२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शशांकको दाबी– पार्टी र सरकारको नेतृत्वमा देउवाको भूमिका सन्तोषजनक



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गर्नु भएको छ ।

नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रुपमा लिएको निर्णयमा आफूहरुको कुनै विरोध नभएको पनि स्पष्ट पार्नु भयो । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँले पार्टी भित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमती राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रिया समेत दिनु भयो ।

पार्टीका पदाधिकारीहरुलाई पनि देउवाले पद अनुसारको भूमिका दिएको महामन्त्री कोइरालाको भनाई थियो । उहाँले भन्नु भयो, ‘हरेक निर्णय गर्दा हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजीले सबैसँग सल्लाह गर्नु हुन्छ । सर्बदलीय बैठकमा मुख्यमुख्य मान्छेहरु गएर निर्णय गरिन्छ । तर धेरैजसो निर्णयहरु ठिकै भएको छ । यसमा हाम्रो कुनै विरोध छैन । पदाधिकारीहरु सबैले आ–आफ्नो भूमिका पाईरहेका छन ।’

नेता कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति सुद्धिकरण आयोग आफू मातहत राख्ने÷नराख्ने भन्ने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएकाले त्यसमा विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क गर्नु भयो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले ती दुवै निकाय आफ्नो मातहतमा ल्याएको भन्दै नेपाली काँग्रेसले विरोध गरेको थियो नि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्न थियो । त्योे अधिकार प्रधानमन्त्रीको भएकाले त्यसमा विरोध गरिरहन आवश्यक नभएको नेता कोइरालाको जवाफ थियो ।