• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

तारा एयर: थप १० जनाको शव कोवाङ ल्याइयो



मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ ।

मानापाथी हिमालको फेदीमा सङ्कलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो । मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भिरमा अड्किएको एउटा शव निकाल्ने प्रयास र बेपत्ता एक जनाको खोजी जारी रहेको जानकारी दिनुभयो ।

“सोमबार नेपाली सेनाको हेलिकोप्टरले १० शव काठमाडौँ लगिसकेको छ”, उहाँले भन्नुभयो, “आज घटनास्थलबाट कोवाङ ल्याइएका शवलाई पनि काठमाडौँ पठाउने तयारीमा छौँ ।”

तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो ।

थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ । करिब १०० नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेका थिए ।

अरु फर्किए पनि सेना र प्रहरीको १४ जनाको उद्धारको तालिमप्राप्त सुरक्षाकर्मी सानोसरेमा पाल टाँगेर बसेका थिए । घटनास्थल पुगेर फर्किएका स्थानीयवासी इन्द्रसिंह शेरचनले विमानको पखेटा पहाडमा ठोक्किएर तल झरेको देखिने बताउनुभयो ।

“विमान भिरालो पाखोमा ठोक्किएर तल खोंचमा खसेको देखिन्छ”, उहाँले भन्नुभयो, “शवहरू धार परेको डाँडामा वल्लोपल्लो पाखामा छरिएका थिए । केही तल्लो डिलमुनि पुगेका थिए ।”

सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गर्नुभएको थियो । उनीले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिनुभएको थियो ।