२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि

अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि
अ अ+ अ-

नेपालको कृषि नीति, योजना र कार्यक्रमलाई हेर्दा यसको रुपान्तरण र विकासका सवालमा अष्पष्ट दृष्टिकोण, निराशाजनक भाष्य, विरोधाभाषपूर्ण नीति र आधारहीन तथ्यबीच रुमलिएको पाउँछौँ । यस्तो अवस्थामा नेपालको कृषि कसरी अगाडि बढ्ला भन्ने गम्भीर प्रश्न रहन्छ । आज नेपालको कृषिमा देखिएका यस्तै भाष्य, प्रवृत्ति र निराशाको बहस चल्ने गरेको छ ।

निराशामुखी र आधारहीन भाष्यको निर्माण

सामाजिक सञ्जाल र आमसञ्चारले नेपालको कृषि सम्वन्धी कतिपय नकारात्मक, निराशामुखी र आधारहीन भाष्यहरु निर्माण गरेका छन् । “हाम्रा गाउँहरु खाली छन्”, “गाउँघरमा युवाहरु छँदै छैनन्”, “गाउँघरका सवै खेतवारी बाँझिए”, “कृषिप्रति विकर्षण छ“, युवाहरु दिनानुदिन विदेसिएका छन्” भन्नेजस्ता भाष्य सामान्य जस्तो लाग्छ । जव कि तराईका धेरैजसो गाउँमा जाँदा न त जग्गा बाझिनेक्रम तीव्र छ न त गाउँहरु खालि नै छन् । पहाडी र हिमाली क्षेत्रमा भने जग्गा बाझिनेक्रम बढेको यथार्थ हो ।

धेरैले नेपाल कृषिप्रधान मुलुक भएको र देशको विकासको प्रमुख आधार रहेको भनी व्याख्या गर्दछन् । यथार्थमा विप्रेषण (रेमिटेन्स) ले कृषिबाट प्राप्त कुल ग्रार्हस्थ उत्पादनलाई उछिनिसकेको छ र नेपाल रेमिट्यान्स प्रधान देश भएको तथ्यले देखाउँछ । त्यसैगरी अहिले खस्कदो कृषि, पारिवारिक कृषि तथा निर्वाहमुखी सानो स्तरको कृषिबाट मात्र देशको समग्र विकासको परिकल्पना गर्नु वैज्ञानिक देखिँदैन ।

कृषिमा सवै जनसंख्या लाग्नुपर्छ र कृषिले नै सवैथोक हुन्छ भन्ने तर्क पनि सुनिन्छ । कृषि त आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निर्माणका साथै पर्यटन, औद्योगिकीकरण जस्ता विकासको मुख्य आधार हो । अझ तथ्यहरु कति विरोधाभाषपूर्ण छन् भने भर्खरको जनगणनामा देखिएको एक उदाहरण प्रयाप्त हुन्छ । गाउँमा एक शिक्षकको परिवार छ जो शिक्षकको आम्दानीमा निर्भर छ । उनीहरुका ४ जना परिवारका सदस्यले मुख्य पेसा भनी गणनामा कृषि नै लेखाएका छन् । त्यस्तै विगत १२ वर्षदेखि पूर्ण रुपमा वैदेशिक रोजगारमा आश्रित तर खेतवारी बाँझो राख्ने अर्को परिवारका सदस्यहरुले पनि पेसामा कृषि नै लेखेका छन् । त्यसैले तथ्याङ्कले वास्तविक चित्र नकोर्न सक्छ ।

किसानको पहिचानमा समस्या

तथ्याङ्कको मिहिन विश्लेषण गरी वास्तविक किसानको पहिचान गर्नु अर्को चुनौतीको विषय हो । सामान्यतया कृषिको लागि कृषि जमिन र उत्पादक किसान प्राथमिकतामा पर्दछ । तथापि अन्य प्राकृतिक स्रोत, कृषि सामग्री, सिंचाइ आदि सुविधाले पनि उत्तिकै महत्व राख्दछन् । तर आजसम्म नेपालको कृषिले किसान को हो र कति प्रकारका छन् वा कति वर्गका छन् अनि कोसँग कति जमिन छ वा छैन भन्नेबारे स्पष्ट पार्न सकेको देखिँदैन । उत्पादन र स्वामित्वका आधारमा किसानको वर्गीकरण हुनुपर्दछ । अझ भन्ने हो भने सीमान्तकृत, भूमिहीन, मझौला र ठुला सवै किसानलाई एउटै टोकरीमा राखी कृषिको व्यवसायीकरण र औद्योगिकीकरण गर्ने कुरा गरिन्छ । एउटै परियोजना र कार्यक्रमले सबै वर्गका किसानलाई उकास्दैन । यसमा किसान, जमिनको वितरण, भूगोल, जैविक विविधता आदिको लेखाजोखाविनाका नीति तथा कार्यक्रले सन्तुलित परिणाम दिँदैनन् ।

कृषिप्रतिका आशा र निराशा

नेपाली समाजमा कृषिबाट धनी बन्ने सपना देख्ने र यसबाट हुँदै हुँदैन भनी निराशा हुने मुख्य दुई प्रवृत्ति देखिन्छ । खेती गर्नेहरुमा देखिने यी दुईखाले अतिवादले कृषि क्षेत्र प्रभावित छ । एकथरी कृषिबाट रातारात धनी बन्ने सपना बोक्छन् भने अर्कोथरी कृषिबाट आम्दानी भएन र राज्यले कृषिलाई हेरेन, कृषि गरेर केही हुँदैन भन्ने निराशा पालेर बस्नेहरु छन् । कृषि किन र कसरी गरिएको छ भन्ने ख्याल नगरी आत्मनिर्भर बन्न र जीवन धान्न गरिएको निर्वाहामुखी र पारिवारिक कृषिबाट ठुलो आम्दानीको आशा गर्नु व्यावहारिक हुँदैन ।

व्यावसायिक रुपमा खेती गर्नेहरुमा पनि आजको नीतिगत अस्तव्यस्तता, खुल्ला बजार, बजार एकाधिकार, कृषि सामग्रीको अपर्याप्तता तथा अनेकन चुनौतीहरुको माझमा रातारात धनी बन्ने महत्वकांक्षा यथार्थपरक होइन । कृषिबाट विचौलिया र केही ठुला किसान तथा राज्यमा पहुँच हुनेहरु छिटो धनी बनेको देखिए पनि बहुसंख्यक किसानका लागि बढ्दो लगानी, बजार र मूल्यको अस्थिरता, रोग र प्रकोपको विपत तथा सानो स्तरको कृषिका कारण कृषिबाटै धनी बन्ने सपना अहिलेको विद्यमान परिवेशमा विश्वासिलो देखिन्न । फेरि यही अवस्था सधैँ रहँदैन । राज्यले लिने कृषि नीति र किसान जागरणले एक दिन अनुकूल वातावरण ल्याउने सकारात्मक चिन्तनले गर्दा त्यति निराशावादी हुनु पनि आवश्यक छैन ।

कृषिमा आश्रीत घट्दो जनसंख्या र सुधार

कतिपयले समाजको गतिशीलताको सापेक्षतामा कृषिबाट विस्तारै पुँजीवादी समाजको विकास भएको तथ्य र वर्तमान संक्रमणकालीन अवस्थाको नजरअन्दाज गर्दछन् । मुख्य गरी कृषि अभियन्ता र कृषि नीति निर्माताहरु कृषिमा घट्दो जनसंख्या र बसाईसराईलाई महामारीकै रुपमा व्याख्या गर्दछन् । तर आजको युगमा हामीले नेपालका बहुसंख्यक जनता कृषिमा लाग्नुपर्छ भन्ने सोच राख्यौँ भने त्यो पुरातनवादी मात्र होइन पश्चगामी नै हुन्छ । अझ नेपालको सन्दर्भमा धेरैजसो कृषि परम्परागत रहेकोले के कुरा स्पष्ट हुन जरुरी छ भने पारिवारिक र निर्वाहमुखी कृषि जीविकोपार्जनको स्रोत भए पनि आम्दानी बढाउने र रोजगारी सृजना गर्ने हिसावले चुनौतीपूर्ण भने मान्न सकिन्छ ।

आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निर्माण, पर्यावरणीय महत्व, स्थानीय बाली र जैविक विविधताको संरक्षण तथा कृषि संस्कृतिको जगेर्ना लगायतका थुप्रै दृष्टिले पारिवारिक कृषि महत्वपूर्ण रहन्छ । नेपालको पहाड र हिमाली भूगोल, जमिनको वितरण, बजार आदि हिसाबले सवैखाले कृषिलाई व्यवासयीकरण गर्ने भन्ने नीति पनि गलत छ । अझ पर्यावरणीय कृषिलाई नाफामुखी मात्र बनाउँदा समस्या घट्दैनन् बरु थपिँदै जान्छन् । त्यसैले कृषिमा आश्रित जनसंख्या घटेकोमा आत्तिने भन्दा पनि कति जनसंख्यालाई कृषिले थेग्न सक्छ त्यसतर्फ ध्यान दिनु आवश्यक देखिन्छ । साथै परम्परागत कृषिलाई जवर्जस्ती बदल्नुको साटो किसानको आवश्यकतातर्फ सचेत रहँदै यसको व्यवस्थापन र प्रवद्र्धनमा जोड दिनुपर्दछ ।

कृषिबाट उत्पन्न परनिर्भरता

कृषिको व्यवसायीकरण र औद्योगिकीकरणले परनिर्भरता निम्त्याएको छ । पर्याप्त तयारी र योजनाबिना कृषिलाई व्यावसायिक र व्यापारिक बनाउँदा पँुजी, मल, विउ, श्रमिक, प्रविधि, विषादी आदि कुरामा किसानले अत्यधिक लगानी गर्नुपर्ने अवस्था सृजना भएको छ । तर बजारको आवश्यकता र मूल्यबारे कमै लेखाजोखा भएको छ । व्यवसाय सुरुदेखि हरेक सामग्रीमा बढ्दो खर्चले उत्पादनको लागत बढ्ने तर लागत अनुसार मूल्य र बजार नपाउँदा किसान ठुलो मारमा छन् ।

अझ व्यावसायिक कृषिमा रासायनिक विषादी र रसायनिक मलको प्रयोगले स्वास्थ्य र वातावरणमा हानि समेत गरेको छ । साथै प्रविधि र औद्योगिकीकरणको नाममा किसानमाथि अनावश्यक बोझ थपिएको छ । कर्णालीका भिरपाखामा हाते ट्याक्टर वितरण भयो तर सामान्य मर्मत वा इन्धन नहुँदा कार्यक्रम बन्द भएका छन् । प्रविधिले कृषिको महिलाकरणलाई वेवास्ता गरेको छ । खोलाको पानी कसरी खेतमा ल्याउन सकिन्छ, सजिलै रुख नचढी डाले घाँस कसरी काट्न सकिन्छ भन्ने यस्ता आवश्यक प्रविधिबारे छलफल नै भएको छैन । यसले कृषि र देशलाई नै परनिर्भर बनाएको छ ।

दृष्टिकोणमा विरोधाभाष

अचम्मै लाग्दछ । नेपालको कृषि केही समयदेखि नीतिबिहीन नै छ । अझ हाम्रा नीति, कार्यक्रम र योजना गन्तब्यबिहीन र दृष्टिकोणबीहीन छन् । अत्यन्तै विरोधाभाषपूर्ण कतिपय नीति र योजना छन् तर तिनको कार्यान्वयनमा ठुलै समस्या देखिन्छ । संविधानमा खाद्य सम्प्रभुताको अधिकार छ । यसको कानुन पनि बनिसकेको छ । यसलाई समाजवादी अवधारणको पहिलो पाइलो मान्न सकिन्छ । तर सरकारी बजेट र कार्यक्रम भने पूरै व्यापारिक कृषितर्फ लक्षित छन् । यो भने पुँजीवादी बाटो हो । नीतिसमाजवादी तर कार्यक्रम पुँजीवादी हुन थालेपछि अवस्थामा लक्ष्य प्राप्त हुँदैन । अब कृषिलाई पुँजीवादी बाटोबाट अगाडि बढाउने हो कि समाजवादी बाटाबाट भन्ने स्पष्टता चाहिएको छ ।

सरकारी र दलीय दस्तावेजहरु हेर्दा यसैमा अलमलिएको देखिन्छ । नेपालको २० वर्षे दीर्घकालीन कृषि रणनीति पनि यही विरोधाभाषपूर्ण शब्दजालले भरिएको छ । कार्यक्रमहरु साना, भूमिहीन र पारिवारिक कृषिकेन्द्री छैनन् । यिनले देशमा व्यावसायिक र ठुला किसानको मात्र परिकल्पना गरेका छन् । कार्यविधि र मापडण्ड पनि यस्तै खालका छन् । फर्म दर्ता गर्ने र व्यावसायिक योजना पेश गर्ने बेला ठुलो स्तरलाई लक्ष बनाइन्छ ।

प्रतिस्पर्धामा आउने भने पनि गाईभैसी, भेडावाख्रा, जग्गाजमिन आदिको ठुलो मात्रालाई मात्र अनुदान सहयोग गर्ने भन्ने कार्यक्रम ल्याइन्छ । यहाँ कृषि अनुदान र सहयोग त साना, सीमान्तकृत र गरिव किसान लक्षीत हुनै सकेको देखिन्न । ठुला किसानलाई त नीतिगत सहजता, ऋण र विमाको व्यवस्था तथा बजार र निर्यातको प्रवन्ध पनि प्रयाप्त हुन्छ । तसर्थ कृषिप्रतिको दृष्टिकोणमै विरोधाभाष देखिन्छ ।

मौलिकता र पर्यावरणप्रति नजरअन्दाज
नेपाली कृषिको संस्कृति, मौलिकता र पर्यावरणयीय महत्वलाई नजरअन्दाज गर्ने क्रम बढेको छ । पहाडी कृषि, आत्मनिर्भर कृषि, बहुवाली मिश्रित कृषि र पारिवारिक कृषि नेपाली कृषिका मौलिकता हुन् । कृषिबाटै हुर्किएका जाति, चाड, मेला, पर्व तथा संस्कारले बहुल सांस्कृतिक विशेषतालाई बचाएका छन् । यस्तो कृषिमा पाइने मौलिक सांस्कृतिकता समस्या हुन् भन्ने धेरै नीतिनिर्माता र कृषि विज्ञहरुको सोच छ । उनीहरु कृषिलाई केबल व्यापारिक मात्र बनाउने कुरा गर्दछन् । यस्तो प्रवृत्तिले कृषिको अस्तित्व मानिने रैथाने कृषि प्रणालीलाई ध्यान दिँदैन ।

यो समस्या होइन बरु दिगो कृषिको आधार हो । अहिले संसारभर पहाडी, पर्यावरणीय, पारिवारिक, जैविक, बहुबालिक कृषि तथा कृषि बनको महत्व र सान्दर्भिकताको चर्चा र छलफल भइरहेको छ । पर्यावरण, स्वास्थ्य, दिगोपन, आत्मनिर्भरता र जैविक विविधताको संरक्षणमा वा स्थानीय ज्ञान, सीप र स्रोतको प्रयोगमा हाम्रो परम्परागत कृषि प्रणालीले उचच महत्व राख्दछ । यसलाई पूरै सिध्याउने र व्यावसायिक र रसायनिक बनाउने सोच गलत छ । बरु आवश्यकताको आधारमा कुन स्थान वा वालीमा व्यासायिकतामा जोड दिने तथा कहाँ पारिवारिक पर्यावरणीय कृषि गर्ने भन्ने विस्तृत अनुसन्धान र योजना तर्जुमा गर्नु आवश्यक देखिन्छ ।

अपनाउनुपर्ने उत्पादन प्रणाली

हामीले अपनाउनुपर्ने कृषिप्रणाली प्राकृतिक र जैविक हुनुपर्छ । अहिले विश्वमा अभ्यास गरिएका विविध उत्पादन प्रणालीलाई गन्तव्य र दृष्टिकोणका आधारमा मुख्यत दुई भागमा विभाजन गर्न सकिन्छ । एकथरी उत्पादन पुँजीवादी नवउदारवादी मान्यतामा आधारित छ । पँुजीवादी व्यवस्था नाफामुखी हुन्छ । त्यसैले यसले कृषिमा पनि जतिसक्दो उत्पादन बढाउने र त्यसका लागि बाह्य रासायनिक मल, विषादी, आनुवंशिक बिउ र हाइटेक यन्त्रको प्रयोग गर्ने कुरामा जोड दिन्छ ।

यसले नाफा आर्जनका लागि किसान र कृषि श्रमिक साथै माटो र प्राकृतिक स्रोतको समेत मनलाग्दी र अत्यधिक दोहन गर्दछ । नवउदारवादी नीतिका कारण उत्पादनको मूल्य बजारले निर्धारण गर्दछ र खाद्यलाई मात्र नाफा कमाउने वस्तुको रुपमा हेरिन्छ । केही धनी लगानीकर्ता, ठुला किसान र कम्पनीलाई फाइदा पुग्ने गरी औद्यौगिक कृषि, कम्पनी कृषि र ठुला ठुला बहुराष्ट्रिय निगमको कृषिलाई प्रोत्साहन गर्ने पँुजीवादी कृषिले बहुसंख्यक साना किसानलाई बेवास्ता गर्दै विस्थापन र सीमान्तीकरण गर्दछ । तर अर्कोथरी यस्तो उत्पादन प्रणाली छ जुन प्रकृतिसँगको समन्वय, जैविक सामग्रीको प्रयोग र किसानको हितलाई जोड दिन्छ ।

यो किसान र प्रकृतिको दोहनबिना गरिने कृषि हो । यसलाई खाद्य सम्प्रभुतामा आधारित पर्यावरणीय कृषि (एग्रो इकोलोजी) पनि भनिन्छ । जैविक विविधतामा आधारित यस्तो कृषिले उत्पादकत्व वृद्धिका साथसाथै दिगोपन, जनचाहना, मानवीयता, न्याय, जनजीविका आदि पक्षलाई सन्तुलित रूपमा ध्यान दिन्छ । तर नेपालका नीति, योजना र कार्यक्रमहरु यतातर्फ आकृष्ट छैनन् । एकातिर कृषिको व्यावसायीकरणका कुरा गरिन्छ भने अर्कोतर्फ जैविक र प्राङ्गारिक वस्तुको प्रयोगको पनि कुरा गर्दछन् । खाद्य सम्प्रभुताको कुरा आउँछ । कर्णाली जस्तै अन्य प्रदेशलाई जैविक र पर्यावरणीय विशेषतायुक्त बनाउने कुरा पनि छ अनि भूमि वँैंक, कृषिमा विदेशी लागनी र रासायनिक मल कारखाना खोल्ने आदि कुरा पनि यसैसँग जाडिन्छन् । यी नीति कार्यक्रममा तादात्म्य छैन । हामी जाने बाटै स्पष्ट छैन ।

अन्त्यमा, माथि उल्लेखित अस्पष्टता र निराशालाई चिर्दै कृषिलाई योजनाबद्ध रुपमा अघि बढाउन भूगोल र पर्यावरण विशेषको स्पष्ट खाका निर्माण गर्नु पहिलो आवश्यकता देखिन्छ । किसानका समूह र सहकारीमार्फत कृषि गर्नुपर्छ र फर्म सञ्चालन हुनुपर्छ । राज्यले पनि कृषि अनुसन्धान गर्ने, प्रसारका काम गर्ने तथा अहिले जस्तै भएका फर्मलाई व्यवस्थित गर्ने र थप फर्महरु सञ्चालन गर्नुपर्दछ । देश तथा बजारको आवश्यकतालाई हेरी पारिवारिक, पर्यावरणीय र व्यावसायिक खेती गर्नुपर्दछ । निजी क्षेत्रलाई पनि कृषि उत्पादनमा स्थान दिनुपर्दछ तर मूल्य र बजारमा राज्यको नियमन र नियन्त्रण आवश्यक छ ।

स्वाधीन अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राख्दै जैविक प्राङ्गारिक कृषि, पर्यावरणीय कृषि, पारिवारिक कृषि, बहुवाली कृषि, पहाडी तुलनात्मक लाभको कृषि जस्ता विशेषतालाई सवल पक्षको रुपमा लिनुपर्दछ । व्यावसायिक कृषिलाई विउको सुधार र विकास, पशुपालन, कृषि उत्पादनका सामान्य परिकार, कृषि उद्यमशीलता आदिसँग जोड्नुपर्दछ । बाँझो जमिनलाई फलफुल खेती, अम्रिसो र अलैँची लगाएर मात्र होइन थुप्रै उत्पादन गर्न प्रयोग गर्न सकिन्छ । यसैले कृषि सवैका लागि हुन्छ भन्ने आशा र सोचमा स्पष्टता आवश्यक छ ।