काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आचार्यले निजी क्षेत्रले आन्दोलनका क्रममा क्षतिग्रस्त व्यापारिक केन्द्रहरूको पुनर्निर्माण तीव्र गतिमा अघि बढाए पनि राज्यका प्रमुख संरचनाको पुनर्निर्माण भने सुस्त रहेको बताउनुभयो ।
उहाँले सिंहदरबार, गृह मन्त्रालय र संसद् भवनलगायतका संरचना अझै पनि क्षतिग्रस्त अवस्थामै रहेको उल्लेख गर्नुभयो । निजी क्षेत्रले खरानी बनेका व्यापारिक केन्द्रलाई तीव्र गतिमा पुनर्निर्माण गरेर उदाहरण प्रस्तुत गरिरहेको भन्दै उहाँले त्यसबाट आफूलाई गर्व लागेको बताउनुभयो ।
तर सिंहदरबार प्रवेश गर्दा जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै अवस्थामा देखिने गरेको उहाँको भनाइ थियो । नयाँ संसद् भवनमा बजेट अधिवेशन हुने सुने पनि आफूहरू अझै अस्थायी भवनबाटै प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुपरेको उहाँले बताउनुभयो ।
आचार्यले राज्यको ‘मुटु’ मानिने सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माण नै सुस्त हुँदा रसुवा र नुवाकोटलगायतका बाढी तथा विपद्प्रभावित क्षेत्रका नागरिकले आफ्नो पुनर्निर्माण प्रभावकारी रूपमा अघि बढ्नेमा कसरी विश्वास गर्ने भन्ने प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’
पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यावहारिक कमजोरी तत्काल पहिचान गरी कामको गति बढाउन उहाँले सरकारसँग आग्रह गर्नुभयो । ‘विफोर इट्स टु लेट’ भन्दै आचार्यले पुनर्निर्माणको काममा थप ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।









