२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोटेहाङद्वारा रु ५५ करोड ४३ लाख बजेट प्रस्तुत



अ+ अ-

खोटाङ । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु ५५ करोड ४३ लाख ९३ हजार १२० बजेट प्रस्तुत गरेको छ । नौ वडा रहेको उक्त गाउँपालिकाले बुधबार चालुतर्फ रु १० करोड छ लाख ५५ हजार ५६०, पूँजीगततर्फ रु ११ करोड ४६ लाख ३२ हजार ५६० बजेट प्रस्तुत गरेको हो ।

सशर्त अनुदानमा रु २८ करोड १००, विशेष अनुदानमा रु दुई करोड ५० लाख, समपूरक अनुदानमा रु एक करोड ७० लाख बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएपछि उपप्रमुख रुपेश राईले बजेट प्रस्तुत गर्नुभएको हो ।

यस्तै हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आज नगर–गाउँसभा गर्ने जनाएको छ । केपिलासगढी गाउँपालिकाले शनिबार गाउँसभा गर्ने गाउँपालिका प्रमुख समिर राईले बताउनुभयो ।

जिल्लाका अन्य सात स्थानीय तहले शुक्रबार एकैदिन गाउँ तथा नगरसभा गर्ने तयारी छ । पूर्वी पहाडी जिल्ला खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका छ ।

अर्थ मन्त्रालयबाट आव २०७९/८० का लागि जिल्लाका १० स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट प्राप्त भएको छ । मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी रु तीन अर्ब ६२ करोड एक लाख बजेट उपलब्ध गराएको हो ।

जिल्लाको सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु ६५ करोड १५ लाख र सबैभन्दा कम बराहपोखरी गाउँपालिकाले रु २४ करोड २४ लाख बजेट प्राप्त गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाले रु ४९ करोड छ लाख, ऐसेलुखर्क गाउँपालिकाले रु ३२ करोड ४९ लाख, केपिलासगढी गाउँपालिकाले रु २५ करोड ८६ लाख, खोटेहाङ गाउँपालिकाले ४३ करोड एक लाख बजेट पाएका छन् ।

यस्तै जन्तेढुङ्गा गाउँपालिकाले रु २९ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले रु ३७ करोड ९२ लाख, साकेला गाउँपालिकाले रु २५ करोड ६० लाख र रावाबँेसी गाउँपालिकाले रु २८ करोड ७३ लाख बजेट प्राप्त गरेको अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ । अर्थ मन्त्रालयले गत वर्ष १० स्थानीय तहका लागि रु तीन अर्ब ५७ करोड ६४ लाख बजेट उपलब्ध गराएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष खोटाङका १० स्थानीय तहका लागि रु छ लाखमात्र बजेट बढेर आएको पाइएको छ । स्थानीय तहमा आएको बजेट वृद्धि नहुनुमा जिल्लाबाट निर्वाचित सङ्घीय सांसदको कमजोरी रहेको जिल्लावासीको आरोप छ ।