• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

राजस्थानलाई हराउँदै नवप्रवेशी गुजरातले जित्यो आईपीएलको उपाधि



एजेन्सी । नवप्रवेशी टोली गुजरात टाइटन्सले आईपीएल टी–२० लिगको १५ औं सिजनको उपाधि जितेको छ ।

गुजरातले आईपीएल २०२२ को फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो । हार्दिक पाण्ड्याको कप्तानीमा गुजरातको टोलीले राजस्थानले दिएको १३१ रनको लक्ष्यलाई १८.१ ओभरमा पछ्याउँदै जित दर्ता गरेको हो ।

गुजरातका लागि शुभमन गिलले ४३ बलमा ४५ रन बनाएर अविजित रहे । यस्तै, टोलीका कप्तान हार्दिक पाण्ड्याले अलराउन्ड प्रदर्शन गर्दै ३० बलमा ३४ रन बनाए र तीन विकेट पनि लिए ।

राजस्थानले दिएको १३१ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सको सुरुवात राम्रो हुन सकेन । दोस्रो ओभरमा ऋद्धिमान साहाले पाँच रन बनाए । उनलाई प्रसिद्ध कृष्णले बोल्ड गरे । म्याथ्यु वेडले पनि आठ रन बनाएर आउट भए । बोल्टको बलमा रियान परागको हातबाट उनी क्याच आउट भए । पाँचौं ओभरमा २३ रनमा दुई विकेट गुमाएको गुजरात संकटमा परेको थियो तर कप्तान हार्दिक पाण्ड्या र शुभमन गिलले तेस्रो विकेटका लागि बलियो साझेदारी गरे । दुवैले ५३ बलमा ६३ रन जोडे । तर १४ औं ओभरमा युजवेन्द्र चहलको बलमा हार्दिकलाई यशस्वीले क्याच आउट गरे । उनले ३० बलमा ३४ रन बनाए ।

त्यसपछि डेभिड मिलर र शुभमन गिलले इनिङ्सलाई अगाडि बढाए र २९ बलमा ४७ रनको अतुलनीय साझेदारी गरे । गिलले ४३ बलमा ४५ रन र मिलरले १९ बलमा ३२ रन बनाएर अविजित रहँदै टोलीलाई जित दिलाए ।

यसअघि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले टस जितेर ब्याटिङ रोजेका थिए । तर, राजस्थानको सुरुवात खास भएन र यशस्वी जैसवाल चौथो ओभरमा १६ बलमा २२ रन बनाएर पेभिलियन फर्किए । सामसन र जोस बटलरले मिलेर इनिङ्सलाई अगाडि बढाउने प्रयास गरे तर राजस्थानका कप्तान सञ्जु पनि ११ बलमा १४ रन बनाएर आउट भए ।

देवदत्त पडिक्कलले टोलीको जिम्मा लिने अपेक्षा गरिएको थियो तर उनले पनि निकै सुस्त पारी खेले । उनले १० बलमा मात्र दुई रन बनाए । उनी रासिदबाट आउट भए । यसपछि शिम्रोन हेटमायर ११ रन, रविचन्द्रन अश्विन ६ रन जोड्दै केही गर्न सकेनन् र सस्तोमा पेभिलियन फर्किए । यस्तै रियान परागले पनि १५ रन बनाए भने ट्रेन्ट बोल्टले सात बलमा ११ रन बनाए । राजस्थानको टोलीले १३० रन मात्र बनाउन सक्यो ।