२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले मनसुनसँगै हिमाल र हिमनदीलाई समेत जोडेर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद थापाले रसुवाको भोटेकोशीमा आएको बाढीले नेपालको पूर्वसूचना प्रणाली, उद्धार क्षमता तथा पूर्वाधार निर्माणको मोडलमाथि नै गम्भीर प्रश्न उठाएको बताउनुभयो ।

उहाँले विपद्का कारण परिवारजन गुमाउने, बेपत्ता हुने तथा कठिन परिस्थितिमा जीवन बिताउन बाध्य नागरिकको संख्या ठूलो रहेको भन्दै उनीहरूको आधारभूत आवश्यकता तत्काल सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद थापाले भोटेकोशी बाढीबाट घर, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था तथा खानेपानीलगायतका संरचनामा भएको क्षतिले मुलुकको अर्थतन्त्रमा समेत गम्भीर असर पारेको बताउनुभयो । विपद्बाट भएको ठूलो क्षतिका कारण अन्तर्राष्ट्रिय सहयोगका लागि समेत अपिल गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘आज नेपालको पूर्वाधार, विपद् पूर्वाधार, पूर्वसूचना, उद्धार क्षमता र पुनःनिर्माण प्रणालीमाथि पनि ठूलो प्रश्न उठेको छ । अब हामीले वर्षा मात्र होइन, हिमाल र हिमनदीलाई समेत जोडेर पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने आवश्यकता रहेको छ ।’

विपद्बाट विस्थापित नागरिक र परिवारको पक्षमा राज्य दृढतापूर्वक उभिनुपर्ने बताउँदै थापाले तत्काल राहत, उद्धार, सुरक्षित आवास, खाद्यान्न, खानेपानी र स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विपद् प्रभावित नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्दै उनीहरूको जीवनयापन सहज बनाउन राज्यले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो ।