गहिरो आर्थिक समस्या झेलिरहेको छ । ६० प्रतिशत शेयर नेपाल सरकारमा रहेको यस सहकारी संस्थामा १५ सयभन्दा बढी साहित्यकार, पत्रकार, कलाकार, शिक्षासेवी र संस्कृतिकर्मी शेयर सदस्य छन् । तर संस्था भने व्यावसायको माध्यमबिहीन भएको छ ।

पहिले पाठ्यपुस्तक निर्माण र प्रकाशनमा केन्द्रित साझा प्रकाशनलाई सरकारी नीतिअनुरूप २०२८ सालपछि पाठ्यपुस्तक वितरणमा सिमित गरिएको थियो । देशव्यापी पाठ्यपुस्तक बिक्रीवितरणबाट हुने सिमित मुनाफालाई प्रकाशनको माध्यमबाट साहित्य सेवामा लगाएको साझा प्रकाशनलाई २०६९ पछि पाठ्यपुस्तक बिक्रीवितरणबाट वञ्चित गरिएको छ । त्रि.वि.ले सञ्चालन गरेको प्रविणता प्रमाणपत्र र पछि उच्चमाध्यमिक शिक्षा परिषद्बाट सञ्चालित ११, १२ कक्षाका अनिवार्य विषयका पाठ्यपुस्तक मुद्रण र बिक्रीवितरण गर्दै आएको थियो तर सरकारले २०७६ देखि यी कामबाट साझा प्रकाशनलाई वञ्चित गरेको थियो । गत महिना शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभामा ‘कक्षा ११ र १२ का पाठ्यपुस्तक साझा प्रकाशनमार्फत मुद्रण र बिक्रीवितरणको व्यवस्था मिलाइएको’ जानकारी दिएपनि अहिलेसम्म मन्त्रायबाट नै छपाईको आवश्यक प्रक्रिया अघि बढ्न सकेको छैन ।