अहिले युवामा आकांक्षा र असन्तोष दुवै उच्च छ । युवा आकांक्षा र असन्तोष सम्बोधन गर्न सकिने विषय उद्यमशीलता नै हो । युवालाई बदलिँदो परिवेशअनुसार अघि बढ्न प्रेरित गर्दै दिगोपनसँग जोड्नुपर्छ । युवालाई लगानी र मोबिलिटीको समानान्तर शक्तिका रुपमा अघि बढाउन जरुरी छ ।
युवाशक्ति, ऊर्जाशक्ति र रुपान्तरण शक्तिको तीन धारमा उभिएको छ नेपाल । हालको युवा संख्याले श्रम बजारमा ऊर्जा थपेको छ । जलविद्युतमा आधारित ग्रिडले हरित र किफायती ऊर्जामा भरोसा दिएको छ । जहाँ अटोमोबाइल उद्योग परम्परागत बिक्रीकेन्द्रित मोडलबाट सेवा, ऊर्जा र डिजिटल प्लेटफर्म मिसिएको ‘मोबिलिटी इकोसिस्टम’तर्फ रूपान्तरित हुँदैछ ।
अहिले विद्युतीय सवारीमा नै हेर्दा यसको बढोत्तरीले सहज सहर, वायु गुणस्तर र इन्धन आयात कम गर्नमा सकारात्मक मोड सम्भव बनाएको छ । चार्जिङ पूर्वाधार, फ्लिट-टेक र ब्याट्री लाइफसाइकल जस्ता नयाँ क्षेत्रहरू थपिएका छन् । जसले युवाहरूलाई उद्यममा जोडिने आधारहरू दिएको छ ।
मोबिलिटीजस्तो बहुआयामिक क्षेत्रमा स-सानो भौतिक सम्पत्ति, डिजिटल प्लेटफर्म वा सेवा कौशलले पनि उद्यम सुरु गर्न सकिन्छ । युवाका लागि ‘पहिलो व्यवसाय’सुरु गर्ने सम्भावना यहाँ प्रशस्त छ ।
यो सबैका बीच पनि वित्तीय पहुँच अझै असमान छ । पुँजी हुँदा पनि सुरक्षित लगानीको निश्चिन्तता नहुँदा धेरै युवा उद्यमतर्फ पहिलो कदम चाल्न हिचकिचाइरहेका छन् । यसका लागि नीतिगत स्थिरता दिँदै सकारात्मक दीर्घकालीन संकेतहरू देखाउन जरुरी छ ।
नेपालमा हरेक वर्ष ठूलो संख्यामा युवा श्रम बजारमा प्रवेश गर्छन् । डिजिटल साक्षरता, सामाजिक सञ्जाल, अनलाइन सिकाइको युगले युवाहरूलाई छोटो समयमा सीप सिक्ने अवसर दिएको छ । तर पनि विभिन्न संरचनागत कारणले रोजगारीमा देखिएको समस्याको समाधान हुन सकिरहेको छैन ।
मोबिलिटीजस्तो बहुआयामिक क्षेत्रमा स-सानो भौतिक सम्पत्ति, डिजिटल प्लेटफर्म वा सेवा कौशलले पनि उद्यम सुरु गर्न सकिन्छ । युवाका लागि ‘पहिलो व्यवसाय’सुरु गर्ने सम्भावना यहाँ प्रशस्त छ ।
युवा पुस्ताले ‘स्वामित्व’भन्दा ‘प्रवेश’लाई प्राथमिकता दिन थालेका छन् । यही कारण सब्स्क्रिप्सन, सेयरिङ र पेको‑यूज मोडेलले गति पाएको छ । यो प्रवृत्तिले सवारीमा स्वामित्वकेन्द्रित सोचलाई बिस्तारै सेवाग्राहीकेन्द्रित बनाइरहेको छ । छिटो, सरल, मोबाइल फर्स्ट, ट्रान्सपेरेन्ट र सामाजिक प्रमाणसहित रेटिङ र रिभ्युका कारण सेवा निर्णायक बन्दै छन् ।
मोबिलिटीमा अब तीन तत्त्वको मिसावट अनिवार्य छ, सवारी (हार्डवेयर), ऊर्जा (ग्रिड,स्टोरेज) र सेवा (डिजिटल प्लेटफर्म)। ‘गाडी बेचियो, काम समाप्त’भन्ने युग समाप्त हुँदैछ । अब प्रयोग, मर्मत, चार्जिङ, ऊर्जा, बीमा, डेटा‑एनालिटिक्स, पुनः बिक्री मूल्य र ग्राहक जीवन‑चक्र (लाइफसाइकल) सम्हाल्न सक्ने, एउटै छानामुनि ‘वन‑स्टप’ समाधान दिनेहरू प्रतिस्पर्धात्मक बन्नेछन् ।
सञ्चालन लागतमा बचत, प्रतिकिमि ऊर्जा खर्च न्यून, मर्मतसम्भार कम, इन्जिन पार्ट्सको तुलनामा हुने फरक, सार्वजनिक नीतिले बनाएको हरित अवधारणा जस्ता विषयले विद्युतीय सवारीलाई स्वीकार्यता बढ्दै गइरहेको छ । सामाजिक मान्यताका रुपमा स्वीकार्यता बढिरहँदा कर्पोरेट र पर्यटन क्षेत्रमा विद्युतीय सवारी रोज्नेहरु बढिरहेका छन् ।
यसमा चार्जिङ पूर्वाधारमा संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने देखिन्छ । एसी‑मिड र डीसी‑फास्ट चार्जरको रणनीतिक मिश्रण आवाश्यक छ । सहरी क्लस्टरमा एसी‑मिडले ‘पार्क‑एन्ड‑चार्ज’ समाधान दिन्छ । राजमार्ग र हाइ‑फ्लो लोकेसनमा डीसी‑फास्ट अनिवार्य हुन्छ । व्यवसायको वास्तविक सूचकहरू अपटाइम, उपयोग घण्टा, सेसन कन्वर्जन र प्रयोगकर्ताको सन्तुष्टि प्रमुख हुन् ।
तराईमा राजमार्ग‑क्लस्टर र लास्ट‑माइल ई‑कार्गो, पहाडमा माइक्रोग्रिडसँग जोडिएको स्मार्ट‑चार्जिङ र छोटो‑दूरी सेवा साथै हिमाली र पर्यटन केन्द्रमा ‘भ्यूपोइन्ट‑शटल’ जस्ता मोडल स्थानअनुरूपका समाधान हुन् । एकै मोडेल सबै ठाउँमा फिट हुँदैन । स्थानउपयुक्त डिजाइन, गुणस्तरीय हार्डवेयर र स्थानीय साझेदारी नै दीर्घकालीन सस्टेनेबिलिटीको आधार हुन् ।
यो सबैका बीच मोबिलिटीको दुनियाँमा युवाहरुलाई सानो आकारको र स्वपुँजीबाट गर्न सकिने कामहरुमा आकर्षित गर्न सकिन्छ ।
यसका लागि ई‑स्कुटर, हेल्मेट, सेवाप्याक, क्यूआर‑पे, ई‑बाइक, राइड‑सेयरिङमा काम गर्न सकिन्छ । एपी‑मिड चार्जिङ, अन्डरग्राउन्ड पार्किङ, मल्टिपर्पस हलसँग साझेदारीमा काम गर्न सकिन्छ । डीसी‑फास्ट चार्जिङमा बसपार्क, हाइवे‑हब, अपटाइम‑एसएलए र मिनिमम‑गारेन्टी भाडामा काम गर्न सकिन्छ ।
साथै ब्याट्री हेल्थ‑डायग्नोस्टिक्स-सेन्सर,एप‑रिपोर्टमा पनि काम गर्न सकिन्छ । फ्लीटका लागि बीटूबी गर्न सकिन्छ । ब्याट्री रिम्यानुफ्याक्चर र सेकेन्ड‑लाइफ-माइक्रोग्रिड,सौर्यसँग जोडिएका मिनी‑स्टोरेजहरूमा काम गर्न सकिन्छ ।
ईभी‑सर्भिस माइक्रो‑फ्र्यान्चाइज-डायग्नोस्टिक, टुल, ट्रेनिङ, पार्ट्स‑लजिस्टिक्समा काम गर्न सकिन्छ । चार्जर, केबल, माउन्ट असेब्लीमा मानकअनुसार स्थानीयकरण गरी काम गर्न सकिन्छ ।
ईभी‑ट्याक्सी, शटल-एयरपोर्ट, होटल, हेरिटेज‑रुटमा काम गर्न सकिन्छ । फ्लीट‑म्यानेजमेन्ट, टेक-टेलिमेट्रिक्स, ड्राइभर‑स्कोर, रुट‑अप्टिमाइजेसनमा पनि काम गर्न सकिन्छ । डाटा‑इन्साइट्स, स्टुडियो-चार्जिङ उपयोग, ट्राफिक हीटम्याप, ईभी‑रेडिनेस रिपोर्टहरुमा काम गर्न सकिन्छ । साथै महिलामैत्री चार्जिङ हब, सीसीटीभी, सेफ्टी स्ट्यान्डर्डहरुमा काम गर्न सकिन्छ ।
लगानीका लागि हेर्ने हो भने नेपालमा रेमिटेन्सले घरेलु बचतलाई मजबुत बनाएको छ । बैंकिङ प्रणालीमा तरलता घुमिरहेको छ । तर उत्पादनमुखी क्षेत्रमा पुँजी आउने संरचना भने जुटाउनुपर्ने छ । यही ठाउँमा ‘ब्लेन्डेड‑फाइनान्स’ जहाँ ग्यारेन्टी, ब्याज अनुदान, क्यापेक्स रिबेट र इक्विटी लोनको उचित मिश्रण हुन्छ यसले नै दीर्घकालीन समाधान दिन सक्छ ।
लगानीका स्रोतहरुमा बैंक, एमएफआई-युवा,महिला उद्यमी प्याकेज, माइक्रो‑लिजिङ, एसेट‑ब्याक्ड कर्जा हुन सक्छन् । भेन्चर क्यापिटल, एन्जेल-टेक‑लाइट प्लेटफर्ममा इक्विटी हुन सक्छन् । कर्पोरेट‑ग्रीन, ईएसजी-इम्प्याक्टसहित रिटर्नको सुविधा हुन सक्छ । नगरपालिका-बसपार्क, हाइवे हब, टुरिजम साइटमा चार्जिङ, लोजिस्टिक्सजस्ता काम पीपीपीमा हुन सक्छ । पुँजी बजार, म्यूचुअल फण्ड, डिबेन्चर, ग्रीन‑बण्डजस्ता वित्तीय उत्पादनबाट लगानी जुटाउन सकिन्छ ।
पहिलो त नयाँ उद्यमलाई लाभको निश्चिन्तता हुनुपर्छ । ब्याज अनुदान र केही महिनासम्म क्यास‑फ्लो स्थिर नभएसम्म सहजीकरण गरिदिनुपर्छ । परिणाममा आधारित विभिन्न वित्तीय सहजीकरण गरिदिन सकिन्छ ।
जब नियमहरु स्पष्ट र स्थिर हुन्छन् तबमात्र नयाँ उद्योगले गति पाउँछ । नियमहरू पूर्वानुमानयोग्य हुन आवश्यक हुन्छ । स्थानीय उत्पादनलाई प्रोत्साहनको नीति हुनुका साथै डेटा रिपोर्टिङ र ओपन इन्साइट्स संस्कृति हुन आवश्यक छ । जहाँ बजार, पूर्वाधार र रोजगारीका सूचकहरू सार्वजनिक हुन्छन् । तीनले लगानीकर्ताको विश्वास बढाउँछ ।
सामाजिक-राजनीतिक अस्थिरता, मौसमी उतारचढाव, वित्तीय तरलता र ब्याजको चक्रमा स्थिर नीतिको निरन्तरता आवश्यक छ । उद्यमीले अरु सुरक्षित वित्तीय उपकरणहरू पनि तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । ग्रिड जोखिम सम्हाल्न डिमान्ड रेस्पोन्स, टाइम अफ डे टारिफ र सेकेन्ड लाइफ स्टोरेजजस्ता मोडलहरू उपयोगी हुन्छन् ।
प्रदेशअनुसार हेर्ने हो भने कोशी प्रदेशमा उद्योग र शिक्षामा ध्यान दिइ त्यही नजिक ईभी सर्भिस र एसी मिड चार्जिङमा काम गर्न सकिन्छ । पहाडी रुटमा स्मार्ट‑चार्जिङ राख्न सकिन्छ । मधेश प्रदेशमा पूर्व-पश्चिम राजमार्गमा ध्यान दिएर काम गर्न सकिन्छ ।
यसैगरी बागमती प्रदेशमा कर्पोरेट फ्लिट, राइड पुल, क्याम्पस शटल, डेटा हब र एनालिटिक्स स्टुडियोमा काम गर्न सकिन्छ । गण्डकी प्रदेशमा पर्यटन शटल, भ्यूपोइन्ट, होटल, एयरपोर्ट, ईभी शटल, चार्जिङ टुरिजममा काम गर्न सकिन्छ । लुम्बिनी प्रदेशमा औद्योगिक करिडोरमा काम गर्न सकिन्छ ।
कर्णाली प्रदेशमा माइक्रोग्रिड, मिनी हाइड्रोसँग जोडिएको स्मार्ट चार्जिङ साथै सामुदायिक ई‑मोबिलिटीमा काम गर्न सकिन्छ । सुदूरपश्चिम प्रदेशमा सीमास्तरीय लजिस्टिक्स कार्गो, हाइवे‑हबमा डीसी‑फास्ट चार्जरलगायतको सम्भावना प्रशस्तै छन् ।
मानव संसाधन सीपका लागि विभिन्न तालिम र कार्यक्रमहरूमा ध्यान दिनुपर्ने हुन्छ । ईभी डायग्नोस्टिक्स तालिम, चार्जिङ अपरेसन, ब्याट्री इलेक्ट्रोनिक्स, टेलिमेट्रिक्स, डेटालगायतमा तालिमले सानो लगानीमा ठूलो प्रभाव पार्न सकिन्छ । उद्योग र शिक्षा क्षेत्रसँग सहकार्यगरी सीप कौशल र इकोसिस्टम छिटो सहज रुपमा निर्माण गर्न सकिन्छ ।
नेपालमा नयाँ निजी सवारीमा ईभीको हिस्सा सन् २०२५ मा ७३ प्रतिशतसम्म पुगिसकेको छ । जुन सन् २०३० सम्ममा ९० प्रतिशत पुग्ने देखिन्छ । चार्जिङ स्टेशनतर्फ हेर्ने हो भने सन् २०२५ मा ६० भन्दा धेरै नेपाल विद्युत प्राधिकरणबाट र अन्य सयौँ निजी साझेदारीबाट बनेका छन् । २०२७ सम्म यो संख्या १ हजारभन्दा धेरै र २०३० मा पुग्दा १५ सयभन्दा धेरै पुग्ने अनुमान गरिएको छ। त्यस्तै विद्युत उत्पादन सन् २०२५ मा ३६ सय मेगावाट, २०२७ मा ४५ सय र २०३० मा पुग्दा ६ हजार मेगावाटभन्दा बढी हुने अनुमान छ ।
नेपालसँग ऊर्जा क्षेत्रको सबलताका कारण पनि विद्युतीय सवारीको भविष्य थप उज्यालो देखिन्छ । यसमा नीतिगत स्थिरतासहित आवश्यक काम गर्ने हो भने सन् २०३० भित्रै नेपाल दक्षिण एसियाको ‘मोबिलिटी हब’बन्न सक्छ । यो यात्रा सम्भावनाको मात्र होइन विश्वास पुनर्स्थापनाको यात्रा पनि हो।
करण चौधरी नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष हुनहुन्छ । यो सामग्री नेपाल आर्थिक पत्रकार समाजद्वारा २९औं वार्षिकोत्सवका अवसरमा प्रकाशित ‘अर्थनीति’ सेजन स्मारिका २०८२ बाट साभार गरिएको हाे ।










