काठमाडौं । केही दिन यता हैजाका किटाणु भेटिएसँगै त्रास बढेको राजधानीमा कोरोनाको संक्रमण पनि बढेको छ । राजधानीका कैयौँ स्थानमा हैजाका किटाणु भेटिएका समाचार आइरहेका बेला यता कोरोना भाइरसको प्रकोप पनि बढ्दै गएको तथ्यांकले देखाएको छ ।
कोरोना भाइरस संक्रमण फेरि बढ्न थालेको पछिल्ला तथ्यांकहरुले देखाएको छ । मंगलबार ९० जनामा संक्रमण पुष्टि भएकोमा बुधबार बढेर १ सय १३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार २ हजार ७ सय २४ जनाको कोरोना परीक्षण गर्दा १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, हाल सक्रिय संक्रमितको संख्या ४ सय ७१ जना रहेका छन् ।
विगत २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुने संख्या ९ लाख ६७ हजार ५ सय ७५ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेसनमा ४ सय ६९, संस्थागत आइसोलेसनमा दुई, भेन्टिलेटरमा एक र दुई जना सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ ।
पछिल्ला दिनहरुमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि सरकारले मापदण्डहरु पालना गर्न आग्रह गरेको छ । यही गतिमा कोरोना बढ्दै गएमा फेरि संकट आउन सक्ने भन्दै सरकारले मापदण्डहरुमा कडाई गर्न सक्ने देखिएको छ ।