आज ऋषिपञ्चमी । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन अरुधन्तीसहित सप्तर्षिहरुको पूजा आराधना गरी ऋषिपञ्चमी मनाउने गरिन्छ ।
आजका दिन कश्पय, अत्रि, भारद्वाज, विश्वमित्र, गौतम,जमदग्नी, वशिष्ठ र अरुधन्तीको पूजा गरेर वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले व्रत बस्ने गर्दछन् । आजको दिन बिहानै उठेर नदी, तलाउ, पोखरी, कुवार वा धारोमा गइ स्नान गरी शुद्ध हुँदै स्नानका बेला ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने धार्मिक विधि रहेको छ ।
आजको दिन महिलाहरु काठमाडौंको गैरीघाट लगायत देवीदेवताका मन्दिरमा गएर सप्तर्षिहरुको पूजा गरी व्रत बस्ने गर्दछन् । आजको दिन सप्त ऋषिहरुको पूजा गर्नाले रजस्वला भएको बेला छोएइको त्रुटिसहित आफ्ना कुकर्महरुबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ । सप्त ऋषिहरुको पूजा गर्ने दिन भएकोले आजको दिनलाई ऋषिपञ्चमी भनिएको हो ।