३० श्रावण २०८३, शनिबार
,
Latest
ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित



फाइल फोटो
अ+ अ-

कञ्चनपुर। रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् ।

रोगका कारण बेर्ना जलेको जस्तो देखिने, पहेँलो हुँदै सुक्ने तथा नष्ट हुने समस्या बढ्दै गएको हो ।

स्थानीय पिपलाँडीका किसान जोखुराम चौधरीले रोगका कारण धानको बेर्नामा क्षति भएपछि रोपाइँ गर्न नपाइने हो कि भन्ने चिन्ता बढेको बताउनुभयो । “बेर्ना जलेको जस्तो देखिने र विस्तारै सुक्दै जाने समस्या देखियो”, उहाँले भन्नुभयो, “पहिलोपटक तयार गरेको बेर्ना अधिकांश नष्ट भएपछि पुनः बीउ छर्नुपरेको छ । रोपाइँ सुरु हुने बेला फेरि बेर्ना तयार गर्नुपर्ने अवस्था आएको छ ।” उहाँका अनुसार समयमा रोग पहिचान गरी नियन्त्रण गर्न नसकिए रोपाइँ प्रभावित हुनुका साथै उत्पादनमा असर पर्ने देखिन्छ ।

नगरपालिकाका कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले पछिल्ला दिनमा बेर्नामा रोग लागेको गुनासो लिएर आउने किसानको सङ्ख्या बढ्दै गएको बताउनुभयो । धानको बेर्नामा ढुसीजन्य रोग देखिएकाले किसानलाई सतर्क रहन र आवश्यक प्राविधिक परामर्शका लागि कृषि विकास शाखामा सम्पर्क गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

“नगरको प्रमुख खाद्यान्न बाली धान हो”, बुढाऐरले भन्नुभयो, “बेर्नामा समस्या देखिएकाले त्यसलाई नियन्त्रण नगरी रोपाइँ गर्दा उत्पादनमा ठूलो असर पर्न सक्छ, त्यसैले किसानलाई सचेत गराउने र रोग व्यवस्थापनका उपायबारे जानकारी दिने काम गरिरहेका छौँ ।”

रोग नियन्त्रणका लागि ‘कार्बेन्डाजिम’ र ‘म्यान्कोजेब’ विषादी दुई दशमलव पाँच ग्रामका दरले प्रतिलिटर पानीका मिसाएर बेर्ना राम्रोसँग भिज्ने गरी छर्कन उहाँले सुझाव दिनुभयो । सात-सात दिनको अन्तरालमा उक्त विषादी प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

रोग फैलिन नदिन नियमित अनुगमन, प्राविधिक परामर्श तथा आवश्यक व्यवस्थापनका उपाय अपनाउन कृषि विकास शाखाका प्रमुख बुढाऐरले किसानलाई आग्रह गर्नुभयो । समयमा रोगको पहिचान गरी उपचार गर्न सके बेर्नालाई थप क्षति हुनबाट जोगाउन सकिने उहाँले बताउनुभयो । धानखेतीको मुख्य याम सुरु भइसकेका बेला बेर्नामा ढुसीजन्य सङ्क्रमण देखिएपछि किसान उत्पादन घट्ने चिन्तामा परेका छन् ।  रासस